पश्चिम म्याग्दी युवा क्लब र कालिपुल युनाइटेड क्लब म्याग्दी कपको फाइनलमा

  म्याग्दी न्युज संवाददाता

बेनी । पश्चिम म्याग्दी युवा क्लब र कालिपुल युनाइटेड क्लब म्याग्दी सदरमुकाम बेनीमा जारी म्याग्दी कप आमन्त्रीत म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको सेमिफाइनल खेलमा पश्चिम म्याग्दी युवा क्लबले मनसुन युवा क्लब चुत्रेनी र कालिपुल युनाइटेड क्लबले बौद्ध युवा क्लबलाई पराजित गर्दै प्रतियोगिताको फाइलनमा प्रवेश गरेका हुन् ।

खुल्ला मञ्चमा चैत १ देखि शुरु भएको फुटबल प्रतियोगिताको सोमबार भएको पहिलो सेमीफाइनल खेलमा पश्चिम म्याग्दी युवा क्लब दरवाङ र मनसुन युवा क्लब चुत्रेनी बीचको खेल निर्धारीत समयमा ३–३ गोलको बराबरीमा सकिए पछि थपिएको १०–१० मिनेटको अतिरिक्त समयमा पनि दुवै पक्षबाट गोल नभए पछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा मनसुन क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै पश्चिम म्याग्दीले फाइनलमा स्थान पक्का गरेको थियो ।

त्यस्तै अर्को सेमीफाइनल खेलमा सदरमुकाम बेनीको कालिपुल युनाइटेड क्लब र बौद्ध युवा क्लब बीचको खेल निर्धारीत तथा अतिरिक्त समयमा १–१ को बराबरीमा सकिए पछि पेनाल्टी सुटआउटमा पुगेको थियो । बुद्ध क्लबलाई २–३ गोल अन्तरले पराजित गर्दै कालिपुल युनाइटेडले फाइनलमा पश्चिम म्याग्दी संगको भेट पक्का गरेको हो । १० वटा क्लब सहभगी भएको लिग फुटबलमा समुह ए बाट समूह बिजेता बन्दै मनसुन क्लब र उपविजेता बन्दै कालिपुल युनाइटेडले सेमीफाइनलमा स्थान बनाएका थिए । त्यस्तै समूह बि बाट बौद्ध युवा क्लब समुह बिजेता र पश्चिम म्याग्दी युवा क्लब उपविजेता बन्दै सेमीफाइनलमा स्थान बनाएका थिए । दुवै समूहका विजेताहरु फाइनल सम्मको यात्रा तय गर्न नसकी सेमीफाइनलबाट बाहिरीएका छन् ।

फाइनल खेल मंगलबार बिहान १० बजे देखि शुरु हुने आयोजकले जनाएका छन् । बिजेता टोलीले नगद एक लाख १५ हजार र दोश्रो हुनेले ७० हजार रुपैयाँ नगद सहित मेडल र ट्रफी प्राप्त गर्ने छन् । म्याग्दी कप–२०७९ व्यवस्थापन समितिको आयोजना र जिल्ला फुटबल संघ म्याग्दीको सहआयोजनामा जारी फुटबल प्रतियोगितामा हरेक खेलका उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको छ ।विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा अनुशासीत टिमलाई पनि नगद पुरस्कारको व्यवस्था गरीएको म्याग्दी कप–२०७९ व्यवस्थापन समितिका संयोजक विक्रम सुवेदीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार