मेरो दशैं र जनताको संसद

  चन्द्रप्रकाश बानियाँ

म्याग्दी । संसार परिवर्तनशील छ भनिन्छ ! त्यही आधारमा होला बुद्ध धर्मले त सबै भौतिक वस्तुलई अविनासी मान्छ । आँखा अगाडि नरहेको वा ओझेल परेको अथवा दृश्यपटलबाट लुप्त भएको कुरालाई मासिएको वा नासिएको मान्ने चलन छ । मान्छे मरेपछि उसको भौतिक अस्तित्व नामेट भएको मानिन्छ । तर भौतिक विज्ञानीहरुले मान्दैनन् । परिचय फेरिएको मात्र हो भन्छन् । जे होस् सबै कुरा सधैको लागि हिजोजस्तो रहँदैन । बुद्धधर्मको पुनर्जन्म सम्बन्धी अवधारणा पनि त्यही मान्यतामा आधारित छ । अर्थात हरेक वस्तुको समयक्रममा रुप फेरिन्छ ।

ठिकै होला । होइन भन्नका लागि त आफूसँग बलियो प्रमाण हुनुप¥यो । संसार परिवर्तनशील छ भन्नुको सट्टा अलिकता संशोधन गर्न सकिन्छ कि ? अर्थात संंसार परिवर्तनशील होइन ‘पुनरावृत्तिशील’ छ भन्न सकिएला । तर्क गर्ने कुरा न हो । यो ब्रह्माण्डामा हरेक घटना परिघटनाहरु क्रमागतरुपमा दोहोरिन्छन् । तेहरिन्छन.्..। दिन बित्छ, रात आउँछ । रात बित्छ, दिन आउँछ । गर्मी सिद्धिन्छ, जाडो सुरु हुन्छ, जाडोपछि फेरि गर्मी आउँछ । यसरी पहिलो पछि दोश्रो आउँछ । तर दोश्रो पछि तेश्रो होइन फेरि पहिलो नै आउँछ । यसरी हुने पुनरावृत्तिलाई कसरी परिवर्तन भन्न मिल्छ र ? संसार र विधिव्यवहार यसरी नै चल्दै आएको छ । किन हो कुन्नी ? यो संसारको ‘पुनरावृत्ते’ चरित्रले मलाई कहाली लाग्न थालेको छ । दिक्क वाक्क लाग्न थालेको छ । विच्क्याहट लाग्न थालेको छ । रिङ्गटा लाग्न थालेको छ र कतै यो पट्यारलाग्दो निरन्तरताले मेन्टल डिप्रेशनलाई ननिम्त्यावस् र हिस्टिरियाई पागलपनलाई नजन्माओस् भन्ने डर लाग्न थालेको छ ।

प्रशङ्ग हालासालको होइन । विक्रमाब्द २०५५ सालकोे दशैंको हो । हो हुन त मेरो बाजेले देखे भोगेको संसार र वर्तमानमा मैले सुमरेको संसार फरक छ । यो परिस्थिति स्वतः परिवर्तित भएको होइन । यसलाई फेरेको मान्छेले हो । मान्छेले धेरै कुराहरु फेरिसक्यो । चलन फे¥यो, रीतिरिवाज फे¥यो, खानपीन, आहार व्यवहार, बसउठ के के फे¥यो फे¥यो । तरै पनि केही कुरा यस्ता छन, जसलाई फेर्नेतिर मान्छेको ध्यान पटक्कै जान्न । मेरो गुनासो त्यही हो । सबै कुरा फेर्ने खुबी भएको मान्छेले तिथिबारहरु किन फेर्न सक्दैनन् कुन्नी ? हरेक सातदिनपछि फेरि आइतबारै आउँछ । शनिबारपछि आउने अर्कोबारलाई पनि फेरि आईतबारै भन्न्ुा पर्छ भन्ने के छ र ? माईतबार भने पनि त हुन्छ । अनि सोमबारलई ओमबार भनौं, मङ्गलबारलाई जंङगलबार भनौं । के बिग्रन्छ ? एकदिन एकचोटी आईसकेको बारलाई फेरि फेरि किन बोलाईरहनु प¥यो र ? उता तिथिमितिको कुरा पनि त्यस्तै छ । औंसीदेखि पूर्णिमासम्मका सोह्र नाममा मात्रै तिथिलाई किन सीमित गर्ने ?

तिथिमिति र बार फेरि फेरि नदोहोरिने भए कमसेकम ज्यानमार दशैं सालै पिच्छे आउन पाउने थिएन । कमसेकम एउटा दशैंको र्आिर्थक मामलो नसल्टिदै अर्को दशैंको कहालिलाग्दो ‘लाखे’ अनुहार देख्नु पर्ने विवशताबाट मुक्त भइने थियो कि ? खयर, धैर्य गर्दै रहन्छु म । संसार परिवर्तनशील मात्रै होइन विनाशशील पनि छ । यो कुरा त विज्ञानले मात्रै होइन, धर्मशास्त्रले पनि मान्छ । मेरा बाजेले पनि ‘प्रलय’ हुन्छ भन्थे । विज्ञानले भनेजस्तो वा धर्मशास्त्रले भनेजस्तो विनाशकारी प्रलय न सही तर ‘सांस्कृतिक प्रलय’ त हुन्छ, हुन्छ र म नभए पनि मेरो नाति पुस्ता दशैं रुपी क्रुर राक्षसको खुनी पञ्जाबाट जरुर मुक्त हुनेछ ।

दशैं भनेको पवित्र सांस्कृतिक पर्व हो । दशैंप्रति यस्तो वितृष्णा किन ? भनेर दशैंको दशा नभोगेकाहरुले जिज्ञासा राख्लान पनि सक्लान् । गीताले पनि ज्ञानभन्दा भक्ति असल मानेको छ । भक्ति भनेको अन्ध समर्थन हो । भक्तिमा असिम आनन्द हुन्छ । सायद आनन्दको अर्को नाम अज्ञानता हो । अज्ञानताबाट आनन्द प्राप्त हुन्छ र त्यो मीठो हुन्छ । अनुभवबाट ज्ञान प्राप्त हुन्छ र त्यो कटु हुन्छ । मेरो बाल्यकालको दशैं पनि निकै रमाईलो हुने गथ्र्यो । ‘राम्रो नाना र मिठा खाना’ भन्दा अरु कुरासँग मेरो कुनै सरोकार थिएन । किशोरावस्थामा आईपुग्दासम्म त्यस्तो विधि विग्रेको केही थिएन । रहर र आकांक्षाहरु अलिकता बढेका मात्र थिए । ‘बाबुको कमाई, मेरो रजाई’ को पुरानै परम्परा कायमै थियो । अलिकता घुर्र्कीफुर्र्की लगायो भने बाबाको मन अगेनाछेउको नौनी झै पग्लिहाल्थ्यो । मेरो खल्ती भरिइहाल्थ्यो । अनि ‘मामाको धन फुपुको श्राद्ध….’ भैहाल्थ्यो ।

उन्ताका अर्थात घरको मालिक आफै भैसकेपछि भने परिस्थिति फेरिइसकेको थियो । कसैको नाति वा छोरा मात्रै होइन म त कसैको बाबु र कसैको हजुर्बा समेत भैसकेको थिएँ । उर्लदो महंगीको जमानामा नुनतेल, दालचामल, खसीबोका, नानाचाचा, दानदक्षिणा आदि ईत्यादि सबका सब आपनै जिम्मा ! घरको सिङ्गो आर्थिक बोझ मेरै तिलचामले टाउकोमा परिसकेको थियो । तर अविवेकी असत्ती दशै भने दिनबार तिथिमिति रिठ्ठो नबिराई हरेकबर्ष आईहाल्छ । त्यो बर्ष पनि किन छोड्थ्यो ? आईहाल्यो …। त्यसले नराम्रोसँग अत्याउन थालिहल्यो । हैन, छैन भन्नै नपाइने ! खाए खा, नखाए घिच भनेजस्तो ! सकिनसकि दशैं मनाउनै पर्ने रे !

न रामले रावणलाई मारेकोमा मलाई कुनै हर्ष छ । न त देवी दुर्गाले चण्डमुण्ड वा महिषासुरबध गरेकोमा खुसी मनाउनुको कुनै औचित्य देख्छु म । तरै पनि संस्कार र परम्परामा बाँधिएको मैले सालभरको नुनतेल चल्ने रकम खर्चेर फेरि पनि अर्को एउटा दशैं मनाएथेँ । मन मनले सरापे पनि टिकाथाप्न आउनेहरुलाई मुखले आशिष दिई टोपलेथेँ । मन रोए पनि मुखमा रुन्चे हाँसो देखाएथेँ । देउपितृ वा ठूलाबडा कसैको शुभाशिषले कसैको केही लछार्पाटो लाउँदैन । आफ्नो उन्नति अवनति वा उत्कर्ष अपकर्ष आफ्नै परिश्रममा भरपर्छ भन्ने कुराहरु जान्दा जान्दै पनि औपचारिकताबस थुप्रै अग्रजहरुबाट टीका थापेँ, आशिर्वाद लिएँ, अरुलाई आशिष र शुभकामना दिएँ । ‘श्राद्धमा बिरालो बाँध्ने’ अन्ध परम्परालाई राम्ररी निभाएँ ।

आर्थिक दृष्टिले हेर्दा पनि दिन दिनै उर्लदै गएको महङ्गीको भारले कुप्रिदै गएको आर्थिक मेरुदण्डलाई अझै अलिकता कुप्रो बनाएँ । दशैं रहर होइन कहर बन्यो । तैपनि उत्साह र उमङ्गका साथ होइन बाध्यता र विवशताले दशैं मनाइया थियो । औसत नेपालीको नियति मेरो जस्तै हो । कमसे कम यस बर्षको दशै जसोतसो उम्काईयो भनेर सन्तोष गर्नुको विकल्प मसँग थिएन ।

मन अमिलो बनाएरै भएपनि सन्तोष गर्नुपर्ने अर्को यौटा कुरा पनि अभ्यासमा छ । त्यो हो नेपालको संसद । संसद माने धिायिका । विधायिका माने कानून बनाउने ठाउँ । अर्थात देशभरबाट निर्वाचित जनप्रतिनिधि सांसदहरुले देश, समाज र जनताको पक्षमा नीति, नियम, ऐनकानुन र बजेट व्यवस्थाको तर्जुमा गर्ने ठाउँ । तर नेपालको संसदले भने सांसदहरुको ‘नुनतेल’ को बन्दोवस्तलाई प्राथमिकता दिने गर्दछ । भखरै नयाँ पार्टीकी एकजना सांसदले तलबभत्ताले सांसदको महनिाबार िगुजारा चल्दैन भनेर सार्वजनिक रुपमै भनेकी छन् । सांसदको तलबभत्ता बढाउने घटाउने सांसदहरु आफैले हो । पुगेन, कामचलने भने बढाउलान् । बढाउँदै आएकै छन् ।

सांसदको भत्ता बढ्छ । कैयौं कुराको खरिदमा महशुल छुट हुन्छ । महिनौं महिनौंसम्म राष्ट्र र जनतासँग विल्कुल सरोकार नराख्ने विषयमा छलफल चल्छ । लाखौं लाख प्रतिदिनको खर्चमा जिीदावाद र मुर्दावाद पनि चल्छ । ग्याङफाइट्को अभ्यास गरिन्छ । टेबुलकुर्ची माथि शक्ति परीक्षण गरिन्छ । त्यतिले पनि पुगेन भने हात हालाहाल गरिन्छ । सभामुखको कठालो समातिन्छ । कुँङफू कराँतेवालाले ईटाको चाङ र आइसस्ल्याव फुटाले जस्तै टेबुलकुर्चीहरु फुटालिन्छन, माइकहरु भाचिन्छन् ! कसैलाई कुर्चीबाट जबजस्ती गलहत्याउने प्रयत्न गरिन्छ । बल नपुगेपनि ‘कुर्ची छोड’ को नाराबाजी गरिन्छ । ए बाबा..! कुलचन्द्रलाई हुत्याएर हुलचन्द्र ल्याउँदैमा मुलुक र जनताले राहत पाउने होइनन् । श्रेष्ठ सुब्बालाई गलहत्याएर अर्को कुनै अधम ठिट्टालाई ल्याउँदा राष्ट्रले पाउने केही होइन ।

हुनत हो है, “खान पाइएन सरकार” ! भनेर विन्ति चढाउने कुनचाीँह हो पानीआन्द्रेलाई ‘दुधभात खाएर निर्वाह गर’ भनिदियाथे रे राजा त्रिभुवनले ! नवधनाढ्य, नवसामन्त वर्गमा रुपान्तरित भैसकेको कम्युनिष्टदेखि राप्रपाका नेताहरुलाई निरीह निमुखा, निरपेक्ष गरिबीको रेखामुनि बाँच्न विवश जनताको मर्म के थाहा र बिचरा ? बलबैशले उन्मत्त साँढेले किसानको बाली सोत्तर पा¥यो भनेर पनि कसैले आश्चर्य मान्छ र ? खेती गर्दाको किन्चित दुःख त गोरुले पो भोगेको हुन्छ र त मौका प¥यो भने बाली मास्न विधिबेर मान्दैन भने छाडा साँढेललाई छु मतलब ।

नयाँ संसदमा नौरङ्गी सांसदहरु भेला भएका छन् । क्षणमै तोला, क्षणमै मासा भनेजस्तो आज एउटा गठबन्धनको सरकार बन्छ, भोलिपल्टै समिकरण बदलिन्छ । गठबन्धन किन बन्छ किन भत्कन्छ भन्ने कुराको रहस्य गठबन्धनमा सामेल हुनेहरुमध्येकै कैयौंलाई जानकारी हुदैन । घरमा दौरासुरवारको जोहो होस् कि नहोस. अकस्मात मन्त्रीको सपथ खान उपस्थित हुनुपर्ने हुन्छ । कैयौंका नयाँ दौरासुरवाल कुना पर्छन् । सरकारको फेरबदलले जनता र राष्ट्रलाई कुनै राहत दिँदैन । नत त्यसले प्वालैप्वाल परेको संविधानका छिद्रहरु टाल्ने सामथ्र्य राख्दछ । कसैले व्यवस्था भत्काउँछु भनेर गुड्डी हाँक्छ भने त्यो उसको मानो पचाउने जुक्ति मात्र हो । कसैले किन राज्यढुकुटीमा व्यर्थमा भार थपेको हो भन्लान भनेर लाज पचाउने बाटो खोजेको मात्र हो ।

न यो संसद भङ्ग हुन्छ न यी सांसदहरुबाट मानो पचाउने बाहेक अरु कुनै काम हुन्छ । देशहित र जनकल्याण कसैको एजेन्डामा पर्दैपर्दैन । संसद भङ्ग भैहाले पो हुने के हो र ? चुनाव जित्नै तिनै दलहरुले हो । चुनाव जितेर आउने यिनै बज्रस्वाँठहरु नै हुन् । यो जिर्ण व्यवस्था भत्काउने शुभकार्यमा लाग्छौं भन्नेहरुले हार खाइसके । कोही दुलाभित्र दमपच छन् कोही मोर्चासोर्चा खोल्दैछन् । हुन त हो है, उसैपनि संसद चीरञ्जीवी हुँदैन । यसको आयू आवधिक हुन्छ । आयु सकिएपछि स्वतः भंङ्ग हुनुपर्छ । हुन्छ । हुने कुरा फेरि पनि निर्वाचन नै हो । व्यवस्था परिवर्तन हुने होइन । फेरि उमेदवार बन्ने उनै नेताहरु हुन. । जनताले मत दिने हो, दिने नै छन् । फेरि सांसद बन्नेछन् । संसद बन्नेछ । फेरि पनि लाखौं करोडौको खर्चमा चुनिएको संसदले सरकार गठनविघटनमै समय खर्चने छ । जीन्दावाद र मुर्दावाद हुनेछ । कुटाकुट, ध्वंश विध्वंश हुनेछ ।

फेरि संसद भंग ….फेरि चुनाव….फेरि भंग….फेरि चुनाव…. । निरन्तर अनन्त, अनगिन्ती पुनरावृति ।
दिक्क लाग्दो वाक्कलाग्दो परम्परा ! तैपनि परम्परा भनेको परम्परै हो । कसैले चाहेर मात्रै त्यो सजिलै परिवर्तित हुँदैन । बाध्यतावस चलिरहन्छ, चलिरहन्छ । चलाई रहनु पर्छ । यस्तै हो भनेर सन्तोष गर्नु पर्छ । जसरी दशैं दशामा रुपान्तरित भएर पनि ज्यूँदै छ, त्यसै गरी संसद पनि जनताको दशा बनेर बाँचिरहने छ । सायद यो युगकै नियति हो । तपाई हाम्रो आशिर्वाद शुभकामनाको यसलाई कुनै जरुरत छैन । न त तपाई हाम्रो सत्तोसरापले यसको रौं झर्छ । हाम्रो नियति सन्तोष गर्ने हो, गरौं सन्तोष, धितमरुन्जयाल ! बिच्किउन्ज्याल !! मालिका प्रेस साप्ताहिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार