गोरखाको दुर्गम चुमनुब्रीमा हेलिकोप्टरबाट पैसा ढुवानी

गोरखा । उत्तरी गोरखाको दुर्गम चुमनुब्री गाउँपालिकामा योजनाहरूको भुक्तानीका लागि हेलिकोप्टरबाट पैसा ढुवानी गरिएको छ । सडक सञ्जाल नजोडिएको चुमनुब्रीमा चालू वर्षमा सञ्चालन भएका योजनाको भुक्तानी, सामाजिक सुरक्षा भत्ता र नियमित बैंकिङ सेवा सञ्चालनका लागि कुमारी बैंकले पाँच करोड रुपैयाँ केन्द्रबाट हेलिकोप्टरमा ढुवानी गरेको हो ।

पालिका केन्द्रमा रहेको बैंकसम्म सडक नपुगेको र हिँडेर जान बाटो अप्ठ्यारो भएकाले जनताको सेवाका लागि हेलिकोप्टर चार्टर गरेर पैसा ल्याएको कुमारी बैंक सिर्दिवास शाखाका म्यानेजर कृष्ण पोखरेलले बताउनुभयो । पैसा ल्याएसँगै चालू वर्षमा गाउँपालिकाबाट सञ्चालित योजनाको भुक्तानी धमाधम भइरहेको छ ।

चुमनुब्री गाउँपालिका भौगोलिक रूपमा विकट भएकाले बैंकमा पैसा डिपोजिट गर्न समस्या हुने गरेकाले सीधै पैसा नै ल्याएर दिने गरेको पोखरेलले बताउनुभयो। सरकारले हरेक स्थानीय तहमा एउटा वाणिज्य बैंकको शाखा राख्ने योजनाअनुसार चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासमा कुमारी बैंकको शाखा सञ्चालनमा आएको हो । उक्त बैंकले यसअघि पनि सामाजिक सुरक्षा भत्ता हेलिकोप्टरबाट ल्याएर वितरण गरेको थियो ।

बैंकमा पैसा सकिँदा एक सातादेखि पालिकाको योजनाहरूको भुक्तानी हुन नसकेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताउनुभयो । ‘बैंकलाई पटक–पटक आग्रह गरेपछि हेलिकोप्टरबाट पैसा ल्याएर वितरण थालेको छ,’ लामाले भन्नुभयो । अहिले लगिएको पाँच करोडले केही महिना कारोबार सञ्चालन हुने भएकाले स्थानीयलाई सहज हुने उहाँले बताउनुभयो

बैंकको शाखा रहेको वडा नम्बर ३ मा सामाजिक सुरक्षा भत्ता बैंकबाट र अन्य वडामा बैंकका कर्मचारी नै वडा कार्यालय पुगेर वितरण गर्ने लामाले जानकारी दिनुभयो। पालिकाको भुक्तानी सकेपछि साउनको पहिलो सातादेखि नै बैंकका कर्मचारी वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने अध्यक्ष लामाले बताउनुभयो। नयाँ पत्रिकाबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार