म्याग्दी । सिंगो विश्व ब्रह्माण्ड विभिन्न खाले आतङ्कबाट पीडित छ । विश्व आर्थिक मन्दीको आतङ्क । कम्प्युटर भाइरसको आतङ्क । पूँजिवादीे आतङ्क । हतियार आतङ्क । जनसंख्या बृद्धिको आतङ्क । एड्स आतङ्क । कोविड आतङ्क । माफिया आतङ्क । तस्करीको आतङ्क । मूल्यबृद्धिको आतङ्क । बेरोजगारीको आतङ्क । सबभन्दा विभत्स र भयानक आतङ्क हो– विश्वभर अमेरिकी दादागिरीको आतङ्क । भूमण्डल मात्रै कहाँ हो र ? वायुमण्डल पनि औद्योगिक प्रदुषणबाट आतंकित छ । हरित ग्यास उत्सर्जनको आतङ्क । स्याटेलाईट आतङ्कबाट आकाश पनि आतङ्कित भएको छ । नयाँ स्याटेलाइट स्थापित गर्ने ठाउँ नै बाँकी छैन रे ! भूमण्डल पुरै आतङ्कमय भएको छ । अनि मेरो म्याग्दी पो कसरी आतङ्कमूक्त हुन सक्थ्यो र ? धेर थोर आतङ्कग्रस्त हुने नै भयो ।
हो, आतङ्कको प्रकृति भने अलि भिन्न थियो । म्याग्दीको आतङ्कमा विशिष्ट निरालापन थियो । नौलो र स्वादिलो पनि थियो । त्यो न माओावदी आतङ्क थियो न पुलिस आतङ्क थियो । न रातो र सेतो, विलकुल रङ्गविहीन आतङ्क थियो त्यो । न बाढीपहिरो, आगजनी न महामारीको आतङ्क थियो । पुरानो कुरो भएकोले पञ्चायतकालीन गौचनब्रदर्शको आतङ्क हो कि भन्ने लाग्ला । त्यो पनि होइन । त्यस्तो आतङ्क त अब इतिहासको विषय बनिसक्यो भनिदिँदा फरक पर्दैन । बिचरा ती हिजोका जङ्गली हिरोहरुलाई समयले भिजेको बिरालोमा रुपान्तरित गरिदिइसकेको छ ।
कुरो वि.सं. २०५६ सालतिरको हो । संसदीय निर्वाचनको पूर्वबेला थियो । म्याग्दीको राजनीतिमा अकस्मात उदाएको एउटा नाम “नारायण पुन” ले म्याग्दीको समाजमा एउटा सनसनी मच्चाएको थियो । उसो त उनी निकै भलाद्मी प्रकृतिका थिए । शान्त र सौम्य स्वभावका थिए । हप्काउने तर्साउने र गुण्डागर्दीमा उत्रने बानी उनको थिएन । भलाद्मी व्यक्तित्व कसरी आतङ्कको पर्याय बन्न सक्छ त ? बन्दो रहेछ । उनी चुनाव लड्ने भएपछि दिनहुँे म्याग्दीका डाँडा पाखा, पहरा छहराहरु हेलिकोप्टरको गडगडाहटले गुञ्जिन थालेका थिए । आज शिखमा, भोली रुममा, पर्सीपल्ट गुर्जामा, अस्ति नाच्र्याङमा, हेलिकोप्टरले धुलो उडाउँथ्यो । मान्छेहरुलाई झुलाउँथ्यो । पूर्व, पश्चिम, उत्तर, दक्षिण कुन दिशाको डाँडाबाट कतिबेला हेलिकोप्टर झुल्कन्छ भनेर झिसमिसे विहानदेखि गोधुलीसम्म म्याग्दीबासीका आँखाहरुले आकाश ताकिरहेका हुन्थे । हो, त्यसरी त्यतिबेला म्याग्दीमा – ‘हेलिकोप्टरको आतङ्क’ व्याप्त थियो ।
न प्राकृतिक प्रकोप थियो न हवाइसेवा म्याग्दीमा सुरु भएको थियो । त्यस्तो केही कुरा भैरहेको थिएन । कुरो के थियो भने नारायणसिंहजी दिनदिनै हेलिकोप्टर चढेर जिल्लाबासीसँग भेटघाट गर्न आउँथे । जन्मभूमिप्रति विछट्ट माया जागेको हो कि निर्वाचन प्रयोजनका लागि मात्र हो कुन्नी दिनको एकपटक म्याग्दीको भूमि नटेकेसम्म उनलाई चैन मिल्दैनथ्यो । निद पर्दैनथ्यो । साखुम हुदैनथ्यो । खाना रुच्दैनथ्यो ।
हुन पनि लाखौं मात्रै होईन करोडौं खर्च हुनेगरी गाउँ गाउँ र टोल टोलमा हेलिकोप्टर उतारिन्थे । ईष्टमित्र, कुलकुटुम्बसँग भेटघाट र भलाकुसारी गरिरन्थे । सिंगो जिल्लाबासीलाई कौतुहल, जिज्ञासा र मनोरञ्जनको विषय बनेको थियो तर त्यस अर्थमा सिंगो जिल्ला आतंकित थियो भन्न मिल्दैनथ्यो । २÷४ जना भलाद्मीहरुको भने ज्यानै खाने आतङ्क बनेको थियो त्यो घटना ! जाबो हेलिकोप्टरको आवाज सुन्दा पनि आतंकित हुने ती भद्रपुरुषहरुलाई ‘ध्वनीएलर्जी’ले सताएको भने होइन । चुनावी मौसम ! मानिसहरु घोषित अघोषित रुपमा ‘टिकट दौडमा’ सामेल हुने नै भए । चुनावको बेलामा बजारमा डिजेलको अभावको बेलाको लाग्ने मोटरहरुको ‘क्यू’ भन्दा कैयौं गुना लामो हुन्थ्यो पार्टीहरुका शक्तिकेन्द्रहरुमा ‘टिकटार्थीहरुको लाम’ ! हेलिकोप्टरवाला पनि टिकटार्थी हुन् रे भन्ने हल्लाले म्याग्दीको कांग्रेसीवृत्तमा आतङ्क फैलिएको थियो । उनीहरुका लागि नयाँ ‘टिकट आतङ्क’ थपिएकोे थियो ।
टिकटार्थी कांग्रेसीजनहरुलाई हेलिकोप्टरवालाले आफूहरुलाई निकै पछि परिसकेको थियो भन्ने आभास हुन थालेको थियो । किँकर्तव्य विमुढ र स्तब्ध बनोका थिए । बिचराहरु राईसमिलको आवाज सुन्दा पनि हेलिकोप्टरकै हो कि भनेर झस्कन थालेका थिए् । निद्रा तन्द्रामा हेलिकोप्टरको आवाजको भ्रमबाट झस्केर ब्युँझन्थे । हेलिकोप्टरको आवाज सुन्यो कि काकाकुलले झैं मायालाग्दो अनुहार बनाएर आकाश ताक्न थाल्थे । उनीहरुको भोक र र निद्रा चौपट भैसकेको थियो । हुन पनि त हो, पहँुच र पैसाको भरमा चल्ने नेपाली राजनीतिमा पैदल यात्री र विमान यात्रीको बीचमा प्रतिश्पर्धा सम्भव हुने कुरै थिएन । कुमार कार्तिकेयको वाहन मयुरसँग गणेशजीको मुषिकले कसरी मुकाबला गर्न सक्थ्यो र ? बर्षौंबर्ष पैताला खियाएर बनाएको पहिचान र स्थान पन्ध्रैं दिनको हेलिकोप्टर यात्राले बामपुड्के बनाई दिएपछि पर्नु सपर पर्ने नै भयो । बर्षौं खटेर आर्जेको टिकट प्राप्तिको बिचराहरुको सपना पैसाको हुरीले मनै नरहने गरी उडाइदिएको थियो ।
त्यो काँग्रेसी नेता कार्यकर्ताहरुको चीन्ता, चासो र व्यथाको कुरा थियो । आम सरोकारको विषय थिएन । कुरो कति मात्रै थियो भने म्याग्दी कांग्रेसी नेताहरु हेलिकोप्टर आतङ्कबाट यति धेरै पीडित भएको थिए कि उनीहरुको स्मरण, ध्यान र चिन्तन पुरै हेलिकोप्टरमय भएको थियो । भक्त प्रल्हादले यत्रतत्र सर्वत्र नारायणै नारायण देखे जस्तो म्याग्दी कांग्रेसले जताततै विमान चालक मात्र देख्न थालेको थियो । कपडाले छोपेको शक्तिशाली चुम्बकमा जसरी फलामे किलाकाँटाका टुक्राहरु आकर्षित हुन्छन्, त्यसैगरी विमान चालकको अनुहार कहिल्यै देख्नु त परै जावस् नाम पनि नसुनेका कांग्रेसी कार्यकर्ता, समर्थक, शुभचिन्तक र मतदाताहरुको ठूलो हिस्सा मन्त्रमुग्ध भएर विमानमालिकतर्फ आकर्षित हुन थालेको थियो । हेलिकोप्टरको मोहनीले उनीहरुलाई बीनबाजाको धुनले सर्पलाईभन्दा बेसी लठ्याएको थियो ! निर्धक्क भन्न सकिने कुरा के थियो भने ढिलो चाँडो सबै टिकटार्थीहरु हेलिकोप्टरवालाकै पक्षमा लाग्नुपर्ने परिस्थिति निर्माण हुँदै गएको थियो । सबैलाई घाटा हुने विषय त्यो थिएन । अलि टाँठाबाठा र बलिया बाङ्गाहरुले गोजी गरम गर्न पाउँथे । लुरे, लाम्रे र सोझाहरु मरिच झै चाउरिनुपर्ने हुदैनथ्यो । उनीहरुका निमित्त पनि विना मौसमको दशैं आउँथ्यो ।
गजब कुरा के भयो भने चुनाव सकियो । स्वभावतः म्याग्दीको चुनाव नारायणसिंमय भयो । हेलिकोप्टरले काँग्रेसका टिकतार्थीहरुको मात्र होइन अन्यपार्टीको नेताहरुको सपना पनि उडाइदियो । सबै पछारिए, पुनले चुनाव जिते । चुनाव सकिए पनि हेलिकोप्टरको आतङ्क भने समाप्त भएन । म्याग्दीको आकाशमा समयकुसमयमा हेलिकोप्टर उड्न छोडेन । ‘बडाले जो ग¥यो काम, हुन्छ त्यो सर्वसम्मत’ भन्ने लोकोक्ति नै छ । नेपाली समाज सामन्ती संस्कारमा चुर्लुम्म डुबेको छ । हुनेखाने र ठूला बडाहरुलाई समाजले ‘साँढे छुट’ दिने गर्छ । डामेर छोडिएको साँढेलाई ‘बार न बान्नो’ भन्छन् । हो, ठीक त्यसैगरी बडाले ऐन कानून तोडे पनि हुन्छ । रीतिरिवाज तोडे पनि हुन्छ । स्थिति मिचे पनि हुन्छ । समाजमा थिचोमिचो र शोषण मच्चाए पनि हुन्छ । बडाहरुको वदमासी र कुकृत्यप्रति कसैले औंलो ठड्याउन सक्तैन । कसैले छड्के आँखा लगाउन पनि सक्तैन । अर्थात ठूला बडाले गरेको काम नाजायजै भए पनि सहज रुपमा सर्वस्वीकृत हुन्छ । हाम्रो परम्परा यस्तै छ । हाम्रो संस्कार यस्तै छ ।
पुनजी मन्त्री भैसक्दा पनि म्याग्दी भने हेलिकोप्टर आतङ्कबाट मुक्त हुन सकेन । सानू बजार बेनीको चारैतिर ठडिएका पहराहरुमा प्रतिध्वनित भएर हेलिकोप्टरको आवाज दशगुणा वृद्धि हुन्छ । बेनीको आकाशमा प्रवेश गरेको सानू हेलिकोप्टरको आवाजले सुपर जम्बोजेटको आवाजलाई माथ गरिदिन्छ । ध्वनी प्रदुषणको शिकार हुनु परे पनि वा चढ्ने अवसर नपाए पनि म्याग्दीबासीहरुले हेलिकोप्टरको दर्शन गर्ने सौभाग्य भने मनग्गे पाउन थालेका थिएं । मफतमा पाए मान्छेले तीन माना चुक पिउँछ भनिन्छ । मफतमा पाउने हो भने पोखरा जानु पर्ने भए गुर्जा र ढोरपाटन जानु पर्नेले काठमाडौंको होलिकोप्टर यात्रा गर्न पनि अप्ठ्यारो मान्दैनरहेछ । चढ्न नपाउनेले पनि ‘मामाको घोडी मेरो हि हि’ भनेर जुँगा मुसार्न पाएका थिए भन्नु बढ्ता हुदैन ।
हुनेहरु, सक्नेहरु र पाउनेहरुले हेलिकोप्टरको सुविधा लिएकोमा कसैको टाउको दुखाई थिएन । माओवादी आतङ्कको नाममा सुरक्षाको कारण देखाएर अस्पतालको कम्पाउण्डलाई नीजि हेलिप्याडको रुपमा निरन्तर प्रयोग गर्न थालिएको कुरातिर भने जनस्वास्थ्यप्रति सरोकार राख्ने सबै चेतनशील नागरिकहरुको ध्यान जानुपथ्र्यो । एकै दिनमा दर्जनौं पटक अस्पताल हाताभित्र हेलिकोप्टर उतार्दा नजिकै रहेको आस्पतालका शैयामा रोग र मृृत्युसँग संघर्षरत बिरामीहरुको स्वास्थ्यमा प्रतिकूल असर पुग्नसक्छ भन्ने कुराको हेक्का राखिनुपथ्र्यो । हरेक पटक हेलिकोप्टरले उडाउने प्रदुषित किटाणुयूक्त धुलो अस्पताल भित्र छिर्नु स्वभाविक थियो भन्ने कुरा तिर कसैको ध्यान गएको देखिदैनथ्यो ।
कुरो बहालवाला मन्त्रीसँग सम्बन्धित भएकोले अस्पताल प्रशासनले रोक्ने कोशिस गर्ने कुरै भएन । गर्न सक्दैसक्दैनथ्यो । बजारका टाँठाबाठा, ठूलावडा र चिकित्सा व्यवसायीहरु सम्मिलित भएको अस्पताल विकास समितिले ध्यान दिने कुरा पनि भएन । पहिले वास्ता नगर्ने पछि नहुने कुराको विरोध गरिटोपल्ने झारातिराई समाजको परम्परा बनिसकेको थियो । मन्त्रीका अगाडि समाजसेवीहरुको मुखमा पट्टी बाँधिनु अस्वभाकिव छँदै थिएन । उद्योग वाणिज्य संघ चूप थियो । वातावरण संरक्षण सम्बन्धी संघ संस्थाहरु चूप थिए । पुलिस कस्टडीमा पुगेका चोर डाँका जस्ता सामाजिक अपराधीहरुको मानव अधिकार हननको चिन्ता गर्ने वार एसोसिएसन पनि चूपै थियो । मानव अधिकार संगठनहरुका दृष्टिमा सामान्य नागरिकको मानव अधिकार प्राथमिकतामा कान्छो हुनु स्वाभाविकै थियो । मालिकको ईशारामा बाङ्गो रुखलाई सोझो र सोझोलाई बाङ्गै देखिदिने हामी नेपालीहरुको पुरानै संस्कार हो क्या रे !
त्यतिखेर गाउँ बस्तीहरुमा जुवातास खेल्ने, जाँडरक्सी सेवन गर्ने जस्ता कुलतबाट समाजलाई मुक्त गर्न माओवादी कार्यकर्ताहरुको सहयोग खोजिन्थ्यो । सुदखोरी र भ्रष्टाचार जस्ता सामाजिक विकृति रोक्न माओवादी चाहिने भएको थियो । ठग, वदमास र फटाहाहरुलाई ठेगान लगाउन माओवादी चाहिने भएको थियो । सबै रोगको एउटै औषधी ‘रामवाण’ भनेजस्तो भएको थियो– माओवादी । हुन पनि एउटा निगालोको सानो सिन्कोमा हँसियाहथौडा अंकित रातो झण्डा टाँगेर अस्पताल हाताको छेउछाउ कतै “आयन्दा हस्पिटलको हातालाई नीजी प्रयोगमा नल्याउन सूचित गरिएको छ” भन्ने व्यहोराको सानो सूचना टाँसी दिएका भए त्यसको बर्खिलापमा जान सक्ने हिम्मत सायद कसैको नहुँदो हो । मन्त्री पनि तर्सन्थे । त्यसो भएन । हुन सकेन । किनकि माओावादीको पहुँच पुगेन, अरुले त्यसो गर्ने आँट गर्न सकेनन् । आफ्नै रागले चाउरिएको मरिचको जस्तो अवस्था रह्यो । ……….र निकै लामो समयसम्म हेलिकोप्टर आतङ्कले निरन्तरता पाइरह्यो । मालिका प्रेस साप्ताहिकबाट