मालिकाको राष्ट्रपति रनिङ शिल्डमा विवाद : किसानी माविलाई विजयी घोषणा,उपविजेता घोषित भीम माविको असहमति

  म्याग्दी न्युज संवाददाता

दरवाङ। म्याग्दीको मालिका गाउँपालिकाले आयोजना गरेको अन्तर मावि स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता विवादका विच सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र दरबाङमा सम्पन्न भएको प्रतियोगितामा वडा नम्बर ७ स्थित बिमको किसानी माविलाई बिजयी घोषणा गरिएको छ । माघ ११ देखि संचालन भएको प्रतियोगितामा उपविजेता घोषित भिम मावि देविस्थानले नतिजाप्रति असहमति जनाउँदै विज्ञप्ति जारी गरेको छ । भने २ सय मिटर दौड तथा ४ इन्टु ४०० मिटर र ४ इन्टु १०० मिटर रिले दौडको शनिबार सम्पन्न फाइनल खेलमा समेत भाग लिएन ।

प्रतियोगितामा प्रथम भएको किसानी माविले ११ स्वर्ण ,११ रजत र ५ कास्य पदक, दोस्रो भएको भिम माविले १० स्वर्ण ,२ रजत र ५ कास्य पदक जितेको गाउँपालिकाले जनाएको छ । त्यसैगरी तेस्रो भएको जनप्रिय माविले ४ स्वर्ण,३ रजत र ६ कास्य पदक जितेको छ । प्रथम हुनेले नगद ८० हजार, रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

दोस्रो र तेस्रो हुनेलाई क्रमश ः ६० हजार रुपैयाँ र ४० हजार रुपैयाँ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यसैगरी केबी एकेडेमीले ४ स्वर्ण ,१ रजत र ६ कास्य,सिद्धार्थ माविले ७ रजत ,दरबाङ इङ्लिस् बोर्डिङले १ रजत र १ कास्य, अमरज्योती माविले १ स्वर्ण र १ कास्य ,ओखरबोट माविले ३ रजत र १ कास्य,राष्ट्रिय माविले २ कास्य तथा गौबोम बस्त माविले २ रजत र ३ कास्य पदक जितेका छन् । निस्कोट माविले कुनै पनि पदक जित्न सकेन ।

प्रतियोगितामा ११ वटा विद्यालयले सहभागिता जनाएका थिए । छात्र र छात्रा भलिबल, कवड्डी र एथलेटिक्स बिधाका ३० वटा इभेन्ट्मा ९० पदकका लागि प्रतिस्पर्धा भएको थियो । भिम माविको व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर पुन र प्रअ डम्बर घर्तिले १५०० मिटरको छात्र दौड, १०० इन्टु ४ को छात्रा रिले दौड र अफिसियल राजकुमार परियारको विषयमा आयोजकलाई उजुरी गर्नुभएको थियो ।

१५०० मिटरको दौडका क्रममा किसानी माविका खेल शिक्षक बाहिरबाट भित्री ट्र्याक नजिक गई केही समय आफ्ना खेलाडीसँग सँगै दौडेर अम्पायरले रिवन पनि नटागेको अवस्थामा आफ्नो खेलाडीलाई बिजयको स्वघोषणा गरेको र अम्पायरलाई औपचारिक नतिजा घोषणा गर्न दवाव दिएको भिम माविले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चार इन्टु १०० मिटर छात्रा रिले दौड प्रतियोगिताका क्रममा अम्पायरले जालझेल गरि प्रष्ट आधार बिनानै जनप्रिय माविलाई अयोग्य र तेस्रो स्थानमा रहेका किसानी माविका खेलाडीलाई बिजयी घोषणा गरेको भिम माविले आरोप लगाएको छ । यसैगरी कवडीका अम्पायर राजकुमार परियारले आफ्नो जिम्मेवारी भन्दा बाहिर गएर एथलेटिक्टको प्रतियोगिताका रेफ्रीलाई दवाव र हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

गाउँपालिकाका पदाधीकारीहरुले भने नियम अनुसार रेफ्री र एम्पाएरलाई खेल सञ्चालनको जिम्मेवारी दिएको र उनिहरुले गरेको निर्णयनै मान्ने हुने प्रतिक्रिया दिएका छन् । सहमतिमा आउन पटकपटक आग्रह गरेपनि विद्यालयले अटेरी गरेर प्रतियोगितालाई विवादित बनाउने काम गरेको उनिहरुको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार