म्याग्दी । खसहरुको काँधमा जनै परेको पुगनपुग पाँच शताब्दी पुगिसकेछ । प्रारम्भदेखि नै जनै बहिष्कार गर्ने खसहरुको उपस्थिति पनि नेपाली समाजमा बाँकी छ । आफूलाई सुसंस्कृति र सभ्य भनाउने लोभले खस समाजले भिरेको जनैको निकै महङ्गो मूल्य चुकाइसकेको छ । चुकाउँदै छ । जनैवापत प्राप्त गरेको कथित “उच्च जात” संविधान ऐन कानुनले खोसिसकेको छ । तैपनि समाजले जनै भिरेर जात उक्लने नौटङ्कीबाट मुक्ति पाएको छैन । जनैको औचित्य व्यवहारतः समाप्त भैसकेको भए पनि कमसेकम सालको तीनपटक जनै भिर्दैछ । थकाली समाजले बाह्रवर्षे मेलामा एउटा राजकुमार बनाएर जनै भिराउँछन् भनेर स्वर्गीय ओमकारप्रसाद गौचनले सुनाएका थिए । खसहरुले ऋषितर्पणी, सोह्र श्राद्ध र आमाबाबाबुका मरेतिथिमा गरिने श्राद्धमा एकथान जनै खर्च गर्दैछन् । सायद सबभन्दा लामो समयसम्म खसको काँधमा जनै रहने अवसर भनेको मृत्युसंस्कार अर्थात किरियाका तेह्र दिन हो ।
यतिखेरसम्म आइपुग्दा खस समाजका अलि सचेत मानिसहरुमा जनैबाट मुक्तिको छटपटाहट देखिन थालेको छ । केन्द्रिय तथ्याङ्क विभागले बेइमानी ग¥यो । २०७८ को जनगणनाको सन्दर्भमा खसहरुले जाति खस र धर्म मष्ट लेखाए पनि त्यसको गणना गरिदिएन । साँचै कति खसहरुले त्यो अभियानमा सहभागिता जनाएका थिए भनेर जान्न पनि नपाउने अन्यायपूर्ण परिस्थिति उत्पन्न भयो । मान्छेले आफ्नो जाति लेखाउन नपाउने र धर्म रोज्न नपाउने सरकारको नीति कति लोकतान्त्रिक भन्न मिल्ने होला कुन्नी ?
खस जातिलाई समूहगत रुपमा गगनीराज अर्थात बलिराज रावल नामका जुम्ली शासकले औपचारिक रुपमा जनै वितरण गरेका थिए । त्यसमा कसको कस्तो स्वार्थले काम गरेको थियो भन्ने कुरा खस समाजले विस्तारै बुझ्न थालेको छ । मष्ट नामको धर्म थियो कि थिएन भन्ने कुरा खोजी अनुसन्धानको विषय हो । सत्य कुरा के हो भने खस अलग जाति हो । संविधानमा लेखिएजस्तो “खस आर्य” भन्ने जातिको अस्तित्व यो धर्तीमा कतै थिएन÷ छैन । खस र आर्य अलग जाति हुन् । कुन स्वार्थले ककसले खस र आर्यलाई एउटै जाति बनाए भन्ने कुरा पनि लुकेको छैन । तर अपेक्षाकृत चेतनाको दृष्टिले निकै पिछडिएको अवस्थामा रहेको खस समाजले संवैधानिक प्रावधानको विरुद्धमा एकढिक्का भएर आवाज निकाल्न सकेको छैन ।
खसको काँधको जनै नयाँ हो । जनै हिन्दू धर्मले भिराइदिएको हो । जनै भिराएवापत धार्मिक गुलाम बनाइएको हो । त्यही स्वार्थलाई निरन्तरता दिनका लागि नयाँ संविधानमा समेत खसहरुलाई आर्यसँग जोडिएको हो र खस समाजको मौलिक धर्म हिन्दू होइन । त्यसो हो भने पुरानो धर्म के थियो त भनेर इतिहासका पत्र पल्टाउँदा हिन्दू धर्म ग्रहण गर्नुपूर्व खसहरुले बुद्ध धर्म मान्ने गरेको इतिहासप्रमाण लाग्दछ । त्यसभन्दा पूर्व अर्र्थात तिब्बत, अफगानिस्तानसम्म आइपुग्दा खसजातिको कुनै धर्म थियो कि थिएन ? थियो भने के थियो भनेर खोज्दा त्यस्तो भरपर्दो प्रमाण फेला पर्दैन ।
खसहरुले आजपर्यन्त मष्ट र देवी मान्ने गरेको देखिन्छ । मष्ट र देवीहरु हिन्दू देवीदेवता होइनन् । इरान÷इराकको सिमानामा खस राजाले निर्माण गराएको ५०० इसापूर्वको देवीको मन्दिर ठाडै छ । आजसम्म कुलदेवी र कुलदेवता मान्ने चलन छ । एउटा अनौठो कुरा के देखिन्छ भने मष्ट र देवीका माडौंहरुमा देवीदेवताका मूर्ति रहँदैनन् । अझ आश्चर्य मान्नुपर्ने कुरा के देखिन्छ भने कर्णाली क्षेत्रमा मष्टहरुका नाम पहाडका चुचुराहरुलाई दिएको देखिन्छ । त्यो परम्परा निकै यता पनि आइपुगेको छ । ताकमको माथि धुरीका तीनवटा पहाडका चुुचुराहरुलाई, कालिका, जालपा र मालिक भन्ने नाम दिइएको छ । त्यसले खसहरु प्रकृतिपूजक थिए र डाडाँकाडा, पहाडपर्वत, वनजङ्गलहरुलाई देवताको रुपमा पुज्थे भन्ने कुरा स्पष्ट हुन्छ ।
प्रसङ्ग हो कुलपूजाको । आज चन्द्र संवत्सरको कुन तिथि हो कुन्नी ? हेक्का रहेन । क्यालेण्डर पल्टाएर हेर्नुपर्ने आवश्यकता पनि केही थिएन । कानो गोरुलाई औँसी न पूर्णिमा भन्ने लोकोक्ति छ । हुन पनि त गोरु त्यस्तो गाईको बाच्छोलाई भनिन्छ जसलाई दाइवरी जुवामा नारिन अभ्यस्त बनाइएको हुनछ । सुमरीवरी पाको नबनाइएको गाईको बाच्छो साँढे भनिन्छ । अत्रिस्मृतिले “जन्मना जायते ब्राह्मण, संस्काराद् द्विज उच्चेते” भनेजस्तो गोरु बन्नलाई साँढेले एउटा निश्चित प्रकृया पूराग र्नुपर्छ । साँढेलाई गोरु ब्नाउन एउटा संस्कार गर्नुपर्छ । गोरुले पनि हिन्दू समाजमा औंसी पूर्णिमामा फुर्सद पाउँछ । जोत्ने कामबा विदा दिइन्छ । आँखा फुटेको गोरुले जोत्न सक्दैन । त्यसैले उनलाई न औस िन पुर्णिमा ! वर्षैभर छुट्टी नै छुुट्टी । उदाहरण साँढेको आयो, असलमा मेरो सरोकारको कुरा आज पर्न गएको चन्द्रपात्रोको तिथिको थियो । खयर, तिथिमिति जेसुकै होस, आज पोखराको लामाचौर निबासी बानियाँ बन्धुहरुको कुलपूजा रहेछ । निम्तो थियो । स्वास्थ्यमा अलिकता समस्या आएकोले उपस्थिति जनाउन सकिएन । लामाचौर पुग्न नसकिए पनि मेरो एउटा पुरानो सम्झना ताजा भयो ।
प्रसङ्ग हो विसं २०६३ साल आषाढ १ गतेको । पुलामी बानियाँहरुको कुलपूजाको आयोजनाले पूरापूर पौनेतीन वर्षपछि मलाई आफ्नो जन्मस्थान पुलामा पाइलोराख्ने अवसर दिएको थियो । खस समुदायका अधिकांश थर गोत्रीहरुले जेष्ठी पूर्णिमालाई कुलपूजाको तिथि मान्ने चलन छ । हरेक तीनतीन वर्षमा गरिने बानियाँहरुको नियमित कुलपूजाको पालो त्यस वर्ष परेको रहेछ । गाउँ नगएको धेरै भैसकेको थियो । त्यसैले कुलपूजाको निहुँमै सही त्यस वर्ष जन्मस्थानमा पुग्ने निधो गरेको थिएँ । नढाँटिकन भन्दा कुलपुजाको त निहुँ मात्रै थियो । गाउँले दाजुभाइ, इष्टमित्र र साथी संगतीहरुसंग भेटघाट नभएको लामो समय भैसकेको थियो । शारीरिकरुपले मात्रै होइन जन्मगत स्वभावैले हिँडडुुल गर्न निकै अल्छी मान्ने प्रकृतिको मान्छे म । कुलपूजाको निहुँमा मेरा गरुङ्गा गोडाहरु जन्मभूमितिर लतारिएका थिए ।
पूजाअर्चना, देवदर्शन, भाकल मनितो, भजनकीर्तन आदिमा खास रुचि छैन । धुप, दीप, नैवेद्य र फुलप्रसाद चढाएर देवीदेवताहरुलाई खुसीपार्ने कुरा वाहियात गफ हो जस्तो लाग्छ । पाखण्डी ढोँग जस्तो लाग्छ । भगवानलाई कुनै कुराको खाँचो पर्छ र त्यो वस्तु मान्छेहरुले भेट चढाइदिनुपर्छ भन्ने मान्यतासंग पटक्क सहमत हुन सक्तिन । यदि भगवानको अस्तित्व कतै छ भने उनको पहुँचबाहिर धर्तीको कुनै चीजवस्तु नहुनु पर्ने हो । भगवानले मान्छेबाट कुनै कुराको अपेक्षा राख्छन् भन्नु स्वयंम्मा एउटा अज्ञानता हो । इश्वर सर्वशक्तिमान हुन्छ भनेरै प्रार्थना, पूजा अर्चना गर्ने÷ गरिने हो । देवतालाई सर्वशक्तिमान मान्ने हो भने धुप, दीप, नैवेद्य, अक्षता र भेटी चढाएर खुसी पार्न कसरी सकिन्छ र ?
आफ्नो पहुँच बाहिरको कुरा प्राप्तगर्दा जो कसैलाई पनि खुसी लाग्न सक्छ । मगन्तेलाई २÷४ पैसा दिँदा खुसी हुन्छ । किनकी उसंग पैसाको अभाव हुन्छ । भगवानलाई त के नपुग्दो होला र मान्छेहरुले चढाउने सानातिना उपहारहरुले खुसी बनाउन सकिने ? त्यसैले भगवानको पूजा दर्शनजस्ता कुराहरुबाट सधै पन्छने, तर्कने गर्छु । तर त्यसपटक भने उत्साह र उमङ्गकासाथ कुलपूजामा सामेल हुनका निमित्त आफ्नो गाउँमा पुगेको थिएँ । कुलदेवी जालपाको मनितो गर्ने त निहँु मात्रै थियो, एकैथलोमा आफ्नो कुलवंशका सबै दाजुभाइहरुसंग एकमुष्ट घेटघाट गर्ने लोभ संवरणगर्न नसकेर पुला पुगेको थिएँ । साँचो कुरा त्यही थियोे ।
भिरमुनीको गाउँको मुखमै एउटा आधुनिक मन्दिर देखिन्छ । त्यो जालपाको मन्दिर हो । जालपालाई बानियाँहरुले कुलदेवी भनेर पुज्छन् । पूजाको दिन बेनीबाट सोझै मन्दिरमा जाने गरी हिँडियो । जालपा देवी मन्दिरपरिसरको छेउमै पुग्दा पूजा सामग्री, आलम, बोकापाठा सहित गैराघरे बानियाँहरुसंग जम्का भेट भयो । सबैजसो बन्धुहरु पूजासामग्री लिएर गोलबगालसहित उपस्थित थिए तर सुन्तक काका सधैं झैं यसपटक पनि अनुपस्थित थिए ।
उता काठमाडौंमा छँदा पुनस्थापित प्रतिनिधिसभाको उपयोगिताको प्रशस्त व्याख्यान सुनिएको थियो । संसदद्वारा जनताको पक्षमा गरिएका भनिने बडेबडे घोषणाहरु पनि सुनिएको थियो । सरकार र माओवादीबीच भर्खर सम्पन्न आठबुँदे सम्झौताले पुनस्थापित संसदको आयु तोकिदिएपछि पनि त्यसको दीर्घजीवनको पक्षमा सभ्रान्त, विद्वान, बुद्धिजीवीहरु र घागडान राजनितिज्ञहरुले बहस पैरवी गर्न थालेको देखिएको थियो । हुनत काठमाडौं कामभन्दा बढी गफ गरिने ठाउँ हो । प्रतिनिधिसभाको दीर्घ जीवनको पक्षमा हुनेहरुले त्यसलाई बडो कामको चीज ठान्छन् । संसदले गरेका रङ्गी विरङ्गी घोषणाहरुको सूची तेस्र्याएर संविधानसभाको निर्वाचन सम्पन्न भएपछि पनि संसदलाई जीवित राखिरहनु पर्ने तर्क गर्नेहरु पनि बाक्लै थिए । मलाई भने सुन्तक काकाको कुलपूजामा अनुपस्थितिको घटनाले संसदको छुवाछुत मुक्त मुलुकको घोषणा कति हावादारी रहेछ भन्ने कुरा प्रमाणित गरिदिए जस्तो लागेको थियो ।
सुन्तक काका मेरा दामलछिमल हुन । काकाहरुसंग मिलेर गरिएका कैयौं केटौले उपद्रवहरुको सम्झना अझसम्म मेरो स्मरणमा ताजै छन् । केटाकेटी उमेरदेखि नै काका अलि उपद्रवी मात्रै होइन, निकै साहसी पनि मानिन्थे । “टीनएज” ननाघ्दै जातिभेदको जीर्ण परम्परा विरुद्ध एउटा साहसिक कदम उठाएका थिए सुन्तक काकाले । नयाँ संसदले छुवाछुत र जातीय भेदभावमुक्त मुलुको औपचरिक घोषण गर्नुभन्दा झण्डै पच्चिस वर्ष अगाडि सार्कीकी छोरीसंग विवाह गरिदिएका थिए ।
काकाको विवाहलाई तत्कालीन कानुनले अमान्य घोषणा गर्न त सक्तैनथ्यो तर समाजले स्वीकारेन, पचाएन । जड परम्परामा जकडिएको हाम्रो समाजले काकालाई जातिच्युत ग¥यो । सार्की बनायो । अछुत ठह¥यायो । हाम्रो समाजमा जन्मले वर्ण निर्धारण गर्ने गर्छ । अर्थात बाहुनको छोरा बाहुन, दमाईको छोरा दमाई । तल्लो भनिएको जातको मान्छेले चाहेर पनि बाहुनको सामाजिक संस्कार ग्रहणगर्न पाउँदैन । त्यस्तो कर्मलाई समाजले मान्यता दिँदैन । क्षत्रीको छोराले कथित तल्लो जातिमा विवाह सम्बन्ध राखेवापत जातिच्युत हुनुपर्छ भन्ने कुरा ऐन, कानुन, धर्मशास्त्र, नीतिशास्त्रको कुनै पानामा लेखिएको छैन तर क्षत्रीवंशको कुलरत्न भएर सार्कीसंग विवाह सम्बन्ध गरेकै कारणले हाम्रो काका सुन्तकको जात घटुवामा प¥यो । कानुनले होइन, समाजले गरेको त्यो विज्याईं काकाले सहन प¥यो । सामाजिक दण्डको भागी बन्नु प¥यो ।
अघिल्लोपटकको कुलपूजाको अवसरमा त्यतिबेला भूमिगत रुपमा क्रियाशील नेकपा माओवादी सम्बद्ध बन्धुहरुका तर्फबाट सुन्तक काकाको जात पुनस्थापित गरिनुपर्ने र त्यसको सुरुवात कुलपूजामा सामेल गराएर गर्नुपर्ने झिनो मसिनो चर्चा चलाइएको थियो रे । मैले सुनिन । किनकि अघिल्लो वर्षको पूजाको याममा म गाउँमा थिइन । सार्वभौमसत्तासम्पन्न व्यवस्थापिका संसदले मुलुकलाई छुवाछुत र जातगत भेदभावमुक्त घोषणा गरेको थियो । त्यसैले त्यसपटक भने काका भतिजाको साझा भान्साले सार्वजनिक मान्यता पाउने भो भन्ने मलाई लागेको थियो । कठैबरी, त्यसपटक माओवादी मित्रहरुले पूजामा अनुहारै देखाएनन् । धुरन्धर प्रजातन्त्रवादी र सुधारिएका अरु कम्युनिष्टहरुले झिना मसिना सामाजिक समस्यातिर ध्यानदिने कुरै भएन । धर्मभिरु, कट्टर जातवादी र छुवाछुतका पक्षधरहरुको लागि यो सरोकारको विषय नै परेन ।
२०२० सालको नयाँ मुलुकी ऐनले गरेको व्यवस्थालाई २०६३ सालमा पुनस्थापित संसदले दोहो¥याएको थियो । छुवाछुतमुक्त मुलुकको भिषण घोषणा गरिएको थियो । तर त्यसलाई व्यवहारमा कसले उतारिदिने खोई ? हिजो ऐनमा लेखिएको कुरा त व्यवहारमा लागु हुन सकेको थिएन भने त्यसपटक त संसदले घोषणा मात्रै गरेको थियो । त्यो लागु हुने कुरै थिएन । त्यसले समाजबाट मान्यता पाउन सक्ने कुरै भएन । समाजले मात्रै होइन पीडित सुन्तक काकाले पनि संसदको घोषणालाई पत्याएनन् र कुलपूजामा सामेल हुने रुचि देखाएनन् । संसदमा सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने मेरा मित्र माननीय परशु मेघिगुरुङले त्यो घटनाको जानकारी पाएका भए कति मर्माहत हुन्थे होलान् ?
गरिमामय भनिएको संसदको घोषणाको विरुद्धमा त्यसदिन एउटा थर गोत्र उत्रिएर अवज्ञा गरेको थियो । घोषणाको विपक्षमा अर्को वर्ग वा तप्काले विद्रोह नगर्ला भन्न सकिने कुरै थिएन । त्यसरी एकपछि अर्को गर्दै संसदका निर्णय र घोषणाहरु समाजका लागि अमान्य हुँदै गए भने परिणाम के हुने होलाजस्तो लागिरहयो ।
प्रतिनिधिसभाको सर्वसम्मतिबाट भएको घोषणाको अवमानना मेरो आफ्नै कुलवंशबाट हुन गएको घटनाले मलाई दुखित बनायो । सार्वभौम भनिएको संसदको उपयोगिता कति रहेछ र त्यसले गर्ने निर्णयहरुको सार्थकताको मानक त्यो घटना भयो कि भएन भनेर कसलाई कहाँ गएर सोध्नु पर्ने थियो कुन्नी ?! अखबारका पानामा बाहेक अन्ततिर विषय उठाउने कोसिस गरिएन । मालिका प्रेस साप्ताहिकबाट