प्रदेशस्तरीय ठेलो प्रतियोगिताको उपाधि पर्वतलाई

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । दोस्रो गण्डकी प्रदेशस्तरीय परम्परागत खुल्ला ठेलो (छेलो) प्रतियोगिताको उपाधि पर्वतले जितेको छ । गण्डकी प्रदेश खेलकुद परिषद आयोजना र जिल्ला खेलकुद विकास समितिको समन्वयमा शनिबार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न प्रतियोगितामा पर्वतका किरण विक प्रथम, पर्वतकै राजेन्द्र हमाल द्वितीय र निशान बोहोरा तृतीय हुनुभएको हो ।

म्याग्दी, पर्वत र बागलुङका ११ जना प्रतियोगी सहभागी रहेको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने तीनै जनालाई क्रमश २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । उपाधि विजेतालाई बेनी नगरपालिकाका मेयर सुरत केसी, प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशका सदस्य एवं प्रतियोगिता संयोजक योगेन्द्र शेरचन र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीलगायतले विजेताहरुलाई पुरस्कार वितरण गर्नुभयो ।

गुरगुरे ठेलो प्रतियोगितामा प्रथम हुने विकले १४.८, द्वितीय हुने हमालले १३.९७, तृतीय हुने बोहोराले १२.८२ मिटर टाढा फाल्न सफल हुनुभएको थियो । पुराना खेलको संरक्षणकै म्याग्दीमा ठेलो फाल्ने प्रतियोगिताको आयोजना गरिएको प्रदेश खेलकुद परिषद्का सदस्य तथा प्रतियोगिताका संयोजक शेरचनले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार