मुनामा ग्यावीयन बुन्ने तालिम सम्पन्न (तस्विरहरु)

  म्याग्दी न्युज संवाददाता

बेनी ।म्याग्दीको धवलागिरी गाउँपालिकाले ३० जना युवाहरुलाई ग्यावीयन जाली बुन्ने तालिम दिएको छ ।पहिरो, नदी कटान, भू–क्षय रोकथाम र सडक आयोजनामा प्रयोग हुने ग्यावीयन जाली बुन्ने काममा स्थानीय युवाहरुलाई परिचालन गर्न तालिम दिइएको हो । १५ दिनसम्म सञ्चालन भएको तालिम बुधबार सकिएको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले रोजगारी सिर्जना र सिपको विकास गर्ने उद्देश्यले ग्यावीयन जाली बुन्ने तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

“ग्यावीयन बुन्ने तार र आवश्यक औजार गाउँपालिकाले खरिद गरेको छ,” उहाँले भन्नुभयो “दश÷दश जनाको तीन वटा समूह बनाएर जाली बुन्ने काममा लगाइएको छ ।” खानेबस्ने र पारिश्रमिक सहित पालिकाका सबै वडाका ३० जनालाई ग्यावीयन जाली बुन्ने काममा लगाइएको हो ।

जाली बुन्ने सिप सिकाउन दुई जना प्रशिक्षकको व्यवस्था गरिएको उपाध्यक्ष पुनले बताउनुभयो । ग्यावीयन जाली बुन्ने तालिम सञ्चालन र सामग्री खरिदका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० मा रु. दश लाख बिनियोजन गरेको थियो ।

स्थानीय स्तरमा सिपयुक्त जनशक्ति र जाली उत्पादन गर्दा सस्तो र भनेको समयमा पर्याप्त तारजाली उपलब्ध गराउन सकिने गाउँपालिकाका रोजगार संयोजक देविन्द्र पुनले बताउनुभयो । सडक विस्तार, नदी र पहिरो नियन्त्रण योजनाका लागि ठूलो मात्रामा ग्यावीयन जाली खपत हुने गरेको छ ।हल पोखरा, चितवन लगायत ठाउँबाट खरिद गरेर ग्यावीयन जाली ल्याउने गरिएको छ । मेसिनले बुनेको जाली प्रयोग हुने गरेको छ । स्थानीय स्तरमा जाली बुन्ने जनशक्ति कम छन् । भारतीय मजदुरहरुले जाली बुन्ने गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार