घरजुवाइँलाई खानकै धन्दा

  चन्द्रप्रकाश बानियाँ

म्याग्दी । २०५१ को मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार पतन भएपछि नेपालको राजनीतिमा संसदीय व्यवस्थाको सबभन्दा कुरुप चरित्रको प्रदर्शन भएको थियो । १७ भाई राप्रपाका नेताहरुले एमाले र काँग्रेसलाई यसरी नचाएका थिए कि काँध गनाउने गरी घरी एउटाले चन्दलाई बोकेको छ घरी अर्कोले सूर्यलाई कन्नरकुटी हालेर नचाएको छ । पजेरो, सुरा, सुन्दरी र सांसदहरुको बैंकक शयर त्यतिबेलाका चर्चित घटनाहरु हुन् । संसदीय प्रणालीको कालो इतिहास नै बनेको छ त्यो अवधि । कुरो २०५५ सालको हो, सूर्यबहादुरको सरकार ढलेको थियो । यद्यपि सूर्यबहादुरलाई बोक्ने काँग्रेस थियो । सत्तालोलुपतामा फसेको एमालेले अर्को छक्का दाउ हान्यो र काँग्रेसलाई समर्थन दिने भयो । दोश्रो ठूलो दल एमालेको साथ र समर्थन पाउने भएपछि काँग्रेसको भूईमा खुट्टा रहेन ।

एमालेले छरेको चारो कुटनीतिक दाउ थियोे, भविष्यमा काँग्रेसलाई झन कमजोर बनाउने जाल थियो भन्ने कुरा उसले बुझेन । उसको त्यो चर्तिकलाले “राणाजीको भाले” को कथाको सम्झना गराउँथ्यो ।

मैले केटाकेटीमै सुनेको राणाजीको भालेको कथासार थियाः मुलुक र जनताको शोषणबाट अकुत सम्पत्ति थुपारेका राणाजीहरुले किसिम किसिमका शोखहरु पालेका हुन्थे रे ! त्यस्तै सनकी शोखमध्येको एउटा हो “भाले जुधाई” । कुखुराको भालेलाई सयौं कुुराको मासु खुवाएर पाल्ने र तीनै हृष्टपुष्ट भालेहरुलाई एकापसमा लडाएर आनन्द लिने गर्थे रे ।

जब कुखुराका भालेहरु आपसमा लडेर रक्ताम्मे हुन्थे, मरणाशन्न हुन्थे, राणाजीहरुको रक्तपिपासु ह्रिँसक आत्मा सन्तुष्ट हुन्थ्यो रे र भरे साँझ विदेशी रक्सीको स्वादिष्ट सितन बन्थ्यो सबभन्दा बलियो ठहरेको भालेको परिकार ! बिचरा कुखुराहरुलाई के थाहा उनीहरुलाई दिनदिनै प्राप्त हुने स्वजातिवन्धुहरुको मांसाहारको रहस्य ? उनीहरुको शरीर जति जति मोटो र बलियो हुँदै जान्थ्यो, त्यत्ति नै मृत्यु उनीहरुको नजिक नजिक आईरहेको हुन्थ्यो । यो तथ्यबाट पुरै अनविज्ञ अनजान बिचरा कुखुराका भालेहरु मन्द विषरुपी पोषिला चाराका दानाहरु खपाखप निलिदिन्थे र मृत्युलाई निम्त्याउँथे” ।

सायद त्यतिबेला गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको नेपाली काँग्रेस पनि राणाजीले पालेको निरीह र अबोध भाले जस्तै भएको थियो र एमालेद्वारा छरिएका विषालु गोलीहरु आनन्द मानी मानी खुरु खुरु निलिरहेको थियो । फरक यति मात्र थियो कि राणाजीले पालेको भालेको प्रतिद्वन्दी अर्को कुखुराकै भाले हुन्थ्यो भने नेपाली काँग्रेसको प्रतिद्वन्दी भने उसलाई प्रेमपूर्वक पोषिलो चारो खुवाईरहेको अर्को पार्टी एमाले नै थियोे ।

आफूले छरेको कूटचारोले काँग्रेसको सत्ताको भोक त केही कालको लागि शान्त हुन्छ होला तर काँग्रेसलाई बलियो त किमार्थ बनाउँदैन भन्ने एमालेको अनुमान थियो । म ताक्छु मुढो बञ्चरो ताक्छ घुँडो भनेजस्तो भयो । काँग्रेसलाई लोप्पा खुवाउँछु भनेर सत्तारुढ भएको एमाले निर्वाचनमा आफै उत्तानाटाङ लगाउन पुग्यो । एमालेले काँग्रेसलाई हातभरी पाप राखिदिएपछि दङ्ग परेकी लाटी सम्झेको थियो ।

सूर्यबहादुरको पतनपछि काँग्रेसलाई समर्थन गरेर सत्तासाझेदारी गर्न एमाले उत्ताउलिनुको कारण संसदीय निर्वाचनमा काँग्रेसलाई लुलो पाडोलाई झै पछार्न सकिन्छ भन्ने अनुमान थियो । परिणाम उल्टो आयो । काँग्रेसले २०५६ को आम निर्वाचनमा फेरि दोश्रोपटक पूर्ण बहुमत पायो । एमालेको हविगत चौटा खान खोज्दा झोलमा डूबेर ज्यान जाने भनेजस्तो भएको थियो ।

गाइले दाम्लो चुडाउने अवसर पायो भने आफ्नै बाच्छीको टाट्नाको घाँसपराल सबै खाईदिन्छ । उसले बाच्छीलाई माया गर्दैन भन्ने त होइन नी ! तर उसको मायामा विवेकको अंश अपेक्षाकृत कम हुन्छ । त्यसैले आपूmले घाँसपराल खाइदिँदा बाच्छी भोकै पर्छ भन्ने सहज ज्ञान गाइमा हुँदैन । भनिन्छ सर्पको मुखमा परिसकेको भ्यागुताले किराफटेङ्ग्रा देख्दा मुख बाउँछ रे ! उसले आफू मृत्युको मुखमा परिसकेको कुरा मर्लक्क बिर्सन्छ रे । अर्थात स्वार्थले हरेक जीवात्मालाई विवेकशून्य बनाईदिन्छ ।

जीवजगतमा सर्वाधिक विवेकशील प्राणी मान्छे हो । कहिले काहीँ मान्छे पनि विवेकशून्य देखिन जान्छ । यस्तै हो, यो विवेक भन्ने वस्तु खर्चगर्नु पर्दा अलिकता बुद्धि पु¥याउनु पर्ने हुन्छ । सोचविचार गर्नु पर्ने हुन्छ । एकछिन निधार खुम्चयाउनै पर्छ । विवेकको समुचित प्रयोग बिना गरिएको काम पशुवत नभैहाले पनि राम्रो भने हुन सक्तैन नै । सकभर त मान्छेले हरेक कामकुरा गर्दा आपूmसँग रहेको बुद्धि, विवेक र ज्ञानको सम्पूर्ण उपयोग गर्दछ । हतारमा कुनै काम गर्नुपर्दा मान्छेले कहिले काहीँ विवेक नगुमाईहाले पनि बुद्धि भने पु¥याउँदैन ।

अर्थात मान्छेले विवेक प्रयोग बिना गरेको काम अवचेतन अवस्थाको स्वतस्फूर्त अभिव्यक्ति हुने हुनाले संस्कारगत रुपमा उसको मन मष्तिस्कमा जुनकुरा गढेर रहेको हुन्छ, त्योे अनायासै सार्वजनिक भैदिन्छ । अझ यसो भन्न सकिन्छ कि कुनै नशालु पदार्थ सेवन गरेको बेलामा मान्छेले उट्पट्याङ कामहरु गर्छ । गर्न नहुने काम पनि गर्छ । बोल्न नहुने कुरा पनि बोलिदिन्छ । किनकि उसको व्यवहार लगामबिनाको घोडा जस्तो भएको हुन्छ । नशाले विवेकरुपी लगाम फितलो र खुकुलो बनाई दिएको हुन्छ ।

नशा भन्ने कुरा लागु पदार्थको मात्र होइन, अरु कुराको पनि लाग्ने गर्छ । धनको नशा, बलको नशा, सत्ताको नशा, रुपको नशा आदि ईत्यादि । नशा जुनसुकै प्रकारको भए पनि आखिर नशै हो । नशाले मान्छेको विवेक नष्ट गरिदिन्छ । विवेक हराएको मान्छे निर्लज्ज हुन्छ । निल्र्लज्जता विवेकहिनताको अब्बल उदाहरण हो ।

कुरो २०५८ सालको हो । दशैंले भर्खर हिन्दूहरुका घरघरबाट अर्को वर्ष आउने गरी बिदा लिएको थियो । विपी कोइरालाबाट नेपाली काँग्रेसले विरासतमा पाएको कथित ‘चिया पान’ कार्यक्रमको नक्कल २÷४ बर्ष यता नेकपा एमालेले पनि गर्न थालेको थियो । जोसँग सिर्जनात्मक सोच हुँदैन उसले अरुको नक्कल गर्ने न हो । आफूसँग रहेको खुबी र हुती अनुसारको काम गरेर देखाउने हो मान्छेले । एमालेले त्यस बर्ष काँग्रेसको भन्दा पनि भव्यताका साथ चियापान कार्यक्रम सम्पन्न ग¥यो । काँग्रेसभन्दा अब्बल छु भनेर देखाउने साधन सायद एमालेले चियापानको आयोजनालाई ठानेको हँुदो हो । नीति, कार्यक्रम, कार्यशैलीमा अब्बल ठहर्ने कुरा परै रहोस्, भाइ काँग्रेसको रुपमा स्थापित भैसकेकै थियो ।

नक्कल गर्नु सजिलो कुरा होइन । एकपटक प्रसिद्ध हाँस्यकलाकार चार्ली च्याप्लिनको अनुकरण अभिनयको प्रतियोगिताको आयोजना भएछ रे । स्वयम् चार्ली च्याप्लिनले पनि भेष बदलेर प्रतियोगितामा भाग लिएछन् । परिणाम आउँदा उनी दोश्रो ठहरेछन् । अर्थात आफ्नै नक्कल उतार्न सिपालु अभिनयकर्ता च्याप्लिन दोश्रो कोटीका ठहरेथे रे । ढङ्ग पु¥याएर चोर्ने चोरको खुबीलाई पनि ‘क्याबात’ भनेर प्रशंसा गर्नै पर्छ । एमालेले त चोरी गरेको होइन, नक्कल गरेको मात्रै हो । त्यसैले उसको यो कामलाई नकार्नुपर्ने वा हियाउनु पर्ने कुनै कारण छैन ।

त्यसपटक एमालेको आयोजनामा चियापान र भलाकुसारी मात्रै भएको होइन, विशिष्ट नेताजीहरु जम्मा भएको उक्त कार्यक्रममा विशिष्ट स्तरका हँस्सी ठट्टाहरु चलथे रे ! नेताहरुको ठट्टाको स्तर यति उच्च थियो रे कि त्यो कार्यक्रममा उपस्थित भएको भए ‘महजोडी’ को पनि तेजोवध हुन्थ्यो रे ! सिंगो देशको भाग्य र भविष्यलाई ख्याल ठट्टामा उडाउँदै आएका विशिष्ट नेताजीहरुको अगाडि बिचरा महजोडीको हैसियतै के हुन सक्थ्यो र ? सधैं झै उक्त अवसरमा महान ठट्टाको सुरुवात काँग्रेसी सन्तनेता भट्टराईले गरेछन् ।

उनले एमालेका महासचिवलाई आशिर्वाद दिँदै भनेछन्– ‘दुर्गामाताले तपाईको पार्टीलाई सधैं प्रतिपक्षमा रहन सक्ने शक्ति प्रदान गरुन्’ ! हुन पनि नौमहिना सरकार ढलेपछि एमालेलाई सत्ताको नशा यदि धेरै चढेको थियो कि सत्ताको भ¥याङ चढनैका लागि वामदेवलाई अघि सारेर गर्नुनगर्नु सबै गरेको हो । करोडको नेपाली नोटको तौल “साढे सत्र केजी” हुन्छ भन्ने कुराको सार्वजनिक जानकारी त्यतिखेरैबाट भएको हो ।

कदकाँठी मात्रै सानो हो, माधव नेपालको सेन्स अफ ह्युमर पो कहाँ कम थियो र ? उनले पनि तत्काल किसुनजीलाई जवाफ फर्काएछन् । एमालेका नेताले फर्माएछन्– ‘जनताले नेपाली काँग्रेसलाई कहिल्यै सत्तामा नपु¥याउन्’ । उनको आशय दुई दुई पटक बहुमत पाएर पनि सत्ता गुमाउनु परेको काँग्रेसको नियतितिर उनको इशारा थियो । २०४८ सालको बहुमत गिरिजाप्रसादले गुमाएका थिए, अर्को पटक २०५६ को बहुमत देउवाले दरबारमा चढाएका थिए ।

आखिर दुबै जना देशका विशिष्ट जोकरहरु नै त थिए । ओठेजवाफ फर्काउनमा को भन्दा को कम हुनु ? त्यतिखेरसम्म एमालेमा ओलीको उदय भैसकेको थिएन । उनको त्यस्ता आयोजनाहरुमा भाउ हुन्थ्यो भने नेपालले ठट्टा गर्ने अवसर सायदै पाउँदा हुन् !

हँस्सी ठट्टाको माहोल थियो, नेताहरुले रमाइलो गरे । राजाको लात्ती खाएको बेला थियो । दुबै पार्टीहरु नुन खाएको कुखुराको हालतमा थिए । तैपनि बेलामौकामा ठट्टा रमाइलो गरेर आत्मग्लानी मेट्ने कोसिस गर्थे होला बिचरा । त्यो त ठिकै हो तर सत्तामोहको नशाले लट्ठ परेका नेताहरु दुबैजनाको विवेक हराएको थियो । विवेक हराएको बेलामा आफ्नो अन्तर्मनको कुत्सित भावना निर्लज्जतापूर्वक सार्वजनिक गर्नु स्वाभाविकै हो । दुवैजना नेताजीहरुको उक्त ठट्टामा घिनलाग्दो सत्ता लिप्सा अभिव्यक्तिएको थियो । सत्तामा ज्ञानेन्द्र शाहले ढलिमली गर्न थालिसकेका थिए । काँग्रेसहरु देउवाले सत्ता गुमायो भनेर मख्ख थिए, एमालेहरु काँग्रेस सत्ताबाट वेदखल भयो भनेर दङ्दास थिए ।

सामान्य अवस्थामा काँग्रेसको हातबाट सत्ता खोसिनु भनेको एमालेको पोल्टामा पर्नु हुन्थ्योे र एमाले सत्तावञ्चित हुनु भनेको काँग्रेसको हातमा सत्ताको बागडोर रहनु हुन्थ्यो । काँग्रेस र एमाले विचार र व्यवहारका दृष्टिले एउटै सिक्काका दुई पाटाजस्ता सावित भैसकेका थिए । संसदीय व्यवस्थाले निरन्तरता पाउँदा ती दुई पार्टीहरु एक अर्काका विकल्प हुन्थे ।

निर्वाचनरुपी सिक्का उफार्दा हरेक पटक चित परे पनि पट परेपनि आखिर दाउलाग्ने त तिनै दुईमध्ये एउटाको थियो । लगातार सिक्काको एउटै पाटो उत्तानो पर्छ भन्ने के ग्यारेन्टी हुन्थ्यो र ? त्यसो गर्नलाई त महाभारतको द्युतविशारद खलपात्र शकुनीको सीप चाहिन्छ भन्ने कुरा राम्रोसँग बुझेका नेपाली नेताहरुले सत्ताको निमित्त कसरी ¥याल काढ्दा रहेछन् भन्ने कुरा ठट्टाको रुपमा लाजै नमानी व्यक्त गरिदिएका थिए ।

कमसेकम ठट्टैगर्नु थियो भने पनि भट्टराईले ‘माधव जस्ता फुच्चेहरुको भुडी अझै फुलेर भ्यागुताको जस्तो होस् । पार्टीका सबै शिर्षनेताहरुका महलहरु नारायणहिटी जस्तो बनुन’् भनेको भए हुन्थ्यो । एमाले नेताले पनि ‘काँग्रेसी बुढाहरुलाई आर्यघाट जाँदा पनि सत्ताको कुर्चीसँगै लानसक्ने शक्ति मिलोस्’ भनेको भए कति मिठो र सटिक व्यङ्ग्य हुन्थ्यो होला ।

के गरुन बिचरा, दुबैजना सत्तामोहका कारणले विवेकहीन अवस्थामा थिए होलान् । विवेकहिन अवस्थामा बोल्दा उनीहरुको आ–आफ्ना स्वार्थहरु निशङकोच छरपष्टिए र सबै जोगी मर मेरै पोल्टो भर, भन्न लाज मानेनन् होला । आखिर घरज्वाइँलाई खानेकुराको भन्दा अरु धन्दा के को रहन्छ र ? ! मालिका प्रेस साप्ताहिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार