मुस्ताङमा आरसीसी सडक एक वर्ष नपुग्दै बिग्रिएपछि पुनःमर्मत

बेनी । जोमसोम–मुस्ताङ सदरमुकाम जोमसोमको सरकारी कार्यालय जाने सडकको अहिले मर्मतकार्य सुरु गरिएको छ । जोमसोमको काठेपुलदेखि जिल्ला निर्वाचन कार्यालय सम्म सडक निर्माण गरिएकोमा एक वर्ष नपुग्दै बिग्रिन पुगेको हो ।आर्थिक वर्ष २०७७/०७८ मा गण्डकी प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार शहरी विकास तथा यातायात मन्त्रालयबाट विनियोजित बजेट मार्फत जोमसोमको सरकारी कार्यालय जाने सडक विस्तारकार्य अघि बढाईएको थियो । सानदार निर्माण सेवाले सडक स्तरोन्नतिका लागि ४५ लाख लागतमा ठेक्का सम्झौता गरेको थियो ।

२०७७/०७८ को बैशाखमा ठेक्का आह्वान भई जेठमा सरकारी कार्यालय जाने सडक स्तरोन्नतिकार्य अघि बढेको थियो । २५० मिटर लम्बाई रहने गरी सुरु गरिएको सडकमा १५ सेमीको आरसीसी ढलान गरिएको थियो । सडको चौडाई भने बस्ती अनुसार निर्धारण गरिएको थियो । २५० मिटर सडकको दुई स्थानमा खेतबारीको पानी सडकबाट तल जाने निकास (क्रसिङ) निर्माण गरिएको थियो ।सम्झौता अवधि ६ महिना रहेको जोमसोम स्थित सरकारी कार्यालय जाने सडक चालु आर्थिक वर्षको असोजमा पूर्वाधार विकास कार्यालय मुस्ताङलाई हस्तान्तरण गरिएको थियो ।तर हस्तान्तर गरिएको एक वर्ष नपुग्दै सरकारी कार्यालय जाने सडक बिग्रिन पुगेको हो ।

निर्माण सेवाले हतारमा काम सकेर हस्तान्तरण भुक्तानी लिने बेलामा सडकमा समस्या देखिएको हो । सडक अनुगमनमा सडक बिग्रिएको पाईएपछि पूर्वाधार विकास कार्यालयले पून सडक मर्मत गर्न लगाएको हो ।कार्यालयले भुक्तानी रोकेर सडक मर्मत गर्न लगाएपछि निर्माण कम्पनीले फिल्ड आएर सडक मर्मत सुरु गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख विवेक सिग्देलले जानकारी दिए । उनका अनुसार काठेपुलदेखि निर्वाचन कार्यालयसम्मको सडकमा साविकको ठेक्का सम्झौता लागत अनुसारनै ५ सेमीको ढलान गर्ने कार्य अघि बढाईएको हो ।

सरकारी प्रावधान अनुसार कुनै पनि निर्माण कम्पनीले जिम्मा लिएको पूर्वाधार विकासको काम सम्पन्न भई हस्तान्तरण भएपनि त्यसको परीक्षण अवधि १ वर्षको रहने कार्यालय प्रमुख सिग्देलले उल्लेख गरे ।कुनैपनि पूर्वाधार हस्तान्तरण गर्दा सम्वन्धित निर्माण कम्पनीको ५ प्रतिशत भुक्तानी सरकारी कार्यालयमा मौज्याद रहने र परीक्षण अवधिपछि मात्र बाँकी भुक्तानी हुने कार्यालय प्रमुख सिग्देलको भनाई छ । उनले कुनै पनि पूर्वाधार हतारमा गर्दा त्यस्ता पूर्वाधार दिगो नहुने बताए ।  बर्षेनी   नयाँ आर्थिक वर्षमा हिमाली जिल्लामा ठेक्का सम्झौता हुँदा जाडो महिना सुरु हुँने र बैशाखदेखि काम सुरु गर्दा समय अपुग हुने कार्यालय प्रमुख सिग्देलको भनाई छ ।emustangnews

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार