महालक्ष्मी लाइफ इन्स्योरेन्सको घारमा महिला सशक्तिकरण कार्यक्रम

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड धौलागिरि क्षेत्रको आयोजनामा बिहीबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारमा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालय घारको सहकार्य, मिलन म्याग्दीको समन्वयमा महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ’ तालिम कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले महालक्ष्मी लाइफ इन्स्योरेन्सको महिला सशक्तिकरण कार्यक्रमले समुदायका महिलाहरुलाई अगाडि बढ्न प्रेरित गर्नुका साथै सक्षम बनाउनेमा प्रभावकारी भूमिका खेल्ने बताउनुभयो । घारका वडा अध्यक्ष रामबहादुर खड्काले महिलाहरुको लागि सशक्तिकरण जरुरी रहेकाले यस्ता कार्यक्रमहरुले उनीहरुको क्षमता विकासमा टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा स्वागतसहित उद्देश्यमाथि प्रकाश पार्दै महालक्ष्मी लाइफ इन्स्योरेन्सका धौलागिरि क्षेत्रीय प्रमुख जमुना आचार्यले बीमाको परिभाषा, उद्देश्य, आवश्यकता, बीमा कसरी गर्ने, महिलाहरुलाई आर्थिक सशक्तिकरणको भूमिकालगायत विभिन्न विषयहरुमा सहजीकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका र आमा समूह तथा कृषक समूहका गरी ३७ जनाले सहभागिता जनाएका थिए । म्याग्दीमा पहिलोपटक अन्नूर्णको घारबाट महिला सशक्तिकरण कार्यक्रम सुरु गरिएको महालक्ष्मी लाइफ इन्स्योरेन्सले जनाएको छ ।

घारका वडाध्यक्ष खड्काको अध्यक्षता, दुर्बिनडाँडा कृषक समूहका सदस्य सरिला बरुवाल खड्काको सञ्चालनमा सम्पन्न कार्यक्रममा मालिका कृषक समूहका अध्यक्ष सपना बरुवाल र सर्वोत्तम पीठो उत्पादन समूहका सचिव सुशीला कार्की बरुवालले तालिम कार्यक्रम प्रभावकारी र उपयोगी रहेको भन्दै अनुभव सुनाउनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार