बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई

बेनी। म्याग्दीको बेनीलाई पर्यटकीय सहरको रुपमा विकास गर्ने योजना अघि सारिएको नगरप्रमुख सुरत केसीले बताउनुभएको छ ।नगरपालिकाले बुधबार बेनीमा आयोजना गरेको सार्वजनिक सुनुवाईमा उहाँले बेनीको खस्किएको साख बचाउन पर्यटन विकासको अवधारणा अघिसारिएको बनाउनुभयो । मुस्ताङ जाने आउने र म्याग्दी आएका पाहुनाको बेनीमा बसाई लम्बाउने योजनाका लागि डिपिआर बनाउन आर्थिक वर्षमा बजेट बिनियोजन गरेको बताउनुभयो ।

बेनीको अस्पतालचोक देखि बराहपाखो सामुदायिक वन हुदै बजार माथिबाट महारानीथान, कालीगण्डकी र म्याग्दी नदीको किनारै किनार पैदलमार्ग बनाउने, बजार पछाडिको नदि किनार र माथिको पाखोमा आकर्षक बगैचा बनाउने डिपिआर बनाउन लागिएको नगरप्रमुख केसीले बताउनुभयो ।

यसैगरी बेनी भिडन्तमा गोली लागेर छियाछिया परेको विद्युतको पोललाई नगरपालिका परिसरमा रहेको बंकर नजिकै राखेर शान्ति स्मारक बनाउने, सहिदका तस्विर राख्ने र बेनी भिडन्तका तस्विर तथा दृष्य संग्रह गर्ने योजना अघि सारिएको बताउनुभयो । तातोपानी कुण्डलाई प्राकृतिक स्थल बनाउने, नयाँ गन्तब्य पहिचान गरि निजी क्षेत्रको लगानी भित्र्याउने र बेनीको गुमेको ब्यापारिक साख फर्काउन सकिने नगरप्रमुख केसीले बताउनुभयो ।

बेनीका छाडा चौपाया व्यवस्थापन गर्न लागिएको जानकारी दिदै नगरप्रमुख केसीले नगरको विकासका लागि सबै जनप्रतिनिधी एकतावद्ध भएको, कर्मचारीको साथ रहेको, संघ, प्रदेश सरकार र अन्य निकायसँग समन्वयमा जुटेको बताउनुभयो ।

नगरउपप्रमुख ज्योती लामिछानेले दिर्घकालिन महतवका योजना तथा कार्यक्रम छनौट गरेर त्यसलाई दिगो, पारदर्शी, जनसहभागितामुलक र प्रभावकारी बनाउन प्राथमिकता दिएको बताउनुभयो ।

बेनीको खुल्ला मञ्च खेलमैदानलाई मिनि स्टेडियम बनाउने, रावण पार्क निर्माणलाई पूर्णता दिने, सडकमा नियमित यातायात सञ्चालन, खानेपानी सुविधा विस्तार र फोहोर व्यवस्थापन तथा सरसफाईमा जोड दिएको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले गत आर्थिक वर्षमा बिनियोजन भएको ७६ करोड ४६ लाख १४ हजार रुपैयाँ बजेट मध्य समग्रमा ८२।१६ प्रतिशत खर्च भएको जानकारी दिनुभयो । नगरपालिकाबाट छनोट भएका ४७० योजना तथा कार्यक्रम मध्य ४२० वटा सम्झौता र ४१८ वटाको अन्तिम भुक्तानी भएको जानकारी गराउनुभयो ।

सार्वजनिक सुनुवाईमा सहभागि सर्वसाधारणहरुले नगरको विकासका लागि दिर्घकालिन गुरुयोजना बनाएर कार्यान्वयन गर्न, सार्वजनिक जग्गाको अतिक्रमण हटाएर संरक्षण गर्न, बेनी बजारको जोखिमयुक्त तार हटाउन, योजना कार्यान्वयनमा हुने नातावाद र ढिलासुस्ति तथा अपारदर्शी क्रियाकलाप हटाउन, कार्यालयमा डिजिटल सूचना पाटी राख्न, कार्यालयको संरचनालाई अपाङ्गमैत्री बनाउन, स्तरोन्नति भएका सडकमा यातायात भाडादर समायोजन गर्न, फोहोर व्यवस्थापनलाई सुरक्षित बनाउन, पहिरो पिडितलाई निजी आवास पुनिर्माण गरेवापतको अनुदान छिटो उपलब्ध गराउन माग गरेका थिए ।

सरकारी कार्यालय अगाडीको फोहोर व्यवस्थापनमा ध्यान नदिइएको सहभागीले गुनासो गरेका थिए । प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले कालोपत्र भएको सडकमा भाडादर समायोजनको तयारी भएको, स्थानीय तहका प्राबिधिकले नापजाँच र सिफारिस गरेपछि पहिरो पिडितलाई घर निर्माण वापतको अनुदान उपलब्ध गराइने, सार्वजनिक कार्यालयलाई अपाङ्गमैत्री बनाउने बताउनुभयो ।

केही बेनीबजारबासीले बेनीमा लागू गरिएको एकतर्फी यातायात हटाउन माग गरेपनि दुर्घटना घटेको, यातायात व्यवस्थापन सुधार भएको, पैदलयात्रुलाई सहज भएकाले निरन्तरता दिनुपर्ने प्रजिअ रानाको धारणा थियो । तोकिएको कोटा संख्या भन्दा बढी संख्यामा सेवाग्राही आउने भएकाले राष्ट्रिय परिचयपत्र बनाउन समस्या भएको विषयमा सचेत रहेको र सुधारको प्रयास गरेको बताउनुभयो ।

वडा नम्बर ७ का अध्यक्ष तथा कार्यपालिकाका प्रवत्ता रमेशकुमार श्रेष्ठ, वडा नम्बर ८ का अध्यक्ष उत्तमकुमार कर्माचार्य, वडा नम्बर ४ का अध्यक्ष अणबहादुर खड्का ९भगवान० लगायतले सहभागीले सोधेका प्रश्नको जफाव दिनुभएको थियो । नगरपालिकाका प्रशासकीय अधिकृत युवराज थापाले सञ्चालन गर्नुभएको कार्यक्रमको सहजिकरण पत्रकार महासंघ म्याग्दीका सचिव सन्तोष गौतमले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार