चर्चित बेनी आक्रमण

  चन्द्रप्रकाश बानियाँ

कटवालकाण्डले तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई पदबाट राजिनामा गर्नपुर्ने परिस्थिति सिर्जना गरिदियो । सत्ताच्युत भएको तत्कालीन माओवादी सडकमा पछारियो । सडक आन्दोलनलाई बलियो बनाउन संगठन विस्तारको आवश्यकता थियो । कारगर योजना बनाउनुपर्ने आवश्यकता थियो । अर्कोतिर गाउँ छोडेर शहर पसेको माओवादीले शहरमा दरिलो आधार निर्माण गर्न सकेको थिएन ।

शहरीया जनमत माओवादीको अनुकूल थिएन । सडक आन्दोलनलाई कसरी प्रभावकारी बनाउने भन्ने उद्यममा लागेको माओवादीले जनमत आकर्षित गर्ने सन्दर्भमा एकेडेमीहलमा एउटा कार्यक्रमको आयोजना गरेको थियो । संयोगबस त्यो कार्यक्रममा म पनि सहभागि थिएँ । सभा सञ्चालकले मलाई पनि बेनी आक्रमणको सहयोगीको रुपमा परिचित गराए । त्यो सरासर गलत कुरा थियो ।

बेनी आक्रमणभन्दा पाँच महिना अघिदेखि म काठमाडौैंमा थिएँ । पुलिस प्रशासनको डहनकै कारण जिल्ला छोड्नुपरेको कुरा सत्य भए पनि माओवादी आन्दोलनमा मेर।े प्रत्यक्ष संलग्नता थिएन । सरकारी पक्षले मैले विद्रोही पक्षलाई सहयोग गरिरहेको ओरोप लगाउँथ्यो तर विडम्बना कस्तो थियो भने माओावादीले त्यसलाई ठाडै इन्कार गथ्र्यो । सभासञ्चलकको कुरा सुनेपछि बेनी आक्रमणको नेतृत्व गर्ने कमाण्डर क. पासाङ्ग नन्दबहादुर पुनले पुलुक्क मेरो अनुहारमा चिहाए । उनको र मेरो बीचमा परिचय थिएन । आक्रमणमा कुनै भूमिका नभएको मानिसको नाम कसरी बेनी आक्रमणसँग जोडियो भन्ने आश्चर्यभाव उनको अनुहारमा मैले स्पष्टसँग पढेको थिएँ ।

बेनी आक्रमणको बेला म काठमाडौंमा थिएँ । सहभागी हुने कुरा त परैजावस् प्रत्यक्ष देख्न अुनभव गर्न पाएको होइन । सञ्चारमाध्यम र प्रत्यक्षदर्शीहरुबाट घटनाको जानकारी पाइएको मात्र हो । स्वभावतः काठमाडौं बसेर बुझेको कुरा र वास्तविक नालीबेली फरक हुन सक्ने भयो नै ।

कुरो चैत्र ७ गते २०६० को हो । म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजारमा माओवादी विद्रोहीहरुले भिषण आक्रमण गरेका थिए । सो आक्रमणबाट निकै ठूलो परिमाणमा जनधनको क्षति भएको थियो । बहादुर शाहको नायवीकालमा त्यसभन्दा करीब २१७ बर्ष ५ महिना र चानचुन २७ दिन पहिले गोर्खा र पाल्पाको संयुक्त फौजले पूर्व र दक्षिण दुई दिशाबाट एकै पटक भिषण आक्रमण गरेर बेनीबजारलाई
तहस नहस पारिदिएका थिए । त्यो आक्रमणले पु¥याएको त्रासद क्षतिबाट भौतिक र मनोवैज्ञानिकरुपमा उब्रन बेनीलाई शताब्दीयौं लागेको थियो ।

गोर्खाले गरेको भिषण मारकाट र जनसंहार हिन्दूहरुको पवित्र ‘पितृपक्ष’ अर्थात सोह्र श्राद्धको बेलामा भएको थियो । हिन्दूहरुको निमित्त हिंसावर्जित पावन पितृपक्षको समयमा युद्धोन्मत्त गोर्खालीहरुले रीतिरिवाज, धर्मपरम्परा, संस्कारसंस्कृति र सामाजिक मूल्यमान्यताहरुलाई कुल्चेर लगातार दश दश दिनसम्म नृशंस र पाशविक हत्याकाण्ड मच्चाएका थिए । हरेक बर्ष आउने दशैंपर्वको कालरात्री त्यो बर्ष बेनीबासीहरुका लागि साँच्चैको कालरात्री बनेको थियो । रक्तरञ्जित उक्त घटनाबाट बेनीबजारले शक्तिशाली पर्वत राज्यको समृद्ध राजधानीको गौरव सदाका लागि गुमाउनु परेको थियो ।

त्यो बर्बर युद्धको पराजयसँगै भाषा, साहित्य, उद्योगधन्दा र वन्दव्यापारमा पर्वतराज्यले गरेको अद्वितीय र अनुकरणीय प्रगतिको अन्त भएको थियो र पूरापूर दुई शताब्दीसम्म बेनीबजार गुमनामीको अँध्यारो गुफामा दफन्निएको थियो । भिषण बाढी, पहिरो र आगलागी जस्ता दैवी प्रकोपहरुबाट बेनीबजारको अस्तित्व नामेट पार्ने असफल प्रयत्न त धेरैचोटि भएहोलान् तर मान्छे मान्छेका बीचमा विगत दुई शताब्दीयताको अपेक्षाकृत लामो अवधिमा फेरि अर्को एक पटक उस्तै विभत्स मारकाट माओवादी आक्रमणले आमन्त्रण गरेको थियो । चैत्र ७ गतेको घटनाले त्यो दुईसय अठारबर्ष पुरानो भयावह र त्रासदीयुक्त नमिठो सम्झनालाई फेरि अर्को एकपटक ताजा बनाइदिएको थियो ।

निर्माण गर्नु गाह्रो हुन्छ । विध्वंश र विनाश गर्न सजिलै हुन्छ । माओवादीहरु विध्वंश मच्चाएर फर्के । बेनीले भने अपूरणीय क्षति ब्यहो¥यो । भविष्यमा फेरि कहिल्यै उठ्नै नसक्ने पो हो कि भनेझै गरी बेनी थला परेको अुनभूति हुन्थ्यो । बजारमा ठूलो नोक्सानी नभए पनि सरकारी भवनहरु आगजनी र बमबारीमा परेर ध्वस्त भएका थिए । खण्डहरमा रुपान्तरित भएका थिएन । झण्डै पाँच दशकमा तयार भएको सरकारी सेवाको एउटा बनिबनाउ ढाँचा समाप्त भएको थियो । डर र आङ्कको वातारण व्याप्त थियो ।

सरकारी सञ्चार माध्यमहरुले लासगन्तीका वाक्कलाग्दा समाचारहरु कानै टट्टाउने गरी सुनाउन थालेका थिए । लासगन्तीमा विपक्षीको संख्या जसरी पनि बढि देखाएर लडाईं आफूले जितेको आडम्बरी आत्मरतिमा विच्क्याहट लाग्ने गरी फुकिने विगुलका कर्कस आवाजहरुले पञ्चायतकालीन मतगणनाको बदनाम मण्डले प्रवृतिको झझल्को दिलाउँथे । धाँधलीयुक्त लासगन्तीका समाचारले जनमानसमा घृणा, वितृष्णा र अविश्वास उत्पन्न गरिरहेको थियो । सरकारी विवरणलाई समाजले साँचो मान्दैनथ्यो । मानसिकतामै अविश्वार थियो । सरकार सत्य बोल्दैन, ढाँट्छ भन्ने मान्यता स्थापित भैसकेको थियो ।

सरकारले समरविजयको डङ्का पिट्दै गर्दा उता बेनीबजारबासीका मन मस्तिष्कमा दशकौं दशकसम्म नमेटिने गरेर उक्त कालरात्रीको त्रासद सम्झनाले स्थायी बासस्थान बनाईसकेको थियो र बर्षौबर्षसम्म निद्रा तन्द्रामा तर्साउन नछोड्ने परिस्थिति बनेको थियो । भग्नावशेष बनेका सरकारी कार्यालय भवनहरु पुनर्निर्माण गरिएलान् । गरिने नै भए । विनासले नव निर्माणको ढोका खोल्छ भनिन्छ । बेनीबजार फेरि गुल्जार हुनु स्वभाविक भयो तर आफन्तजनका वियोगमा बगेका आँसुहरु थामिन सक्दैनथे । भग्न हृदयहरु कहिल्यै सम्हालिन सक्ने कुरा हुदैनथ्यो । आत्मीयजन गुमाउने हतभागीहरुको पीडाको घाउ जीवन पर्यन्त निको नहुने ‘उकुच’ पल्टनु स्वभाविक हुन्थ्यो ।

खसगरेर माओवादी विद्रोहसमनमा तत्कालीन शाही सेना मैदानमा उत्रेयता सुरक्षा प्रबन्धमा विशेष दृष्टि पु¥याउने कोसिस सरकारले गरेजस्तो देखाएको थियो । छोटो अवधिमा प्रहरीबल र सैनिक संख्यामा प्रशस्त बृद्धि गरिसकेको थियो । मारक हतियारको जोहो जुगाड गर्नमा पनि दिल खोलेर राष्ट्रिय ढुकुटी खर्चेकै थिजो । मित्रराष्ट्रहरुले पनि पर्याप्त सैनिक सहयोग उपलब्ध गराएर सुरक्षा संयन्त्रको उत्साह द्विगुणित गरिदिएका थिए । सबै सुरक्षासंयन्त्रहरु जिल्ला सदरमुकामहरुमा केन्द्रिंत गरिएका थिए । अर्थात सरकारले देश भनेको सदरमुकाम र ठूला शहरहरुलाई मात्रै बुझेजस्तो देखिन्थ्यो । जनता जनार्दन भाडमा जाउन्, जिल्ला सदरमुकामहरु सुरक्षित गर्नु मात्र सरकारले दायित्व सम्झेजस्तो लाग्दथ्यो । परिस्थिति यति गएगुज्रेको थियो कि सैनिक नेतृत्व एक्लैदुक्लै अथुङ्गेको देउरालीमा उक्लन सक्दैनथ्यो ।

दुई घण्टाभित्र देशको प्रत्येक कुनासम्म थप सुरक्षा सहयोग पु¥याउन सक्ने क्षमता दानदातव्यमा नै भएपनि सरकारले आर्जन गरिसकेको छ भनिन्थ्यो तापनि मुट्ठीभर माओवादीहरुले घुँयत्राको बलमा आँटेको ठाउँ र तोकेको समयमा भिषण आक्रमण गर्न र मनग्य क्षति पु¥याउन समर्थ बनिरहेको यथार्थले सरकारी बन्दोबस्तीको खिल्ली उडाएजस्तो लाग्थ्यो । सरकारी सुरक्षा प्रबन्ध किन असफल भैरकेको छ, भन्ने विषयमा तत्कालीन मध्यपृतनापति प्रकाशबहादुर बस्नेतले इमान्दार अभिव्यक्ति दिएका थिए । ‘स्थानीय बासिन्दाको सहयोग सेनालाई हुने हो भने यस्ता आक्रमण कहिँ हुनै सक्तैनन’ भन्ने उनको भनाई नेपाल समाचार पत्र, बर्ष–९, अंक–७३ मा सार्वजनिक भएको थियो ।

पृतनापतिको भनाई निरीह भएपनि बस्तुपरक थियो । जनताले सुरक्षा संयन्त्रलाई सहयोग नगरेको कुरा सोह्रै आना सत्य थियो र निकट भविष्यको वरपर सुरक्षा संयन्त्रले नागरिक सहयोग प्राप्त गर्ने सम्भावना बिल्कुल शून्य रहेको कुरा पनि उत्तिकै सत्य थियोे । नागरिक समाजले किन सहयोग गरेन भनेर बुझ्ने कोसिस गरिएको थिएन भन्ने कुरा पनि उत्तिकै साँचो थियो । वास्तविकतालाई गम्भिरतापूर्वक बुझ्ने कोशिस नगर्दासम्म समस्याको फलदायी समाधान फेला पार्न सम्भव थिएन । नाच्न नजान्न्ोलाई आँगन टेढो लाग्नु स्वभाविक थियो । असफलता छिपाउन अनेकन निहुँ र बहाना खोज्ने मान्छेमा जन्मजात प्रवृति हुन्छ ।

माओवादीहरुको शक्ति क्षीण भैसक्यो । अब मुलुकमा निर्विघ्न निर्वाचन सम्पन्न गर्न सकिने स्थिति सिर्जना भैसकेको छ भनेर सरकारले ढोल पिटिरहेकै बेलामा आफूहरु केन्द्रिकृत भीषण हमलाको तयारीमा रहेको जानकारी माओवादीहरुका तर्फबाट बारम्बार सार्वजनिक गरिँदै आएको थियो । जिल्ला सदरमुकाम हान्ने उनीहरुको बार्षिक कार्यतालिका अन्तर्गतकै अनिवार्य कार्यक्रम हुँदो होला । पूर्वमा भोजपुर हानीसकेका थिए । पश्चिममा म्याग्दी हाने । तर माओवादीहरुले भौगोलिक रुपमा निकै अपठ्यारो र सुरक्षा सैनिकको पनि निकै ठूलो संख्यामा उपस्थिति रहेको बेनीबजारलाई नै त्यतिबेला किन रोजे होलान् ? भन्ने जब्बर प्रश्न सबैको मनमा उठेको थियो ।

लडाईको सुरुवात अपेक्षाकृत सजिलो मोर्चाबाट गरिन्छ । एकैचोटि ठूलो र अप्ठेरो मोर्चामा हमला गर्ने जोखिम उठाईदैन । म्याग्दीको कुरा गर्ने हो भने सामन्ती पं्रवृत्तिका पञ्चहरुका टौवा पोलेर र तरकारीबारी विध्वंश गरेर माओवादी आन्दोलन सुरु भएको थियो । त्यस्तो कुन विशिष्ट कारण थियो जस्ले मोवादीहरुलाई अपेक्षाकृत ठूलो खतरा मोल्न प्रेरित ग¥यो होला ?! भनेजस्ता प्रश्नहरुले मलाई जस्तै अरु धेरैलाई झकझकाएको हुनपर्छ । माओवादीको आन्तरिक कुरा अरुलाई थाहा हुने विषय परेन । बेनीलाई आफ्नो आक्रमणको लक्षकेन्द्र बनाउनु पर्ने उनीहरुको आफ्नै विश्लेषण थियो होला । उनीहरुको उद्देश्य र लक्ष त्यो आक्रमणबाट पूरा भयो वा भएन तर विशुद्ध पर्यवेक्षकीय दृष्टिले हेर्दा त्यसले समाजमा केही महत्वपूर्ण प्रभाव र असर भने छोडेको थियो जस्तो लाग्छ ।

त्यही वर्ष राजाको मध्यपश्चिम भ्रमण निर्विघ्न सम्पन्न भएको थियो । त्यसलाई सरकारले सुरक्षा प्रबन्धको सफलता र माओवादीहरुको शक्ति क्षयको रुपमा परिभाषित गरेको हुँदो हो । शाही भ्रमण खिचोल्ने काममा माओवादीहरुले आफ्नो क्षमता अनुरुपको सम्पूर्ण कोसिस नगरेको अनुभव आम नागरिकहरुले समेत गरेका थिए । आम नागरिकहरु शान्तिको पक्षमा हुने नै भए । भ्रमणमा निस्केका राजाले जनभावनाको कदर गर्नेछन् भन्ने अपेक्षा नागरिक समाजले गरेको थियो । माओवादीहरुले पनि राजाबाट शान्ति सुलहको पहल हुने आशा गरेका थिए कि ? भ्रमणपछि त्यस्तो लक्षण देखिएको थिएन । त्यसैले पश्चिामाञ्चलको शाही भ्रमणको पूर्व बेलामा त्यही क्षेत्रमा आफ्नो शक्तिको जवर्जस्त प्रदर्शन गर्ने योजना माओवादीको हुनसक्थ्यो । हतियारको बलमा माओवादीहरुलाई समाप्त गर्न सकिन्छ भन्ने मान्यतामा पुनर्विचार गर्नुपर्ने सन्देश दरबारसम्म सम्पे्रषण गर्ने उद्देश्य हुनसक्थ्यो ।

त्यसपूर्व माओवादीको आक्रमणबाट भोजपुरमा ठूलो क्षति पुगेकै थियो । सुरक्षा संयन्त्रको लाजमर्दो असफलता दोहोरिएको थियो र पनि सरकारकातर्फबाट स्वीकार्ने इमान्दारिता देखाइएको थिएन । सैनिकहरुको उपस्थिति कम रहेको मौका छोपेर आक्रमण गरिएको हुनाले माओवादीहरुले सदरमुकाममा भौतिक क्षति पु¥याउने सफलता पाएका हुन् भनेर आफ्नो कमजोरी र असफलता ढाकछोप गर्ने लाजमर्दो प्रयत्न गरिएको थियो । त्यसको जवाफ दिन प्रहरीबलका साथै सिंङ्गो गणको सशक्त सैनिक उपस्थिति रहेको बेनीलाई आक्रमणको निशाना बनाईएको होला भन्ने अनुमान गर्न सकिन्थ्यो । माओवादीहारुको उद्देश्य जे रहेको भएता पनि त्यो घटनाले सरकारलाई फेरि एकचोटि लगौटींविहीन बनाईदिएको थियो भन्नु बढता हुँदैनथ्यो ।

म्याग्दी बौद्धिक गतिविधिमा निकै पिछडिएको ठाउँ हो । अपेक्षाकृत अलि सचेत समाज बेनी बजारमै थियो भन्नुपर्छ । तर त्यो निरीह र दासमनोवृत्तिग्रस्त थियो । दोरम्बा र भिमान काण्ड भन्दा पनि विभत्स र जघन्य हत्याकाण्डहरु म्याग्दीमा घटाइएका थिए । बेनीको समाज भने मानवाधिकार उल्लंङ्घनका घटनाहरु आफ्नो वरिपरि देखेर पनि नदेखे झैं गरी मुखमा पिंडालु राखेर चुप बस्थ्यो । समाजमा सुरक्षा संयन्त्रको त्रास यति भयङ्कर थियो कि रेडक्रस र विभिन्न मानवाधिकारवादी संघ संस्थाका साईनबोर्डहरु बजारभरि टाँगिएका थिए तर नागरिकका नैसर्गिक हक अधिकारहरुको निर्लज्ज उल्लंङ्घनका अन्यायपूर्ण घटनाहरु टुलुटुलु हेरेर बस्न अभ्यस्त बनिसकेका थिए ।

मओवादी आक्रमणले बजारको, खासगरेर, सरकारी भौतिक संरचनाहरुमा ठूलो क्षति पु¥याए पनि केही सकारात्मक सन्देश भने प्रवाह गरेको थियो । भक्षाभक्ष सेवन गरेको अवसरमा ठाउँ कुठाउँ माओवादीलाई निमिट्यान्न पार्ने दम्भ गर्दै हिड्ने तत्कालीन सैनिक नेतृत्व र उनको छहारीका रहेर वैधअवैध धन्दामा संलग्न रहनेहरुलाई चेतावनी दिन सफल भएको थियो । आफ्नै पूर्व कालाकर्तुतका कारणले माओवादीहरुसँग तर्सेर सदरमुकामको शरण लिएका र पार्टीका तर्फबाट बारम्बार गाउँ फर्कन आव्हान गर्दा पनि सेनाको बलियो उपस्थिति रहेको बेनीबजारलाई सुरक्षित आश्रयस्थल ठानेर अवज्ञा गर्नेहरुलाई उनीहरुको सुरक्षा छाता कति कमजोर छ भनेर प्रमाणित गरी देखाई दिन पनि बेनी आक्रमण सफल भएको थियो भन्नु अतिशयोक्ति ठहर्दैनथ्यो । मालिका प्रेस साप्ताहिक पत्रिकाबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार