एसपीपी नेपाललाई आवश्यक छैन भनेर प्रधानमन्त्रीले अमेरिकालाई पत्र लेख्नुपर्छ : थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकालाई पत्र लेख्नुपर्ने बताउनुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित ‘चन्द्रस्मृति विशिष्ट प्रतिभा सम्मान’ हस्तान्तरण कार्यक्रममा अध्यक्ष थापाले नेपाल कुनै पनि हालतमा एसपीपीमा सहभागी हुन नहुने बताउनुभयो ।

अध्यक्ष थापाले एसपीपीको सम्बन्धमा विवाद देखिएको उल्लेख गर्दै यसको निराकरणका लागि अमेरिकालाई पत्र लेखेर यसबाट अलग हुनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘नेपालको भूराजनीतिक संवेदनशीलतालाई दृष्टिगत गर्दै नेपालले कुनै पनि हालतमा यो स्टेट पार्टनरसीप प्रोग्राममा सहभागी हुनु हुँदैन । यो कार्यलाई अघि नबढाउन म प्रधानमन्त्री शेरबहादुर देउवाज्यूलाई आग्रह गर्न चाहन्छु ।’

उहाँले प्रधानमन्त्री देउवालाई एसपीपी नेपालको लागि आवश्यक छैन भनेर अमेरिकालाई पत्र लेख्न आग्रह गर्नुभयो । ‘यथासम्भव चाँडो नेपाल सरकारको तर्फबाट आधिकारिकरुपमा प्रधानमन्त्री देउवाज्यूजले अमेरिकी सरकारलाई पत्र लेखेर हामीलाई यो एसपीपी आवश्यक छैन, एसपीपीबाट अलग हुन चाहन्छौं भन्नुपर्छ,’ उहाँको आग्रह थियो । उहाँले नेपाल अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको चलखेल केन्द्रको रुपमा देखा पर्न थालेको दाबी गर्नुभयो ।

उहाँले नेपालको दुवै छिमेकी मुलुकहरु चीन र भारतसँगको सम्बन्ध राम्रो अवस्थामा नरहेको उल्लेख गर्नुभयो । सरकारको क्रियाकलापका कारण चीनले नेपाललाई आशंकाको दृष्टिले हेर्न थालेको उहाँको भनाइ थियो । अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउनेक्रममा करको दर हेरफेर गर्न असम्बन्धित र गैरजिम्मेवार व्यक्तिहरुलाई संलग्न गराउनु जघन्य अपराध भएको अध्यक्ष थापाको टिप्पणी थियो । उहाँले अर्थमन्त्री शर्माले अहिलेसम्म राजीनामा नदिएको तथा प्रधानमन्त्रीले नहटाएको भन्दै आश्चर्य प्रकट गर्नुभयो । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार