युद्धकालको एउटा तथ्यपरक अनुभव र मनोगत मूल्याङ्कन

  चन्द्रप्रकाश बानियाँ

म्याग्दी । कुरो २०५७ पौष १४ गतेको हो । धुमधामसँग राजाको जन्मोत्सव मनाउने परम्परा पातलिईसकेको थियो । कसैले मनाइहाल्यो भने पनि पञ्चायतकालको जस्तो धुमधामको आयोजना हुदैनथ्यो । उसो त आफूले त्यस खालका आयोजनाहरुमा भागलिन कुरामा रुचि लिइदैनथ्यो । हो, माष्टरजीको जागिरमा रहँदासम्म शिक्षा कार्यालयको हुकुम मान्न करै लाग्थ्यो । स्कूले नानीहरुको लावालस्कर साथ लिएर सदरमुकाममा धुलो उडाइन्थ्यो ।

साँचो कुरा गर्ने हो सरकारी दिवसहरु सदरमुकाम वरपरका स्कूल, शिक्षक र विद्यार्थीहरुका लागि कहर काट्ने विषय बन्थे । शिक्षाको आदेशको बर्खिलाप जान सकिने कुरै भएन । मान्दा साना केटाकेटीहरुले समेत दुःख पाउनुपर्ने हृुन्थ्यो । पञ्चायतको अवशानपछि परिस्थिति बदलियो । आफूले पनि जागिर माया मारियो । त्यसयताका दिन भने हाइसञ्चो भएको थियो ।

विनाकामधन्दा बेनीमा बस्न थालेको पनि पाँच वर्ष बितिसकेको थियो । त्यसबर्षको पुष महिनाको कुरा हो । कुनै समारोह, गोष्ठी, सेमिनार र सरकारी वा सामाजिक भेला बैठकहरुमा सहभागी नभएको लामै समय बितिसकेको थियो । “आजकाल कतै पनि देखभेट हुदैन नि, भूमिगत भएको त होइन नि” भनेर आफन्त साथीहरुले परिहास र कटाक्ष समेत गर्न थालिसकेका थिए ।

पौडी खेलका लागि पर्याप्त पोखरी वा नदीहरु उपलब्ध भएर मात्रै नहुँदो रहेछ । पानीमा खेल्ने रुचि र अभ्यासको जरुरत पर्दोरहेछ । नेपालको वाम आन्दोलनसँग धेरथोर नाता गाँसिए पनि मेरा लागि भूमिगत कार्यशैली पौडन नजान्ने अनाडिका लागि स्वीमिङ्गपुल जस्तै बनेको थियो । बन्द कोठा वा खुला मञ्चका औपचारिक कार्यक्रमहरुप्रतिको मेरो बढ्दो अरुचिको कारण कुनै पार्टीविशेषप्रतिको अनुराग वा संलग्नता थिएन । त्यो एउटा विशुद्ध संयोग मात्र थियो । तिनताका ममा लेख्ने धुन सवार थियो । गोटादुई पुस्तकका पाण्डुलिपि तयार गरेर तेश्रोसँग भिड्दै थिएँ । खास कारण त्यही थियो ।

सामाजिक गतिविधिमा पूर्णतः अरुचि जागेको होइन । त्यस्तो अवस्था आउनुपर्ने कारण केही थिएन । म र मेरो भन्ने भावनाप्रति अरुचि उत्पन्न भएको हुदै होइन । अर्थात रिस,राग, इष्र्या, द्वेषबाट मुक्त भएको पनि होइन, माया मोहबाट विरक्त भएको पनि होइन । अर्थात म पूर्णत सांसारिक थिएँ । इष्टमित्र, आफन्त र समाजप्रति मेरो मनमा उत्तिकै माया मोह थियो । समाजबाट अलग रहने कल्पना मेरो मनमा लेस मात्र पनि थिएन । सांसारिक गतिविधिबाट विरक्त हुनका लागि स्वजीवनप्रति निराशा उत्पन्न हुनुपर्छ । जीवन र जगत अनित्य छ, व्यर्थ छ भन्ने भाव मनमा उत्पन्न भएको थिएन ।

सांसारिक माया मोहबाट मुक्त भएर मुक्तिको कामनाप्रतिको अनुराग उत्पन्न भएको पनि थिएन । हिन्दू परम्पराको सन्यासप्रति पटक्कै आकर्षित भएको होइन ा आध्यात्मिक भाषामा त्यस्तो अवस्थालाई ‘वैराग्य’ भनिन्छ । बुद्धिष्टहरुले संम्बोधी भन्छन् । अलिकता टाउको दुख्दा मात्रै पनि हतारिएर सिटामोलको खोजीमा कुदिहाल्ने ममा जीवनप्रतिको मोहभङ्ग भैसकेको छ भन्न मिल्दैनथ्यो । अर्थात न त ममा बुद्धले भनेजस्तो ज्ञान थियो न हिन्दू दर्शनले भनेजस्तो वैराग्य नै थियो ।

मान्छेको दिनचर्या सधैं एकनास हुनसक्छ तर संयोग सधैं एकनास हुदैन । अर्थात घटना परिघटनाहरु अनपेक्षित र आकस्मिक हुन्छन् । सोचेको कुरा नहुनसक्छ । कल्पना नगरेको परिघटनाको सामना गर्नुपर्ने हुन्छ । म आफैमा मगनमस्त थिएँ । कलम कागजभन्दा अरुतिर मेरो ध्यान थिएन, कुनै अतिरिक्त कल्पना पनि थिएन । तर अघिल्लो हप्ता अनौठो संयोग जुरेको थियो । अनपेक्षित र आकस्मिक रुपमै एकै सातामा दुईवटा औपचारिक कार्यक्रमहरुमा सहभागी बन्ने निम्तो मान्ने अवसर मिलेको थियो ।

समाजमा रहेपछि जन्तीमलामी मात्रै होइन, श्राद्ध र न्वारनको निम्तो पनि मान्नुपर्ने हुन्छ । स्वभावतः पर्व अवसरहरुमा निम्ता÷बोलाहट आइ नै हाल्छन् । कति निम्तोमा उपस्थित हुन आवश्यक ठानिदैन, कैयौंमा चाहेर पनि सहभागी बन्न सकिदैन । त्यसपटक प्रहरी नायव उपरिक्षकको अनौपचारिक निम्तोले जिल्ला प्रहरी कार्यालय भवन उत्घाटन समारोहमा उपस्थित हुनुपर्ने बनायो ।

त्यसको एक दुइ दिन अगाडि मात्रै माओवादी पार्टीका तर्फबाट आयोजित धवलागिरिे अञ्चलकै पहिलो खुला आमसभामा सहभागिता जनाउने निम्तो मान्ने अवसर मिलेको थियो । किन हो कुन्नी ती दुबै निम्तो सहर्ष स्वीकार गर्न मनले अभिप्रेरित गरेको थियो । विनाकामधन्दाको मान्छे, त्यसमाथि निकै लामो समयसम्म सार्वजनिक कार्यक्रमहरु सहभागी नभएको हुनाले पनि ती दुई कार्यक्रमप्रति रुचि जागेको थियो ।

त्यसैले दुबै निम्तोमा सहर्ष सहभागिता जनाएको थिएँ । उनीहरुको भाषमा उपस्थित भएर कार्यक्रमका शोभाको पात्र बनेको थिएँ । उद्देश्य र प्रकृतिका दृष्टिले ती दुई विलकुल भिन्न कार्यक्रमहरु थिए । माओवादी आन्दोलनको बेला थियो । साँचो कुरा गर्ने हो भने देश गृहयुद्धको संङ्घारमा थियो । भर्खरै शाहीसेना मैदानमा उत्रिसकेको थियो । हरेक जिल्ला सदरमुकामहरुमा शाहीसेनाका टुकडीहरु तैनाथ भैसकेका थिए । बेनीको खाद्यसंस्थानको परसिरमा नेपाली सेना डेरा जमाइसकेको थियो । पुलिस र माओवादीबीच दर्जनौं झडप भैसकेका थिए ।

पुलिसले एकपछि अर्को मोर्चामा पराजय भोग्दै गएको थियो । पुलिस संगठन सदरमुकाम र सहरबजारको चौकिल्लाभित्र सीमित भैसकेको थियो । अर्थात दुई भिन्न कित्ताले एकै हप्ता विशेष कार्यक्रमको आयोजना गरेका थिए । दुई भिन्न कित्ताका आयोजनाहरुमा सहभागी बन्ने निम्तो पाइएको थियो ।

अलग अलग संस्थाद्वारा अलग अलग प्रयोजनका लागि आयोजित भिन्दा भिन्दै प्रकृतिका ती दुई समारोहहरुको संयोजन र सञ्चालनको आपसी तुलना गर्नै मिल्दैनथ्यो । धुपी सल्लाको रुख पनि निकै अग्लो हुन्छ । धरहरा पनि अग्लै छ । सगरमाथा पनि उसको उचाईकै कारणले लोकपरिचित भएको छ । यी तीनवटा वस्तुहरुको उचाईको आपसी तुलना गर्न खोज्नु नादानी ठहर्छ । तर असमान चीजवस्तुहरुमा पनि केही मिल्ने कुराहरु हुन्छन् । आपसमा तुलना गर्न सकिने गुणहरु हुन्छन् ।

सुन र कपासको तौल र गुणवत्ता तुलनायोग्य नभए पनि मूल्यका आधारमा त विभेद गर्न सकिन्छ । सुरुचिपूर्वक दुबै आयोजनामा सहभागिता जनाइयो र दुई पक्षको मनोविज्ञानको आँकलन गर्ने अवसर मिलेको थियो । आयोजक पक्षको आत्मबलको अनुमान र तुलना गर्ने अवसर मिलेको थियो । जसरी जुध्नका लागि सिंगौरी खेल्दैगरेका दुइ साँढेहरुको जिउडाल, कदकाँठी र चुस्तिस्पूmर्ती हेरेर सम्भावित विजेताको अनुमान लगाउन सकिन्छ, झण्डै त्यस्तै अनुभूति सभामा व्यक्त सम्बन्धित पक्षका अभिव्यक्तहरुले दिएको थियो । कमसेकम मेरो सतही मूल्याङ्कनले त्यस्तै नतिजा निकालेको थियो ।

शाही सेनाको उपस्थितिले सुरक्षाको थप प्रत्याभूति दिएको सदरमुकाम बेनीमा शसस्त्र प्रहरीको घेरामा प्रहरी कार्यालयकै हाताभित्रै रङ्गिविरङ्गी ध्वजा पताका र चौपालहरुले सिंगारिएको मञ्च निर्माण गरिएको थियो । छानिएका आमन्त्रित सहभागीहरुको बाक्लो उपस्थिति थियो । तर मञ्चमा उभिएर बोल्ने हरेक सहभागी वक्ताहरुको अभिव्यक्तिमा भने शान्ति सुरक्षाको जिम्मा लिएका जिम्मेवार राष्ट्रसेवकहरु बोल्दैछन् भनेर पत्याउनै गाह्रो पर्ने निराशा अभिव्यक्त हुन्थ्यो । नवनिर्मित पक्की भवन निर्माणको औचित्य पुष्टि गर्ने सिलसिलामा प्रमुख जिल्ला अधिकारीले ‘आफू सुरक्षित नभै अरुको सुरक्षा गर्न सकिँदैन’ भनेर अझ सकिन्छ भने बङ्करहरु निर्माण गरेर सुतुमुर्गले झैं बालुवामा मुन्टो लुकाउने भाव व्यक्त गरेका थिए । ‘जनताले सहयोग नगरेको हुनाले प्रहरी शक्ति निरीह र असहाय हुनु परेको’ गुनासो प्रहरी उपरिक्षकले गरेका थिए ! ‘माओवादीहरुसँग भिड्न आवश्यक कौशल विद्यमान प्रहरी संगठनसँग नरहेको’ कुरा नायव प्रहरी प्रमुखले सार्वजनिक रुपमा स्वीकारेका थिए ।

वातावरण अचम्मको थियो । सभा थियो देशको शान्तिसुरक्षको जिम्मा लिएको प्रहरी संगठनको तर प्रहरी संगठन पुरै असफल भैसकेको र नयाँ परिसिथ्तिको सामना गर्न संगठनको पुनर्संरचना गर्नुपर्ने विषयको माग गरिएको थियो । स्वयम आइजिपीले देशमा वर्तमान असहज परिस्थितिको सामना गर्नका लागि सामाजिक अपराधहरु नियन्त्रण गर्नेतिर लाग्नुभन्दा ‘प्रहरी संगठनलाई नयाँ ढाँचामा रुपान्तरण गरेर जनमुखीकरण गर्नुपर्ने आवश्यकताको पैरवी गर्दैथिए ।

डिएसपी देखि आईजिपीसम्म सबैका कुरा सुन्दा सिङ्गो प्रहरी संगठन थकित, गलित र पराजित मानसिकतामा पुगिसकेको रहेछ भन्ने स्पष्ट बुझ्न सकिन्थ्यो । राज्यले बोकाएको जिम्मेवारी बोक्नै नसक्ने अवस्थामा पुगिसकेके स्पष्ट आभास हुन्थ्यो । हुँटिट्याँउ नामको चराले परिआएमा आकास थाम्ने हिम्मत गर्छ रे । शक्ति भएर पनि हुटिट्याँउको जत्तिकै दम नेपालको प्रहरी संगठनमा नरहेको स्पष्ट बोध गर्न सकिन्थ्यो ।

अर्कोतिर चारैचौरसबाट स्पष्ट देखिने उत्तानो थापिएको भिरालो भिरालो भूबनोट रहेको गाउँ बरञ्जा, त्यसको मध्य भागमा खुल्ला आकासमुनि खुल्ला खेतबारीको कान्लामा चित्राले बारेको सानू कटेरो, सोही कटेराको छेउमै नजिकैको विद्यालयबाट पंैचो गरिएको एउटा सानू टेबुल र २÷४ थान बेञ्चहरु राखेर मञ्चको रुप दिईएको थियो । बरञ्जा छिर्ने ५÷७ वटा नाकाहरु जताबाट पनि २०÷३० मिनेट भित्र पुग्न सकिने ठाउँ हो उक्त दिनको जनसभास्थल –‘आरबाङ्’ ।

विद्यार्थी, शिक्षक, बुद्धिजीवि, पत्रकार, किसान, हली गोठालाहरु सबै उत्सापूर्वक झण्डा, ब्यानर, ल्पलेकार्डहरु बोकेर ‘प्रतिक्रियावादी सत्ता–मुर्दावाद’, ‘जनवादी क्रान्ति– जिन्दावाद’ को नारा लगाउँदै चारैतिरबाट निर्धक्क सहभागी बनिरहेका थिए । बाजा बजाउनेहरु बाजा बजाईरहेका थिए, गीत गाउनेहरु जोसिला गीत समवेत स्वरमा गाईरहेका थिए । नारा लगाउनेहरु जिन्दावाद र मुर्दावाद भनिरहेका थिए । सबै सहभागी यति निश्चिन्त र निर्धक्क देखिन्थे कि मानौ अस्तिभर्खरसम्म देशभरमा घटेको पुलिस बर्बरताको घटनाको उनीहरुलाई सम्झनै थिएन वा सम्झना भए पनि त्यसको रत्तिभर पर्वाह थिएन ।

अघिल्लै दिनदेखि ठाउँ ठाउँमा माइकिङ्ग गरिएको थियो । त्यो दिन मानिसहरु ६÷७ घण्टासम्मको पैदल यत्रा तयगरेर सहभागी बन्न आएका थिए । मध्यान्ह २ बजेसम्म सहभागीहरु झुण्ड झुण्डमा आउने क्रम जारी रह्यो । त्यसपछि जन मिलिसिया सहितको आकर्षक ¥यालीले सभास्थलको परिक्रमा ग¥यो । सुरुवातमा भूमिगत कार्यकर्ताहरुलाई सार्वजनिक रुपमा मञ्चासिन गराइयो । ५÷७ जना वक्ताहरुलाई समयको सिमाबन्धनविना निर्धक्क बोल्न दिइयो ।

मञ्चको कार्यक्रमको समापनपछि सोही ठाउँमा रातको १ बजेसम्म सांस्कृतिक कार्यक्रम प्रस्तुत गरियो । समग्रमा त्यो कार्यक्रमको आन्दोलनको सिलसिलामा आयोजित कुनै विरोध कार्यक्रम नभएर विजय उत्सव जस्तो लाग्थ्यो । मैलाधैला, दुब्ला पाताला र ख्याउटे अनुहारमा देखिने दृढता र क्षण क्षणमा आपसी अभिवादनका लागि उठ्ने दाउरे हातहरुका कसिला मुठ्ठीहरु देख्दा इतिहासमा भक्ति थापा, अमरसिंह र बलभद्रका माध्यमबाट अभिव्यक्त भएको नेपाली वीरता र शौर्यले पुनर्जीवन पाए जस्तो लाग्थ्यो ।

ती दुबै सभा समारोहमा मेरो हैसियत सत्यनारायण व्रतकथाको एउटा सामान्य निम्तालुको जस्तै थियो । यज्ञ आयोजनामा सहभागिता जनायो, कथा श्रवण ग¥यो, टीकाप्रसाद ग्रहण ग¥यो, बाटो लाग्यो, बस् । तर एउटा तठस्थ नागरिकको हैसियतले ती दुई सभाबाट आर्जन गरेको भनौैं कि बुझेको भनौं कि सँगालेको अनुभव अनुभूतिको पक्ष भने निकै महत्वको थियो ।

परिस्थितिको वस्तुपरक मूल्याङ्कन गर्न नसक्ने तत्कालीन सत्ता (श्री ५ को सरकार)को मूर्खतापूर्ण निर्णयले प्रतिद्वन्दीका रुपमा उभ्याईएका दुई अलग संगठनहरुको मनोबल, आत्मविश्वास र उत्साहमा आकाश जमिनको अन्तर आईसकेको तथ्य स्पष्ट दृष्टिगोचर हुन्थ्यो । एउटा पक्ष भर्भराउँदो आगो जस्तो लाग्थ्यो भने अर्को सुक्न आँटेको पानीको कुवा जस्तो ! अझै अगाडि भन्नुपर्दा एउटा पक्षले आधा लडाई जितिसके जस्तो र अर्को पक्षले लडाईं पुरै हारिसके जस्तो अनुभूति आँकलन हुन्थ्यो । मालिका प्रेस साप्ताहिकबाट

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार