रुपचन्द्रलाई पनि नचाउने बेनीको संक्रान्ति मेला !

  चन्द्रप्रकाश बानियाँ

म्याग्दी । काली म्याग्दीको सङ्गममा आयोजित हुँदै आएको माघेसंक्रान्ति मेलाको इतिहास बेनीबजारभन्दा निकै जेठो छ । सुन्दा आश्चर्य लागे पनि माघेसंक्रान्तिको हाटमेलाले बेनीबजारको शिलान्यास गरिदिएको हो भन्ने कुरा यथार्थ हो ।पर्वत राज्यकालमा हिउँदभर बेनीको बगरमा अस्थायी बजार बस्ने गथ्र्यो । अस्थायी बजारले भोट–मधेश व्यापारको केन्द्रको रुप लिएपछि बजार व्यवस्थित गर्न पवर्तको राजधानी हिउँदका तीनमहिना बेनीमा झर्ने परम्परा बसेको हो भनिन्छ । दरबारसँगै बजार पनि स्थायी बन्न गएको हो ।

पछिल्लो कालखण्डमा देशैभर महोत्सव र मेलापर्वहरु आयोजना बाक्लै हुन थालेका छन् । ऐतिहासिक, धार्मिक, सांस्कृति र प्राकृतिक दृष्टिले पर्यटकीय सम्भावना रहेका ठाउँहरुमा मात्र होइन, अब त प्रत्येक जिल्ला, धार्मिक सांस्कृतिक स्थलहरु, नगरपालिका, र स–साना गाउँबस्तीहरुमा समेत महोत्सव र मेलाको आयोजना हुन थालेका छन् । पर्यटन उद्योग मुलुकको आर्थिक मेरुदण्ड बन्ने सम्भावनालाई दृष्टिगत गरेर यस्ता मेला, पर्व र महोत्सवहरु बाक्लिन थालेका हुन् ।

नेपालमा विद्यमान सांस्कृतिक, प्राकृतिक र धार्मिक सम्पदाको अतुलनीय भण्डारको आलोकमा नेपाल बहुआयामिक पर्यटकीय गन्तव्यको रुपमा विकसित हुनसक्ने प्रशस्त सम्भावना रहेको छ भन्नु अत्युक्ति हुदैन । बेनीको माघे संक्रान्ति मेलाले वि.सं. २०५९ मा बेनी महोत्सवको रुपमा पहिलोपटक नवजीवन पाएको हो । उक्त प्रथम बेनी महोत्सव स्मरणमा आजपर्यन्त ताजै छ ।

पञ्चायती शासनकालको मध्यान्तरतिरको कुरा हो, राष्ट्रिय पञ्चायतको अधिवेशन समाप्तिपछि सधैं झैं त्यस पटक पनि सांसदहरुको सम्मानमा तत्कालीन प्रधानमन्त्रीद्वारा सिंहदरवार परिसरमा एउटा भव्य रात्रीभोजको आयोजना गरिएछ । रक्सीको रमरममा सबै पाहुनाहरु डुबिसकेपछि भोजको रौनक नै फेरिनै नै भयो ।  सांसद, मन्त्री र विशिष्ट पाहुनाहरु सबै गाउन नाच्न थालेछन् । कुनाको एउटा टेबुलमा नितान्त एक्लै बसेर पेग माथि पेग थपिरहेका माननीय रुपचन्द्र विष्टलाई एकजना महिला सांसदले नाच्न आग्रह गरिछन् ।

रुपचन्द्रको ‘थाहा’ आन्दोलनको उत्कर्षको बेला थियो त्यो । भावुक र गम्भीर व्यक्तित्वको रुपमा बिष्ट स्थापित भैसकेका थिए । स्वभावतः आफ्नो स्थापित छविअनुरुप शालीनतापूर्वक महिला सांसदको अनुरोध अस्वीकार गरेका विष्टले भनेछन्– ‘रक्सीको मातमा देशका मन्त्री र सांसदहरु नाच्न थाले भन्दैमा रुपचन्द्र बिष्ट नाच्न सक्तैन । रुपचन्द्रले त्यतिबेला मात्रै गाउन र नाच्न थाल्नेछ, जब यो सिंगो मुलुक नाच्ने दिन आउने छ । सामाजिक उत्तरदायित्वका हिसाबले म मुलुकको वर्तमान परिस्थितिमा आनन्द र खुसी मनाउन सक्ने स्थितिमा छैन । त्यसैले माफ गर्नुस माननीयजी ! यी मुठ्ठीभर शोषक सामन्तहरुको खुसियालीमा रुपचन्द्रले खुसीको अभिनय गर्न सक्तैन ।’

रुपचन्द्रले यो धर्ती छोडेको पनि दुई दशक बितिसकेको छ । उनले कल्पना गरे जस्तो नेपालको निर्माण हुन अझै शताब्दियौं कुर्नु पर्छ होला । रुपचन्द्रले मात्रै होइन, त्यस्तै दिन पर्खने हो भने, रुपचन्द्रका नातिले पनि नाच्ने दिनको साईत जुर्ने छैन । तर रुपचन्द्र आजसम्म ज्युँदा भै दिएकाभए र त्यस बर्षको बेनीबजारमा सम्पन्न माघे संक्रान्ति मेलामा सहभागी हुन पाएका भए अवश्य नाच्दा हुन् जस्तो लागिरहन्छ ! किनकि त्यो मेलामा नाच्ने गाउनेहरु समाजका शोषक सामन्तहरु मात्रै थिएनन् । बरु त्यो मेलामा पुगेर पनि ननाच्ने मान्छे भेट्टाउनै मुश्किल पथ्र्यो । मेलाको वातावरण त्यस्तो थियो कि जस्लाई पनि नाचुँ नाचुँ र गाउँ गाउँ बनाईहाल्थ्यो । त्यो मेलामा रम्न रमाउनका लागि मान्छेले आफ्नो आमद हैसियत हेर्दैनथ्यो । बेनीको त्यो रमाईलो वातावरणले विष्टलाई अवश्य नचाउँदो हो ।

सोह्रौं शताब्दिको उत्तरार्धमा पर्वतका छैंटौं राजा राजवम मल्लको पालादेखि बेनीबजारमा हिउँदका चार महिना ‘हाटमण्डी’ लाग्ने परम्परा बसेको थियो भनिन्छ । त्यही हाटको शुभारम्भ भएको दिन हो माघे संक्रान्ति । विगत केही दशकयता मेलाको भव्यता र महत्व जनसहभागिताका दृष्टिले झन झन घट्दैै गैरहेको थियो । ‘मकर संक्रान्तिमा बेनीमा मेला लाग्थ्यो रे’ भन्दा अन्यथा नहुने स्थिति सृजना भैसकेको थियो । समयचक्र विचित्रको हुन्छ । त्यसले पुराना स्थापित परम्पराहरुलाई बिर्साइदिन्छ र नयाँ परम्परा र रीतिरिवाजको सूत्रपात गरिदिन्छ । बेनीबजारको माघे संक्रान्ति मेला पनि पूर्णतः लोपोन्मुख परम्पराको गन्तिमा परिसकेको थियो । मेलाको महत्व स्थापित गर्ने मूख्य दुईवटा आधारहरु भत्किईसकेका थिए ।

मकर संक्रान्ति मेलाको पहिलो आधारस्तम्भ धार्मिक परम्पराप्रतिको आस्था र विश्वास हो । सूर्यदेवको उत्तरायण यात्रा सुरु हुने तिथि मकर संक्रान्ति हिन्दू धर्मका दृष्टिले पवित्र दिन मानिन्छ । त्यो शुभ मुहुर्तमा गङ्गास्नान गर्नाले पुण्य मिल्छ र पापमोचन हुन्छ भन्ने धार्मिक विश्वास सायद अब हाम्रो समाजमा खण्डित भैसकेको छ । न त सूर्यनारायणको उत्तरायण यात्राको पवित्रतामा विश्वास छ, न त गङ्गास्नानबाट पुण्य प्राप्त हुने कुराप्रतिको आस्था बाँकी छ ।

मानिसको सोच यसरी परिवर्तन भैसकेको छ कि शरीरका बहिरङ्गहरु पनि राम्रोसँग सफा गर्न सक्ने हैसियत गुमाएको फोहोर गङ्गाजलले मनभित्र कटकटिएर खाँदिएको पाप पखाल्छ भन्नु पाखण्डपन मात्रै हो भन्ने बुझाई बहुसंख्यक मानिसहरुमा विकास भैसकेको छ । त्यसैले मान्छेहरुमा गङ्गास्नानको लालसा समाप्त भैसकेको छ, आकांक्षा मरिसकेको छ । आस्था र श्रद्धामा ठूलो ह्रास आईसकेको छ ।

मेलाको दोश्रो आधार पुरानो ‘हाटमेला’ को परम्परा पनि अब समय सापेक्ष रहेन । यातायात र सञ्चारको विकासले बजार व्यवस्थालाई सुगम बनाई दियो । अब बजार सधैंका लागि र सबैका लागि हरदम उपलब्ध हुने वस्तु (सुविधा) मा रुपान्तरित भैसक्यो । किनमेल र बेचविखनका लागि अब कुनै हाटमेलाको तिथि कुर्नु पर्दैन । त्यसैले मेला पर्वहरुको महत्व विशुद्ध मनोरञ्जनले मात्रै थामिरहने प्रश्नै उठ्दैन । समय प्रवाहको प्रतिकूलताले विशाल र बलशाली डाईनासोरलाई पनि आफ्नो अस्तित्व जोगाउन नसक्ेन अवस्थामा पु¥याइदियो भने यातायात, संचार र बजारको बिस्तारका अगाडि परम्परागत हाटमेलाहरुको औचित्य कतिदिन टिक्न सकोस् त ? त्यसैल अब त्यस्ता मेला पर्वहरुप्रतिको आकर्षण र औचित्य पुरै समाप्त भैसकेको छ भन्दा फरक पर्छजस्तो लाग्दैन ।

नेपालको पहाडतिर “माघेसंक्रान्ति” र मधेसमा “माघी” भनेर मनाइने सांस्कृतिक पर्वको वैदिक नाम “मकर संक्रान्ति” हो । नेपाली समाजमा “संक्रान्ति” भन्नाले महिनाको पहिलो दिन भनेर बुझ्ने गरिन्छ । संक्रान्तिलाई महिनाको पहिलो दिन मानिने विक्रम संवतको पात्रो अनुसार मात्र हो । संक्रान्तिको शाब्दिक व्युत्पत्तिको विक्रम संवतसँग कुनै साइनो सम्बन्ध छैन । वैदिक मान्यतामा हरेक महिना सूर्यले एउटा राशीबाट अर्को राशीमा संक्रमण गर्ने प्रक्रियालाई संक्रान्ति भनिन्छ । राशीहरुको संख्या १२ भएको हुनाले एक वर्षमा बाह्रैवटा संक्रान्ति पर्दछन् । चन्द्रमास अनुसार त्यस तिथिमा सूर्यको उत्तरायण यात्रा प्रारम्भ हुन्छ । सूर्यले धनुराशी छोडेर मकर राशीमा पदार्पण गर्ने भएको हुनाले यो दिनलाई “मकर संक्रान्ति” भनिने हो । इस्वी संवत अनुसार जनवरी महिनाको गत्याङ्क १३÷१४ मा यो संक्रान्ति पर्दछ ।

वि.सं. २०५९ सालको माघे संक्रान्तिमा म्याग्दी उद्योग वाणिज्य संघले विस्मृतिको गर्भमा विलुप्त हुँदै जान थालेको बेनीबजारमा लाग्ने परम्परागत संक्रान्ति मेलालाई पुनर्जीवन दिएको हो । मेलाको तिथि वरपर विविध साँस्कृतिक, व्यावसायिक र औद्योगिक हाटमेला प्रदर्शनीको तर्जुमा मिलाएको थियो । ती सबै कार्यक्रमहरुमध्ये ‘दोहोरी गीत प्रतियोगिता’ उल्लेखनीय रुपमा सफल रहेको मूल्याङ्कन आयोजक र सहभागी दुवैथरीको थियोे । लगातार चार दिनसम्म चलेको दोहोरी गायन प्रतियोगिताबाट आयोजकहरुको मनोकांक्षा त कति पूरा भयो कुन्नी ? तर उक्त कार्यक्रम भीड जुटाउन भने सफल रहेको थियो । सांस्कृतिक परम्पराको जगेर्ना गर्न त कति सफल रह्यो कन्ुनी, मान्छेहरुलाई पर्याप्त मनोरञ्जन दिन सफल भएको थियो ।

मेला अवधिभर सबै सहभागीहरु गाईरह्ेकै देखिन्थे । नाचिरहेकै देखिन्थे । ‘लाली गुँरास क्लब’ पर्वतको पुरुष समूह र ‘कर्मचारी मिलन केन्द्र’ बाग्लुङ्गको महिला समूहबीचको दोहोरी प्रतियोगिता साँच्चिकै मर्यादित र उत्कृष्ट थियो । प्रतियोगिताका ती चारदिनहरु साँच्चिकै संगीतमय र नृत्यमय भएर बितेका थिए । मेलामा उपस्थित भएर पनि ननाच्ने मान्छे त विरलै रह्यो होला । अघिल्लो दिन कुनै भद्रजन झाम्रेको तालमा उन्मत्त नाचेको कुरालाई आलोचनाको विषय बनाउने मान्छेहरु भोलिपल्ट त आफै नाच्न तम्सेको देखिएको थियो । बालदेखि बृद्धसम्म, गरीब देखि धनीसम्म र पियन देखि हाकिमसम्म सबै दिल खोलेर नाचेका थिए । सबैले धक फुकाएर गाएका थिए ।

शालीनता र भद्रतापूर्वक सुरु हुने हरेक दिनका कार्यक्रमहरुले साँझतिर मर्यादाको लक्ष्मण रेखा अतिक्रमण गर्न आँटेजस्तो लाग्थ्यो । अर्थात हरेक दिन छिप्पिदो साँमmदेखि भोलिपल्ट मिर्मिरेसम्म बन्द कोठा भित्र नजरबन्द हुनु पर्ने बाध्यता नभइदिएकाभए मेलाका हरेक रातहरु अमर्यादित हुने पक्कै थियो भनेर सहज कल्पना गर्न सकिन्थ्यो । संकटकालले मेलालाई अमर्यादिन हुनबाट राम्रैसँग जोगाएको हुनाले सिउँडीको दूध पनि औषधिको रुपमा प्रयोग हुनसक्छ भन्ने लोककथनलाई सत्य सावित गरिदिएको थियो ।

जति जति दिन ढल्कँदै जान्थ्यो त्यति त्यति मान्छेहरु रौंसिदै र हौसिँदै गएको देखिन्थ्यो । अर्थात ‘मेलाको भरपुर मनोरञ्जन आजै लिईहाल्नु पर्छ, भोलि त के हो कसो हो’ भन्ने मनोविज्ञानले काम गरेजस्तो लाग्थ्यो । पहिलो दिन मादलको तालमा थपडी बजाएर नाच्ने बडे बडे हाकिमहरुको आलोचना गर्नेहरु पनि भोलि पर्सिपल्ट सम्म त बानी परिसकेका थिए । आज ‘फलानो हाकिम देखिएन, ढिस्कानो आज कता हराएछ’, भनेर नाच्ने गाउनेहरुको खोजी गरेको देखिन्थ्यो । कहिलेकहीँ स्वयं आयोजकहरु मञ्चमा नाच्न थाल्दा मर्यादा मिचिएको अनुभव गर्नेहरुले पनि दिनहरु बित्दै जाँदा त्यसलाई विशुद्ध वातावरणीय प्रभाव मानेर स्वाभाविक र सहज व्यवहारको रुपमा पचाउँदै गएको देखिन्थ्यो ।

नेपालीहरुलाई नाच्न गाउनका निमित्त रुपचन्द्र विष्टले कल्पना गरेजस्तो अवस्था चाहिने रहेन्छ भन्ने कुरा माघे संक्रान्ति मेलाको त्यो उल्लासमय वातावरणले प्रमाणित गरिदिन्थ्यो । नाच्ने गाउँने अवसर पाउँदा मान्छेहरुले सबै दुःखकष्ट, अत्तोगाह्रो, अप्ठरो र आमद हैसियत सबै बिर्सिएर रमाइलो वातावरणमा आफूलाई सामेल र सहभागी बनाउँदो रहेछ । वास्तवमा देशको सामाजिक परिस्थिति रुपचन्द्रको बेलाकोभन्दा सयौं गुना गएबितेको स्थितिमा थियो र पनि मान्छेहरुले निर्धक्कसँग गाए, मजाले नाचे । हाँसे, खेले, रमाईलो गरे । मनोरञ्जन लिए । सायद, रुपचन्द्र सशरीर बेनीको मेलामा उपस्थित हुँदा हुन् ता अवश्य उनी पनि नाच्दा हुन् । दोहोरी गाउन अघि सर्दा हुन्  !

सिंहदरवारको रात्रीभोजमा मोटाघाटा, पेट भरिएका र शोषक सामन्तहरु विदेशी रक्सीले मातेर नाचे होलान् तर बेनीको खुला मञ्चमा त दुब्ला पातला, भोका नाङ्गा र एक बोतल ‘लोकलठर्रा’ सेवन गर्ने हैसियत नराख्नेहरु पनि उत्तिकै रमाएर नाचेको देखिन्थ्यो । यसरी सिंगो समुदाय नाच्दा रुपचन्द्र कसो ननाची बस्न सक्दा हुन र ?! मालिका प्रेस साप्ताहिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार