म्याग्दी । कुरो २०५७ विक्रमको कार्तिक महिनाको हो । विजया दशमीको शुभसाईत जुराएर बेनीबजारमा पनि सैनिक टुकडी तैनाथ गरिएको थियो । यतिखेर त हरेक जिल्लामा कमसेकम एक एकवटा सैनिक क्याम्पहरु स्थापित छन् । उतिखेर त्यस्तो थिएन । त्यतिखेरका लागि सैनिक टुकडी जिल्ला सदरमुकामको वरिपरि अस्थायी रुपमा स्थापना हुनु समाचार बन्थ्यो । त्यसैले बेनीमा सैनिकक्याम्प बस्यो रे भन्ने कुरा त्यतिखेरका लागि एउटा जनचासोको समाचार बनेको थियो ।
राज्यले सेना कुन प्रयोजनका लागि पाल्छ भनेर बहस विवाद गर्नु निरर्थक हुन्छ । सामान्यतः हरेक राज्यको शिलान्यासमा सेनाको भूमिका रहेको हुन्छ भन्दा फरक पर्दैन । राज्यको स्थापना पछि त्यसको अविछिन्न संरक्षणको प्रत्याभूतिको निमित्त सेनाको अनिवार्य निरन्तरता आवश्यक पर्छ भन्ने मान्यता पुरानै हो । जापान र स्वीजल्र्याण्ड त्यसको अपवाद देखिनुमा विशेष परिस्थितिको विशिष्ट भूमिका रहेको कुरा इतिहासको गर्भमा सुरक्षित छ । जापानको नियति इतिहासको कुनै कालखण्डमा पनि नेपालले भोग्नु परेको होइन ।
स्वीजल्र्याण्डको जस्तो परिस्थिति पनि हाम्रोमा कहिल्यै उपस्थित भएन । जुनबेलादेखि विश्व मानचित्रमा नेपाल नामको राज्य अस्तित्वमा आयो त्यतिबेलादेखि नै स्वभावतः सानो ठूलो संख्यामा सेना रहँदै आयो होला । त्यसैले राज्य सीमाभित्रको जुनसुकै ठाउँमा जुनसुकै बेला सेनाको उपस्थिति हुनु स्वभाविक हो । सामान्यतः मुलुकको सीमाभित्रको कुनै पनि सेनाको निमित्त वर्जित हुन सक्दैन । सेना कुन ठाउँमा बस्नु हुन्छ र कहाँ बस्नु हुँदैन भनेर बहस गर्न मिल्दैन । तर सेनाको उपयोग कुन परिस्थितिमा, कुन प्रयोजनका लागि, कुन स्थानमा गर्ने भन्ने कुरामा भने बहस विवाद हुन सक्छ ।
सुगौली सन्धीयता नेपालीसेना सेतो हात्तिको रुपमा रहेको छ भन्नु अलि बढतै ठहर्ला । तर नितान्त राष्ट्रिय सन्दर्भमा हेर्ने हो भने यो कालखण्डमा सम्भावित ‘खम्पा विद्रा्रेह’को नियन्त्रणभन्दा अर्को उल्लेखनीय कार्य हाम्रो सेनाको हातबाट भएको छैन भन्नु पनि बढ्ता हुदैन । यसो भनिरहँदा कसैले आत्मग्लानी वा मानहानीको अनुभूति गर्नु पर्दैन । किनकी सेना राज्यद्वारा उपयुक्त अवसरमा उपयोग गरिने एउटा साधन हो । जगेडा हतियार हो । सेना उपयोगको आवश्यकता राज्यले महसुस नगरेसम्म ‘भण्डारमा थन्काईएको हतियार’ मात्रै हो सेना । अर्थात सेना बारुद जस्तो विष्फोटक पदार्थ हो, जसलाई सामान्य स्थितिमा चलाउने गरिदैन । विष्फोटन ध्वंश र विनासको पर्याय हो । तर ध्वंश, विनाशको निमित्त होईन निर्माणका निमित्त हुनुपर्छ । नेपाली सेनाको सन्दर्भमा राज्यले सेना उपयोगको आवश्यकता देखेन वा सेनाको सिर्जनात्मक उपयोग गर्न जानेन होला । त्यसैले देशको यति ठूलो श्रमशक्ति लामो अवधिसम्म निस्क्रिय रहन गएको होे । सामान्य नागरिकले व्यक्त गर्न सक्ने अभिमत यति मात्रै हो ।
त्यतिखेर माओवादी शसस्त्र विद्रोहमा थियो । व्यवस्था परिवर्तनका लागि हतियार उठाएको थियो । पुलिसबल माओवादी विद्रोह समन गर्न असफल भएपछि राज्यसत्ताद्वारा सेना परिचालन गरिनु पर्छ ÷पर्दैन भन्ने बहस सुरु हुन थालेको थियो । गिरिजा कोइरालाले दोश्रोपटक सरकारको बागडोर सम्हालेदेखि नै त्यस्तो मनसाय प्रकट गर्दैआएका थिए । तर कहाँनेर के तारतम्य मिलेन कुन्नि उनको मनोकांक्षा सरलै पुरा हुन सकेको थिएन । सरकारले चाहेर पनि सेना परिचालित नहँुदो रहेछ भनेजस्तो परिस्थिति देखिएको थियो । होलेरीकाण्डपछि तत्कालीन सरकारले त्यस्तो कोसिस गरेको हो तर सफल भएन । दरबारबाट स्वीकृति मिलेन भनियो ।
सिद्धान्ततः सेना सरकारको मातहतमा रहनु पर्छ भन्ने कुरामा दुईमत हुन सक्दैनथ्यो तापनि सरकारप्रमुखको चाहनामा सेना परिचालित हुन सकेन । जनताद्वारा चुनिएको सरकार वास्तवमा कामचलाउ मात्र हो भन्ने कुरा पनि सत्य होइन । तर त्यतिखेरको सरकार “श्री ५ को सरकार” भनिन्थ्यो । अर्थात जनताले चुनेको भए पनि त्यो सरकार राजाको थियो । अलि शालीन भाषामा भन्ने हो भने त्यो सरकार “राजासहित” को सरकार थियो । सरकारमा राजाको पनि हिस्सेदारी थियो । सेनाका परमाधिपति राजा थिए । परमाधिपतिको इच्छाबिना सेना चलाउन सकिने कुरा भएन ।
२०५७ सम्म आइपुग्दा राजसंस्था पनि सेना परिचालन गर्नुपर्ने कुरामा सहमत भएको थियो । दर्जनौं ठाउँमा देशको सीमा मिचिदा प्रयोग हुन नसकेको सेना ‘माओवादी’को विरुद्धमा प्रयोग हुन लागेको थियो । त्यतिबेलाको तितो यथार्थ थियो त्यो । ‘दाजुलाई सक्दिन भाउजुलाई राख्दिन’ भनेजस्तो परिस्थिति उत्पन्न भएको थियो । सीमा मिचिए पनि टुलुटुलु हेरर बस्न राज्य विवश थियो । किनकि मिचाहा छिमेकीसँग भिडिने तागत आफूसँग थिएन । माओवादी पार्टी स्वयंले सार्वजनिक रुपमा ‘उनीहरुको (जनताको) अन्तिम र निर्णायक युद्ध सेनासँगै हुनेछ’ भनेकै थिए । सत्ताको अन्तिम अस्त्र सेना हो । युद्धको मोर्चा सेनाले सम्हाल्नु पर्ने परिस्थिति उत्पन्न हुनु भनेको निर्णायक युद्धको क्षण उपस्थित भैसकेछ भनेर स्वीकार गर्नु थियो । युद्धले जनतामाथि विजय प्राप्त गर्न सक्दैन । त्यस्तो इतिहासै छैन । तैपनि माओावदीले दावी गरेजस्तो त्यो युद्ध साँचै जनयुद्ध नै थियो भने अन्तिम विजय जनताको नै हुनेछ भनेर मान्नैपथ्र्यो । अर्थात नेपाली सेना युद्ध हार्नका लागि मैदानमा उत्रन बाध्य बनेको थियो ।
सरकारले निर्णय लियो । सेना परिचालित भयो । स्वभावतः बेनीबजारको सर्वाधिक व्यस्त स्थानमा सैनिक टुकडी तैनाथ गरियो । बजारको मुटुमा सेनाको छाउनी राखेको उदाहरण बिरलै पाईएला । पुलिसबल सदरमुकाममा कुथुर्किएको थियो । सेना पनि शहरबजारभन्दा पर बस्ने हिम्मत गर्दैनथ्यो । त्यसैले म्याग्दीमा तैनाथ सेना बजार वरिपरि बस्नु स्वाभाविक भयो । विशेष घटनाले सबैको ध्यानाकर्षण गर्छ । क्रिया प्रतिक्रियाहरु उत्पन्न हुन्छन । सेनाको टुकडी बजारभित्रै बस्ने विशिष्ट घटनाले बेनी बजारबासीलाई भयाक्रान्त बनाएको थियो । त्यतिखेर भर्खरै माओवादीले डोल्पाको सदरमुकाम दुनैमा हमला गरेका थिए । दुनैको घटनाबाट बेनीबजार धेरथोर प्रभावित भएको थियो । शान्तिसुरक्षाको जिम्मा लिनेहरुको निँद हराम भएको थियो । वित्तीय संस्थामा कार्यरत हाकिमहरु पनि आतंङ्कित थिए । माओवादीको नजरमा आफू अपराधीको रुपमा रहेको सम्झनेहरुलाई पनि मनको बाघले राम्रोसँग चिथोरिरहेको थियो । आम नागरिकले भने दुनैेको घटना विवरण एउटा कानले सुनेर अर्को कानबाट उडाई सकेका थिए ।
सुरक्षाको जिम्मा शाहीसेनाले लिईदिएपछि शान्तिसुरक्षाको जिम्मा लिने जिल्ला हाकिमहरुलाई हाइसञ्चो लाग्ने नै भो । माओवादीका तर्फबाट हुन सक्ने ज्यानमारा हमलाको सम्भावित खतराबाट पूर्ण मूक्तिको अनुभूति भएको थियोहोला । बिचराहरुको निद्रा अर्धरात्रीमा भङ्ग हुन छोडेको थियोहोला । वित्तीय संस्थाका कर्मचारीको हातबाट सेफको साँचो खोसिने खतरा पनि टरेको अनुभूति गरिएको थियो होला । स्वअपराधबोध ग्रंसित जाली फटाहाहरु पनि चैनको निँद सुत्न पाएका थिए होलान् तर आम नागरिकको अनुभूति र आशंका भने विल्कुल भिन्न थियो । लाश जलाउने परम्परागत घाटतर्फ जाने बाटो रुँगेर बसेको सैनिकदस्ता देख्दा आम जनतामा सम्भावित दुर्घटनाको आशंका उत्पन्न हुनु स्वाभाविकै थियोे । मलामीबाट फर्कँदा माओवादीको नाममा तातोपानीको मध्यबजारमा विनोद केसीको अनाहकमा ज्यान गएको धेरै समय बितेको थिएन । त्यो विभत्स हत्याकाण्ड मानिसहरुको स्मरणबाट लुप्त भैसकेको थिएन । कालले साईत र घत हेर्दैन भनिन्छ । हिजो पुलिसको गोली निर्दोष विनोदले खायो । भोली सेनाको गोलीको शिकार अरु थप विनोदहरु नहोलान् भनेर कसरी विश्वास गर्न सकिन्थ्यो र ?
जनताको मनको आशंका पुष्टि हुन धेरै दिन कुर्नु परेन । मुलुकमा संकटकालको घोषणा भएपछि दिनानुदिन मानिसहरु मारिने क्रम बढेर गयो । बेनीबजारमा मात्रै पनि निकै निर्दोष नागरिकहरुको ज्यान गयो । जीन्दगीभर भारी बोकेर जीवन निर्वाह गर्दै आएको ‘लाटो छन्त्याल’ मारियो । घरफर्कदै गर्दाको कृषि विकास बैंकको पियन ‘देवी’ ले गोली खायो । मानसिक सन्तुलन गुमाएको मल्लाजी ठिटोलाई मध्य दिनको उज्यालोमा बेनीको बीचबजारमा ढालियो । खानेपानी संस्थानको पियन कृष्णले विनासित्तिमा मृत्युदण्ड भोग्यो । विश्वकर्मा वम्बुदाईलाई असहनीय पुत्रशोक ब्यहोर्नु प¥यो । दर्जी रामेदाईको कान्छो छोरा पनि अनाहकमा मारियो । पुरुण्डीका सल्लारुखे दमाई काकाको छोरासँगै एकैचिहान भयो । भेष जस्ता चिचिला नागरिकहरु कारागारबाट रातमा निकालेर नक्कली मुठभेटको नाममा मारिए । यो त बेनीबजारको सानो परिधिभित्रको अन्यायपूर्ण मानव हत्याको विवरणको सानू नमुना थियोे । नागरिकहरुले त्यस अवधिमा भोगे सहेको शारीरिक मानसिक यातनाका घटनाहरुको सूचि त कति लामो थियो, थियो ।
म्याग्दीमा सेनाको टुकडी रहनथालेपछिका सात वर्षसम्म लडाईँ जारी रह्यो । दिनहुँजस्तो कथित मुठभेटमा यति वा उति ‘आतंककारी’ मारिए भनेर टीभी र रेडियोले सगौरव समाचार प्रसारण गर्नेगर्थे । जति जति मान्छेहरु मारिँदै थिए, त्यति नै बढि आपसी मतभेद र शत्रुताको सामाजिक घाऊहरु गहिरिँदै गएका थिए । लडाईँ जित्ने एक सुत्रे लहडमा पाण्डवहरुले जस्तै सारा नाताकुटुम्ब, इष्टमित्र, सन्तान, सन्तति गुमाएर फगत एकलकाँटे रहने बेलासम्म सत्तासीनहरुको चेत नखुल्ने पो हो कि जस्तो लाग्न थालेको थियो । महाभारत युद्धमा त हतियार बोकेर कुरुक्षेत्रमा जानेहरु मात्रै मारिएका थिए । नेपालमा चलेको गृहयुद्धमा हलो कोदालो बोकेर खेततर्फ हिँडेको किसान बाटैमा मारिएको थियो । पूजा गर्न मन्दिर गएको धर्मभिरु मन्दिरहातामै मारिएको थियो । पुस्तक समातेर स्कुल जान हिँडेको विद्यार्थी आधाबाटो मै मरेको थियो । पढाउने गुरुहरु स्कुल प्राङ्गणमै ढालिएका थिए । घाँस दाउरा गर्ने दिदीबहिनीहरु वनमै मारिएका थिए । हतियार बोक्नेहरुले बम, गोला, बारुद, बन्दुक दागिरहेका थिए, निहत्थाहरु मरिरहेका थिए् ।
नेपाल हिन्दु धर्मालम्बीहरुको बाहुल्यता रहेको देश हो । सर्वाधिक चाडपर्व र देवी देवता मान्ने परम्परा हिन्दुहरुको छ । भिन्न भिन्न चाडपर्वहरुको आ–आफ्नै अलग अलग परम्परा र महत्व रहेको छ । तिहार, दशै, तीजजस्ता पर्वहरुमा मानिसहरु इष्टमित्र आफन्तकोमा आउजाउ गर्ने पर्म्परा छ । घोषित युद्धकालमा दिदीबहिनीहरुलाई बोलाउन हिँडेको भाइ कथित दोहोरो भिडन्तमा मारिएर ‘आतंकवादी’ घोषित भए पनि आश्चर्य मान्नु पदैनथ्यो । माईती जान हिँडेकी चेली पुलिस कस्टडी वा कारागारमै पुग्न सक्थिन । सुरक्षा संयन्त्रले मुलुकका सम्पूर्ण नागरिकको अनुहारमा माओवादीको छायाँ देख्न थालेको थियो । सुरक्षा निकायसम्बद्ध जवानहरुका आफन्तहरु छोरी चेली बोलाउन हिँड्दा माओवादी विद्रोहीहरुको अपहरणमा पर्न सक्थे । सेना र पुलिसको जागिरमा रहेछन् भने त यमपुरी नै पनि पुग्न सक्थे । मोबाईल फोन बोकेर बेनीबाट पोखरा जान हिँडेको मेरो छोरालाई कर्डलेस र मोबाइल फोन छुट्ट्याउन नसक्ने सैनिक अधिकारीहरुको अविवेक र असक्षमताको कारणले तीन तीन घण्टा सैनिक व्यारेकमा टङ्चिनु परेको थियो । स्याटेलाईट फोन प्रयोग गर्न थालेका माओवादीहरुसँग लड्नुपर्ने सैनिक अधिकारीहरुको प्राविधिक ज्ञान कति दया लाग्दो रहेछ भन्ने कुराको गतिलो उदाहरण थियो त्यो । सैनिकको जागिर गर्नेहरु कोही हप्ताभरकोे छुट्टी लिएर घरमा आउन सक्तैनथे ।
अठार दिनसम्म चलेको महाभारयुद्धमा कौरवकुलको विनास भयो । लडाई पाण्डवहरुले जिते । स्वभावतः हस्तिनापुरको राजसिंहासन विजयी पाण्डवलाई प्राप्त भयो । युद्धमा पाँच भाई पाण्डव मृत्युको मुखबाट उम्के पनि धृटराष्ट्रका सयभाई छोराहरुको कुरुक्षेत्रको मैदानमा एकै चिहान भएथ्यो । मारिने कौरवहरु त मरिगए, विजयी पाण्डवहरुको स्वागत सत्कार गर्ने हस्तिनापुरमा एउटा पनि लोग्नेमान्छे बचेको थिएन रे । इष्टमित्रहरु सबै नामेट भएका थिए । मन्त्री, भारदार र सैनिकहरुको भुत्लो बाँकी बचेको थिएन रे । हस्तिनापुरमा रुँदै कराउँदै गरेका बुढाबुढी, केटाकेटी र महिलाहरु मात्र बाँकी थिए रे । कुरुक्षेत्रबाट हस्तिनापुरतर्फ लागेका पाण्डवहरुको स्वागतमा फूलमाला अबिर लिएर उभिने कोही भएनथ्यो रे । दरवारमा प्रवेश गर्दा जयजयकार गर्ने सिपाही र भारदारहरुको सट्टामा हाहाकार गरिरहेको आइमाई केटाकेटीहरुको विशाल जमातको अलाप विलाप र करुणक्रन्दन मात्रै सुनिन्थ्यो रे । नेपालमा पनि जनयुद्धकालमा नेपालीहरु पनि पाण्डवहरुले जस्तो बन्धु विनाशक लडाईँमा सामेल भएका पो हुन् कि भनेजस्तो वातावरण बन्दै गएको थियो ।
स्कुले विद्यार्थीहरु मारिए, हली गोठालाहरु मारिए, गाउँका ठालुहरु मारिए, खेतालाहरु मारिए, स्कुलका शिक्षकहरु माारिए, माओवादी मारिए, सुराकीहरु मारिए, सेना र पुलिसहरु मारिनु त स्वभाविक भयो । सेना परिचालनपछिका सात वर्ष देश र समाजका लागि साच्चैका महाकाल भएर गुज्रिए । रोक्न त नसकिने रहेछ, त्यस्ता दिनहरु फेरि फर्केर नआउन् भनेर कामना गर्नुभन्दा बढी गर्न पो के सकिन्छ र ? हतियार उठाउन माओवादी नै हुनुपर्दैन । अरुले पनि उठाउँछन् । मानव समाजको इतिहासले त्यही कथा भन्छ । हतियारहरु बाध्यताले उठ्छन् भनिन्छ । हतियारै उठाउनुपर्ने बाध्यता कसैले कसैका लागि सिर्जना नगरोस् । बस. भन्न सकिने, कामना गर्न सकिने कुरा यति मात्रै हो । मालिका प्रेस साप्ताहिकबाट