हिङ बाँधेको टालो देख्दा पनि रमाउनुपर्ने नियति

  चन्द्रप्रकाश बानियाँ

म्याग्दी । घर घरमा बर्षैपिच्छे पढिने स्वस्थानी व्रतकथामा सत्यदेवीमरणको कथा पनि छ । माईतीपक्षबाट पाए अपमान र अपहेलना खप्न नसकेकी अभिमानी सत्यदेवीले अग्नीकुण्डमा पसेर आत्मदाह गरिन् । त्यो घटनाले महादेवलाई विक्षिप्त बनायो । दक्षप्रजापतिको यज्ञ विध्वंश गरेर मात्र महादेवको शोक समन भएन । सतीदेवीको लाश बोकेर हिड्न थाले । महादेवमा अमानुषिक शक्ति थियो भनिन्छ । कुरो साँचो थियो भने उनले आफ्नी प्रियसीलाई पुनर्जीवित किन गरेनन् ? पुराण आख्यानहरुमा त महादेवले मरेको मान्छेलाई पनि पुनर्जीवन दिन सक्थे भनेर लेखिएको छ । आफ्नै छोरा गणेशलाई आफैले मारेर फेरि हात्तीको टाउको गाँसेर बचाइदिएको दन्त्यकथा सबैले सुनिएकै छ । महादेवमा साँच्ची नै त्यस्तो विशिष्ट शक्ति हुँदो हो त सतीदेवीको मृत्युको घटनाले उनलाई विक्षिप्त बनाउने थिएन । आफ्नो सर्वप्रिय वस्तुलाई पुनर्जीवन मात्रै किन ‘अमरत्व’ नै प्रदान गर्ने थिए होलान् ।

स्वस्थानी काल्पनिक कथा हो । वास्तविक घटना विवरणको संङ्कलन होइन । त्यसैले महादेवमा दैवी शक्ति थियो कि थिएन भनेर बहस गर्नुको कुनै अर्थ छैन । भोलेबाबाले अतिमानुषिक चमत्कार देखाउन सक्थे वा सक्तैनथे भनेर विवाद गर्नुको पनि कुनै अर्थ छैन । किनकि हाम्रो बहसलाई सार्थक टुङ्गोमा पु¥याउनका लागि हाम्राबीचमा महादेवको भौतिक उपस्थिति छैन अब । हिन्दु समाजले शिवलाई देवता मान्छं । देवता मात्रै होइन, देवाधिदेव अर्थात देवताहरुका पनि देवता मान्छं । देवाधिदेव महादेवले छोइदिँदैमा कुनै लाशले पुनर्जीवन पाउन सक्तैन भनेर पत्याउन हामीमध्येका कति धर्मान्ध धर्मभिरुहरु पटक्कै तयार हुँदैनौ तर त्यसको तथ्य प्रमाणको रुपमा थुप्रै कथापुराणहरुमा सयौं चोटि दोहो¥याएर लेखिएको सत्यदेवीको कथाप्रसंङ्ग एउटा नै पर्याप्त छ ।

हरेक पदार्थको गुण परिवर्तन हुन्छ, रुप फेरिन्छ तर नासिदैन भनेर भौतिक विज्ञानले भन्छ । अर्को एउटा सत्य के हो भने यस धर्तीमा रहेका सबै चिजवस्तुहरु एकदिन नासिन्छन् । स्वयम यो पृथ्वी पनि नासिन्छ । पृथ्वी मात्र होइन ब्रह्माण्ड नै नासवान छ भनिन्छ । त्यसको मतलब हरेक वस्तु हरपल विनासोन्मुख हुन्छ । पदार्थको विनास (अन्त्य) अनिवार्य छ तर विनाश पदार्थको पूर्ण समाप्ति होइन, रुपान्तरण मात्रैै हो । सतीदेवीको शरीरबाट चेतना उड्यो । सत्यदेवी लाशमा परिणत भइन् । लाश आखिर लाशै हो, चाहे त्यो सतीदेवीको होस् या स्वयं महादेवको होस् । लाश पोल्दा खरानी बन्छ । खरानी माटोमा मिल्छ ।

लाशलाई खरानी बनायोस् वा माटोमा पुरियोस् त्यसको रुप, गुण, आकृति विनासकोे प्रक्रिया रोकिदैन । रुपान्तरणको आफ्नै एउटा नियम हुन्छ । पानी ‘वाफ’ पनि बन्छ र ‘बरफ’ मा पनि रुपान्तरण हुन सक्छ । तर पानीलाई तताएर बरफ बनाउन ‘इन्द्रको बाबु चन्द्रे’ ले पनि सक्तैन । पानीलाई वरफमा रुपान्तरण गराउन चिसो बनाउनै पर्छ । पदार्थको रुपान्तरणको रासायनिक प्रक्रियालाई विलम्ब गराउन सकिन्छ, पूरै रोक्न सकिँदैन । त्यही भएर महादेवले जति मरिहत्ते गरे पनि सतीदेवीको लाशमा ज्यान फर्केन । प्राण नफर्केको मात्रै होइन लाश माटो पानीमा मिल्ने प्रक्रिया पनि रोकिएन । स्वयं महादेवको काँधमा रहेको लाश पनि कुहेर, सडेर, गलेर टुक्रा टुक्रा बनेर धर्तिमा छरिएर सकियो । स्वस्थानी कथाले त्यसै भन्छ ।

समाज विकासक्रमको विश्व इतिहासका पाना पल्टाउँदा विनास र निर्माणको कथा देखिन्छन् । मानिसले विकास गरेका रीतिस्थिति र व्यवस्थाहरु सबै पुराना मेटिदै जान्छन् नयाँ जन्मदै जान्छन् । पुरानो व्यवस्थाको चिहानमा नयाँ व्यवस्थाको विरुवा जन्मन्छ । रुपान्तरण र परिवर्तन शान्तिपूर्ण वा क्रमिक मात्र हुदैन । कहिले कहीँ परिस्थितिले फड्को मार्छ । संङ्घर्ष हुन्छ । सामन्तवादमा रुपान्तरणको प्रक्रियालाई रोक्नका लागि कविलातन्त्रले कम्ति बल गरेको थिएन । सामन्दवादले पनि पूँजीवादलाई सहर्ष कुर्ची खाली गरिदिएको होइन । र समाजवादको स्वाभाविक विकासक्रमलाई रोक्न पूँजीवादले न्वारनदेखिको बल प्रयोग गरिरहेको कुरा हामी सबैको सामु स्पष्ट छ ।

पूँजीवादको अन्त र समाजवादको स्थापन एउटा अनिवार्य प्रक्रिया हो भनेर राजनीतिशास्त्रीहरुले मान्दै आएका छन् । त्यस्ता मानव प्रयत्नहरु संसारमा भएकै पनि छन् । तत्काल त्यस्तो सम्भव नदेखिएको भए पनि ढिलो चाँडो भएरै छोड्छ भनेर मानिन्छ । भौतिक विज्ञानको सार्वभौम नियमका विरुद्धमा कथित ‘प्रजातान्त्रिक समाजवादी’ हरुले आफूलाई उभ्याउँछन् । अर्थात पूँजीवादलाई ज्यूँदै राखेर समाजवादमा फड्को मार्न सकिने असम्भव कुराको वकालत गर्छन् ! सिर्मुको रुखलाई यथावत ठाडै राखेर त्यही सिर्मुको काठबाट फर्निचर बनाउनु साधारण सिकर्मीको बुताको कुरा हुन सक्तैन । त्यस्तो चमत्कार भौतिक जगतमा हुनै सक्दैन । यथार्थ वस्तुतथ्य यही हो कि जसरी रुखको विनासपछि मात्रै त्यसबाट आरामदायी कुर्ची र पलङजस्ता फर्निचरहरु बनाउन सकिन्छ । त्यसरी नै पूँजीवादको समाप्तिपछि मात्रै असली समाजवादको शिलान्यास सम्भव हुन्छ भन्नेहरु पनि छन् ।

समाज रुपान्तरणको त्यही स्वाभाविक प्रक्रियाबाट नेपाल अछुतो रहन सक्ने कुरा होइन । अधिकांश मान्छेमा यथास्थितिमा रमाउने स्वभाव हुन्छ । त्यसको गतिलो नमुना नेपालका राजावादीहरुमा देखिन्छ । समाज विकासले एउटा छलाङ मा¥यो । सामन्तवादको श्रीपेच शान्तिपूर्ण रुपमा ढल्यो । जति नै स्वस्थ तन्दुरुस्त भए पनि अलिकता ढिलोचाँडाको कुरा मात्रै हो, मानिस मर्छ । काटिएर, लडेर वा बिरामी भएर मात्र मान्छे मर्ने होइन । उमेर सकिएर पनि मर्छ । नेपालको राजसंस्था त्यसरी नै मरेको हो । अर्थात आयु सकिएरै राजसंस्थाको समापन निम्तिएको हो । संसारका अन्य कैयौं मुलुकहरुमा जस्तो नेपालका राजाहरुले काटिनु परेन । समयले उसलाई अडिनै नसक्ने अवस्थामा पु¥याएको हुनाले मात्र ढलेको हो । बिनारक्तपात राजसंस्थाको उन्मूलन भएको हुनाले मानिसहरुलाई त्यसको मृत्यु अस्वाभाविक लाग्छ । र महादेवले झै मरेको राजसंस्थाको लास बोकेर हिँड्ने नादनी मान्छेहरुले गर्दैछन् ।

ढिलो गरी नै किन नहोस्, नेपालमा परिवर्तनको लहर चल्दै आएको छ । राणाशाही ढल्यो । पञ्चायत ढल्यो । राजसंस्था पनि त्यसरी नै ढलेको हो । परिवर्तनको लहर जहाँ पुगेको छ सधै त्यही अडिन्छ भन्ने होइन । राम्रो भयो, जनताको विश्वास र भरोसा जित्न सक्यो, परिवर्तित युगका आवश्यकताहरु पूरा गर्न सक्यो भने परिवर्तन लामो समय टिक्छ । अजम्मरी चाहिँ हुदैन । सधै चल्ने परिवर्तनको नेतृत्व स्वभावतः अग्रगामी प्रगतिशिल तप्काले गर्दछ । राणाशाहीको विरुद्धमा नेपाली काँग्रेस उभियो । पञ्चायतको रामनाम सत्य बनाउन वाम–प्रजातान्त्रिक शक्ति अघि स¥यो । राजशाहीको विरुद्धको आन्दोलनको नेतृत्व माओवादी पार्टी गरेको थियो ।

समयको गति कसैले रोक्न सक्दैन । काँग्रेसलाई राणाशाहीले रोक्न सकेन । वाम–प्रजातान्त्रिक शक्तिका अगाडि पञ्चायतशाहीले घुँडा टेक्यो । राजशाहीको विरुद्धमा उठेको माओवादी आन्दोलन दवाउन दरबार मात्र होइन, नेपाली काँग्रेसले आफ्नो सिंगो संगठनलाई होमेकै हो । तत्कालीन एमालेले पनि होस्टेमा हैसेँ मिलाएकै हो । हतियारबन्द पुलिसफोर्सले घुँडा टेक्यो । सेना मैदानमा उतार्दा पनि राजशाही जोगिएन । राजसंस्था ढल्यो । राजासहितको कथित प्रजातन्त्र ढल्यो । गणतन्त्रिक व्यवस्था स्थापित भयो । आजसम्म मानवसमाजले आविष्कार गरेका राज्यसञ्चालनका व्यवस्थामध्येको यो अन्तिम विकल्प हो पनि भनिन्छ । तर हिजैदेखि एकथरी मान्छेहरुले पूजिंवादी गणतन्त्रले मानव समाजका समस्या समाधान गर्न सक्दैन, मानवसमाजका सबै आवश्यकता सम्बोधन गर्न सक्दैन । त्यसैले नयाँ गणतन्त्र अर्थात जनताको गणतन्त्र आवश्यक पर्छ भन्दै आएकै हुन् । भन्दै छन् ।

त्यही पछिल्लो मान्यतान समातेर २०५२ सालमा माओवादीले हतियार उठाएको थियो । माओवादी पार्टी र त्यसका नेता कार्यकर्ताहरुमा अनेकौं कमजोरीहरु थिए होलान् । कार्यशैलीमा थुप्रै खोट त्रुटीहरु रहेहोलान् । पार्टीको कार्यनीति पूर्णरुपमा दोषमुक्त थिएन होला । तर विचार सबभन्दा कान्छो थियो । अर्थात हाल हाम्रो देशले सुमरीरहेको लोकतान्त्रिक गणतन्त्र त्रुटिपूर्ण छ र यसले जनताका समस्या सम्बोधन गर्दैन भन्ने नै थियो । त्यो आन्दोलन गणतन्त्रका लागि त थियो तर लोकतान्त्रिक गणतन्त्रको लागि होइन त्योभन्दा उन्नत गणतन्त्रको लागि थियो । जनगणतन्त्रका लागि थियो । त्यो आन्दोलन विध्वंश र विनाशका लागि थिएन । त्यो आन्दोलन सिंगो मानव समाजको अग्रगतिका लागि थियोे । माओवादी आन्दोलन समाजविकास क्रमले ल्याउने अनिवार्य रुपान्तरणको सहयोगका लागि थियो । समाज रुपान्तरणको बाह्य सहयोगी तत्व मात्रै थियो त्यो आन्दोलन । सुरक्षित डेलिभरीका लागि सहयोगी अस्पताल जस्तो मात्रै थियो त्यो आन्दोलन ।

नवजात शिशुको सुरक्षित धर्तीअवतरण सँगसँगै आमा र बच्चाको जीवन सुरक्षाको लागि अनिवार्य तत्व (सहयोगी) को रुपमा रहेको त्यो आन्दोलनको विरुद्ध उत्रेर समाज विकास क्रमको गतिलाइ उल्टो दिशामा घुमाउने प्रयत्न गर्नु लाशमा प्राण भर्न खोज्नु जस्तै मुर्खतापूर्ण महादेवहठ थियोे । आफूलाई आमुल परिवर्तनको पक्षधर भनाउन रुचाउने पार्टी, समूह वा व्यक्तिहरुले त्यस्तो अशोभनीय गतिविधिमा संलग्न हुनुु आफैं बसेको रुखको फेद काट्ने कालीदासे बुद्धिको अनुशरण गर्नु जस्तै मुर्खतापूर्ण व्यवहार प्रदर्शन गर्नु थियो । वामपन्थी भनिनेहरुले बोक्दैमा पूँजीवादको लाश नसड्ने, नकुहिने र नगनाउने हुन सक्तैनथ्यो । लाश त महादेवकै काँधमा चढ्दा पनि कुहिँदो रहेछ भन्ने कथाउपदेश स्वस्थानी कथाले दिन्छ । कुखुरो नबासिदिँदैमा सूर्यले उदाउन छाड्दैन । प्राकृतिक नियमको गति अवरुद्ध गर्न हतियार उठाउने दाइको जुन गति भयो, त्यस्तै गति निहथ्था भाइको हुँदैन भनेर कल्पना गर्नु मात्रै पनि मूर्खता थियो । सबैको हार भयो । राजसंस्थाले हा¥यो, काँग्रेसले हार खायो, एमाले पनि उत्तानाटाङ लगाएपछि आएको परिवर्तन थियो – लोकतान्त्रिक गणतन्त्र ।

व्यवस्था परिवर्तनको अन्तिम कसरतपछिको उपलब्धी लोकतान्त्रिक गणतन्त्रेकालले पनि दुई दशक पूरा गर्न आँट्यो । व्यवस्था परिवर्तनपछि माओवादी आफै परिवर्तन भयो । सत्तामा पटकपटक पुग्यो । चोला बदल्ने क्रममा एमालेको पापकुण्डमा पनि डुबुल्की मा¥यो । परिणाम जनताले “जुन जोगी आए पनि कानै किरेका” हुँदा रहेछन् भन्नुपर्ने भयो । जनतामा निराशा व्याप्त हुँदै गयो । अब केही हुदैन, देश बन्दैन भन्ने निष्कर्षमा नेपाली समाज पुग्यो । नेपाली समाजमा उत्पन्न छटपटी र ज्वारभाटाको सानो झलक पछिल्लो आम निर्वाचनमा देखियो । अर्थात मतदाताहरुले पार्टीहरु नसुध्रने हो भने जनता विकल्प खोज्न तयार छन् भन्ने दृष्टान्त देखाइदिए ।

सायद जनताको त्यही नसिहतबाट प्रभावित भएर हो कि पछिल्लो पटक सरकारले फरक बाटो समातेको आभास हुन थालेको छ । पछिल्लोपटक बनेको माकेको नेतृत्वको सरकारले अलिकता राम्रो लक्षण देखाएको छ । जनतामा अविश्वास यति चुलिएको थियो कि सामुन्ने, प्रत्यक्ष देखिएको कुरामा पनि शंका गर्नथालेको थियो । आविश्वास गर्न थालेको थियो । नेता र सरकारबाट देखाइने सुधारका कार्यक्रमहरुलाई सत्तामा टिकिरहनका लागि गरिएको नाटक मात्रै हो कि भनेर सतर्कतापूर्वक हेर्ने परिस्थिति निर्माण भैसकेको थियो । सरकारले फरक ढाँचा देखाएको छ । खासगरेर पुराना भ्रष्टाचारीहरुलाई कार्यवाहीको दायरामा ल्याउन थालेको छ । त्यसले कमसेकम “हिङ. नभए पनि हिङ् बाँधेको टालो” त माके नै रहेछ कि भन्ने विश्वास समाजमा पलाउन थालेको छ । राजनीति सुध्रन्छ कि भन्ने आशा पलाउन थालेको छ । मालिका प्रेस साप्ताहिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार