असहमतिको स्वतन्त्रता

  चन्द्रप्रकाश बानियाँ

म्याग्दी । २०५८ साल । आश्विन महिनाको पहिलो हप्ताको कुरा हो । त्यस वर्ष झण्डै एकै समयमा दुईवटा साप्ताहिक समाचार पत्रिकाहरु म्याग्दीमा जन्मेका थिए । म्याग्दी उति धेरै पढलेख गरिने ठाउँ त होइन । लेख्ने मान्छेको निकै खाँचो थियो । पाठक उपलब्ध भए पो लेख्नेहरुमा जाँगर चल्छ । जेहोस्, दुबै पत्रिकाका व्यवस्थापक सम्पादकका तर्फबाट लेख रचना उपलब्ध गराउने निम्तो पाएको थिएँ । वास्तवमा मोफसलका पत्रपत्रिकाहरु छापिने लेख रचनाहरु सिकारु लेखकहरुका हुने गर्छन् । पारिश्रमिक दिनुपर्ने हुदैन । लेखन्तेहरुलाई पारिश्रकिम दिएर पत्रिका चलाउन सकिने स्थिति पनि हुदैन ।

श्रमको मूल्य नपाउने व्यर्थको कसरत हो मोफसलका पत्रपत्रिका लेख्ने धन्दा । सिकारु लेखकले एउटा लेख तयार पार्न कमसकेकम २÷३ दिन खर्चेको हुन्छ । विशेष अध्ययन र परिश्रम गर्नु नपर्ने, सिर्जनाको लागि दिमाग लगाउनु नपर्ने, बनिबनाउ ढाँचामा पाँच मिनेटमा लेख्न सकिने ससानो निवेदन लेखिदिएवापत लेखन्दासहरुले कुस्त पारिश्रमिक कुम्ल्याउँछन् । लेखिदिए वापत पैसा दिनुपर्छ भन्ने मानिसहरुलाई बानी लागेको छ । तमसुक लेख्न अनुमति पत्र नचाहिने समय कुरा हो । घर गाउँमा घरसारका तमसुकहरु लेखिदिएवापत पारिश्रमिक लिएको सम्झना छ । देउ भनिदैन थियो । स्वेच्छाले दिएको रकम पसिनाको मूल्य भनेर लिइन्थ्यो ।

लेखकको सिर्जन र परिश्रमको कुरा गर्ने हो भने अड्डापास गर्नुपर्ने लिखतहरु तयार गर्नुभन्दा स्थानीय साप्तिाहिकमा छापिने एउटा लेख तयारगर्नु गाह्रो हुन्छ । गरुङ्गो हुन्छ ।, समय पनि बढी खर्च भएको हुन्छ । परिश्रम पनि बढी हुन्छ । पत्रिका चलाउनेहरुले त्यसबारेमा पटक्कै सोच्दैनन् । लेख्नु सजिलो कुरा होइन भन्ने स्वयम उनीहरुलाई जानकारी हुन्छ र पनि पटक्कै सम्वेदनशील बन्दैनन् । लेख छापिदिएर गुन लगाएको जस्तो गर्छन् । अझ कसैले त समसामयिक विषयवस्तुमा आधारित लेखहरु निकै ढिलो अप्रसाङ्क हुनेगरी छापिदिन्छन् । हुनत संसारैभरि यस्तै हो कि ? ज्ञानको उपेक्षा पुस्तक लेखन र प्रकाशनको मामलामा पनि उसैगरी हुने गर्छ ।

पत्रपत्रिकामा नियमित जस्तो कलम चलाउन थालेको झण्डै एकदशक बितिसकेको भए पनि ढल्कँदो उमेरमा लेख्ने रहर गर्दा मनले चाहे जसरी कलम नहिँडिदिँदो रहेछ । मनभित्रका भावनाहरु कलमले राम्ररी अभिव्यक्त गर्नै नसक्ने हुँदो रहेछ । मनभित्र कुरा खेलाउनु सजिलो कुरा रहेछ । त्यसलाई सिलसिला मिलाएर र ढङ्ग पु¥याएर कागजमा उतार्नु गाह्रो कुरा रहेछ । चोक चौतारीमा गफ हाँक्नु एउटा कुरा रहेछ । त्यसलाई तर्कपूर्ण ढङ्गले पठनीय सामग्रीको रुप दिनु अर्को कुरा रहेछ । सायद, कुनै कुराको अभ्यासको थालनी गर्ने पनि एउटा निश्चित उमेर हुँदोरहेछ । समयमा सिप विकास भएन भने ढिलो गरी गर्न खोज्दा काममा निखार ल्याउन गाह्रो पर्दो रहेछ ।

माझिएका कलमहरुद्वारा सिर्जित रचनाहरु पढ्दा आफ्नै भावनाहरु दुरुस्त जस्ताको तस्तै अभिव्यक्त भए जस्तै लाग्छ । त्यही विषयमा आफूले कलम चलाउन खोज्दा लेखनमा मिठास र मौलिकताको त कुरै छोडौंं भावनासम्म पनि पूर्णरुपमा व्यक्तिन सक्तैन । आफ्नोे लेखकीय हालत त्यस्तै हो । अनभ्यस्त अनाडी कलमलाई कनिकुथी घिसा¥यो, एउटै शब्दमा अभिव्यक्त हुनसक्ने कुरो सिंगो वाक्यमा व्यक्त हुँदैन । एउटा वाक्यमा भन्न सकिने कुरालाई सिंगो प्याराग्राफ खर्चनु पर्ने हुन्छ । मन गल्छ । हात थाक्छ । मसी तुरिन्छ । कागज सकिन्छ । तर न त आफ्नो भावनाको पूर्णं अभिव्यक्ति तयार हुन्छ न त सामग्री सुरुचिपूर्ण नै बन्छ । तैपनि हाम्रो ठाउँमा कलम चलाउन रहर गर्नेहरुको संख्या निकै पातलो भएपछि सकिनसकी, जानिनजानी ‘लाटो देशको गाँडो तन्नेरी’ बन्नुपर्ने बाध्यता नै हुँदो रहेछ ।

रंङ्ग्याउन त त्यतिबेलासम्ममा सयौं ताउ कागज रङ्ंग्याइ सकिएको थियो होला । तर हरेकचाेिट कलम चलाउनका निमित्त विशेष परिस्थिति कारक बनेको हुन्थ्यो । अर्थात सेतो कागजमा बाङ्गाटिङ्गा काला अक्षरहरु कोरेर आफ्नो नाम झुण्ड्याउनै पर्ने भएपछि मात्रै कलम चलाइन्थ्यो । लेख्नका निमित्त भनेर लेख्ने अभ्यास कहिल्यै गरिएन । कुनै कुरा लेखिहाल्ने हुटहुटीको महसुस कहिल्यै भएन । पहिले नै लेखेर राखिछोडेको लेखोट कुनै प्रकाशकलाई दिएको आजसम्म एउटा पनि उदाहरण छैन । प्रकाशनका तर्फबाट माग भै आएपछि मात्रै कनिकुथी लेख्ने गरिन्छ । यथार्थ त्यही हो ।

मेरो निजी स्वभाव, विवशता र यथार्थ जे भए पनि त्यतिबेला मित्रहरुका तर्फबाट अनुरोध आयो । त्यसलाई आफ्नो सम्मानको रुपमा विनम्रतापूर्वक ग्रहण गर्नुपर्ने आवश्यकता ठानियोे । नितान्त अल्छी स्वभाव र लेख्ने अभ्यासको कमीको कारणले यथार्थमा वचन पालना गर्नु फलामको च्युरा चपाउने काम थियो । तैपनि ‘हस हजुर’ भनियो । लेख रचनाको माग त धेरै ठाउँबाट आउने गथ्र्यो । कहीँ कतै अनुबन्धित भइएको थिएन । साथीहरुको मन राख्नका लागि मात्रै स्थानीय पत्रपत्रिकाहरुमा आक्कल झुक्कल लेख्ने गरिन्थ्यो । जेजस्तो परिस्थिति भएपनि साथीहरुको अनुरोधलाई नाईनास्ति गरेर इन्कार गर्न मनले मान्दैनथ्यो । कलम चलाउन सुरु गरियो तर अकस्मात एकदिन कलम रोकिने परिस्थिति उपस्थित हुन गयो ।

म्याग्दी संचारको अघिल्लो अंकमा ‘लाश त महादेवले बोके पनि कुहिन्छ’ भन्ने मेरो सानो टिपोट छापिएको थियो । लेखोट छापिदिएकोमा कृतज्ञता जाहेर गर्नै पथ्र्यो । किनकि बिनाकाँटछाँट मेरो लेखोट सर्लक्क छापिदिने कृपा गरिएको थियो । अभ्यस्त लेखक नभएको कुरा माथि नै स्वीकारिसकिएको छ । आफ्नो मनसाय पनि स्पष्ट हुने र सम्बन्धितको चित्त नदुख्ने कूटनीतिक भाषाको ज्ञान छैन । अभ्यास पनि छैन । मनले चाहेजसरी कलमले लेखिदिदैन । त्यसैले नचाहँदा नचाहँदै पनि कैयौंलाई तितो टर्रो लाग्ने खालको लेखोट बन्न गइदिन्छ ।

उक्त लेखोटलाई अलिकता दर्शन, अलिकता विज्ञान र अलिकता सिद्धान्त मिलाएर मिठो चटनी बनाउन खोजेको त हो । काम गर्छु भनेर मात्रै नहुँदो रहेछ । ‘ढंगले पो हुन्छ, लौ बरिया लौ !!’ । त्यसमाथि जिब्रोको स्वाद सबैमा एकनास हुँदैन । कसैलाई अलिकता नुन चर्को लाग्ला, कसैलाई अलिनु ! कसैलाई मसला नपुगे जस्तो पनि लाग्ला । आफूले अड्कलेको चुक सबैलाई ठिक्क लाग्छ भन्ने हुदैन । लेख्नेबेलामा त्यसबारेमा सचेत हुन त खोजिएकै हो । तैपनि विचार हो । मानिसहरुमा विचारको विविधता हुन्छ । सोचाई र चिन्तन फरक हुन्छ । बुझाई फरक हुन्छ । आफ्नो विचारसँग पूर्णरुपमा सहमत हुने त आफू मात्रै हो । सबै कुरामा सबैको सहमति हुनुपर्छ भन्ने आग्रह राख्न मिल्दैन ।

सहमत हुँदाको हदसम्म त ठिकै हुन्छ । असहमतिले प्रतिक्रिया जन्माउँछ । प्रतिक्रिया मिठो मात्रै हुदैन । राजनीतिक आन्दोलनहरुले नेपालीहरुलाई दिएको सबभन्दा ठूलो र महत्वपूर्ण कुरा विचारको स्वतनत्रता हो । उक्त लेखमा त्यही नागरिक अधिकारको उपभोग गरेको मात्रै थियोे । कुनै वर्ग, समूह वा विचार अथवा सिद्धान्तप्रतिको विशेष लगाव वा पूर्वाग्रह थिएन । दर्शन, विज्ञान र सिद्धान्तलाई सिरानी बनाएर एउटा विषयमा आफ्नो धारणा अभिव्यक्त गरिएको मात्रै थियो । कुनै विषयमा जानिनजानी अभिव्यक्त हुन खोज्दा कसैको भावनामा ठेस पुग्न जानु दुर्भाग्य भन्नुपर्छ । त्यो त नियत नभएर लेखकीय असक्षमताको परिणाम थियोे ।

असली कुरा के पर्न गयो भने त्यस अङ्कमा छापिएको सानो लेखले संयोगबस एमाले पार्टीको कार्यनीतिक त्रुटिप्रति नजानिदो असहमतिलाई अथ्र्याउने भाव सम्प्रेषण गर्न पुगेछ । सरकार, समाज वा कुनै संसदवादी समूहसंग कार्यनीतिक वा विचारधारात्मक असहमति राख्नुको अर्थ त्यतिबेला माओवादी पार्टीको पक्षधरताको रुपमा बुझ्ने अभ्यास समाजमा हुन थालेको थियो । लेखोटमा कुनै पार्टीविशेषप्रतिको आग्रह थिएन न त कुनै पार्टीप्रतिको विशेष अनुरागको कुरा नै थियो । तात्कालिक विषयप्रशंगमा आधारित तुलनात्मक विश्लेषण मात्रै थियो । लेख छापिएको पानाको साङ्गोपाङ्ग अवलोकन गर्दा, कसैलाई लेखले अलिकता चित्त दुखाईदिएछ कि भन्ने आभाष हुन्थ्यो । किनकि लेखोटको ठ्याक्कै मुन्तिर विशेष क्याप्सनमा एउटा विशेष विज्ञापन छापिएको थियो ।

पानाको डिजाइन् हेर्दा ‘लेखमाभन्दा अगाडि क्याप्सनमा पाठकको अाँखा परोस् । लेख पढी भ्याएपछि पनि पाठकहरुको ध्यान क्याप्सन तर्फ तानियोस् र क्याप्सनको विज्ञापन पढ्नेलाई माथिको लेखमा भनिएको कुरा त झुटो हो, असली कुरा जान्न बुझ्न विज्ञापित विषय पढ्नुपर्छ भन्ने सन्देश देओस्’ भन्ने स्पष्ट आसयबोध हुन्थ्यो । विज्ञापन आखिर विज्ञापन नै त हो । तर त्यो क्याप्सन राख्ने स्थान छनोटमा विशुद्ध विज्ञापनीय धर्म निर्वाह भएको हो भन्न मिल्दैनथ्यो । कमसेकम मलाई त्यस्तो लाग्यो । त्यसरी लेख छाप्नुभन्दा नछापिएकै राम्रो हुन्थ्यो जस्तो लाग्नु स्वभाविक भयो ।

जोकसैलाई पनि जुनकुनै विचार, सिद्धान्त वा दर्शनप्रति सहमति वा असहमति राख्ने स्वतन्त्रता हुन्छ । आफूलाई चित्त नबुझेको कुरामा शालीनतापूर्वक आफ्नो असहमति व्यक्त गर्ने स्वतन्त्रता पनि सबैलाई हुन्छ । तर जोसँग प्रतिवाद गर्नु पर्ने हो उसैको जस्तो (उस्तै) हतियार प्रयोग गर्नु राम्रो हुन्छ । मतलब जुहारी चलाउने निम्तो दिएको भने होइन । लेखक कलाकारहरु अलिकता अराजक हुन्छन् । मुखर हुन्छन् । उनीहरुलाई लागेको कुरा सार्वजनिक रुपमा अभिव्यक्त गर्न कुनै नीति, नियम र बन्धनले रोक्दैन । तर कसैसँग वाहियातमा बहस चलाउने कुरामा पटक्कै रुचि थिएन । आफूलाई लागेको कुरा बिनासंकोच निर्धक्कसँग सुनाउने र अर्काको कुरा पनि मजैले सुनिदिने । कुरो महादेवको काँध रहेको लासको थियो । मरिसकेपछि मान्छेको शरीर लासमा रुपान्तरित हुन्छ । लासलाई ओखती लाग्दैन । त्यसलाई बहसको विषय बनाउनुको अर्थ थिएन ।

पत्रिकामा छापिएको विज्ञापन आखिर विज्ञापन मात्रै हुन सक्थ्यो । प्राप्त विज्ञापनलाई राख्ने उपयुुक्त ठाउँ मिलाउँदा संयोग त्यस्तो परेको पनि हुन सक्थ्यो । कुन सामग्रीलाई कून ठाउँ दिने भन्ने सम्पादकको मनमर्जिको कुरा हो । विज्ञापनले ठाउँ किनेको हुन्छ । पैसाअनुसार विज्ञापन दाताले ठाउँ रोजेर लिन पनि सक्तछ । साँच्चै नै कसैले विशेष नियत राखेर त्यो तर्जुमा मिलाएको थियो भने पनि विज्ञापनले उनीहरुको निहीत उद्देश्य त पुरा किमार्थ गर्दैनथ्यो ।

विज्ञापनको हैसियत सिगरेटको बट्टाको एउटा कुनामा ‘धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ’ भनेर लेखिए भन्दा बढी हुँदैनथ्यो होला ! विज्ञापनदाताले चुरोट नखाउन्ः भन्ने पवित्र उद्देश्यले त्यो वाक्य लेखाएको होइन भनेर जोकसैले पनि बुझ्छ नै । कोठाभित्र बसेर आफूलाई मन नपरेको मान्छेको फोटोमा कालोमोसो दल्नुको के अर्थ रहन्छ र ? त्यो त हीनताबोधग्रस्त मानसिकताको अभिव्यक्ति मात्रै थियो ।
आफ्नो प्रवृत्ति अराजक छ । लेखन परिस्कृत छैन । कलात्मकता भन्ने कुरा त झन् टाढाको विषय हुने नै भयो ।

आत्मगौरव गर्न सकिने कुरा कति मात्रै थियो भने जे लेखिन्छ, जस्तो लेखिन्छ, त्यो विशुद्ध रुपमा विशेष आदर्शबाट निर्देशित भएर लेखिन्छ । बस । कुरो त्यत्ति नै थियोे । जानिनजानी कनिकुथी भए पनि उद्देश्यमूलक लेखनलाई आत्मसात गर्न खोजिएको हो । फेरि म्याग्दी संचारको पनि निश्चित आदर्श र उद्देश्य थियो होला । मेरो लेखन र म्याग्दी संचारको उद्देश्यबीच रहेको विषमताले अप्ठ्यारो परिस्थिति सिर्जना गर्न पनि सक्थ्यो ।

त्यस्तो अवस्थामा मुलाहिजा र लोकाचारको जरुरत थिएन । आ–आफना गन्तव्य आ–आफूसँगै सुरक्षित थिए । सम्पादक प्रकाशकहरुको प्रकाशकीय धर्ममा खलल पुग्नु हुुँदैनथ्यो । लेखकीय स्वतन्त्रताको सम्मान पनि हुनुपथ्र्यो । व्यवहारमा कुटिलता र जटिलता होइन सरलता, इमान्दारिता र खुलस्तपन हुनुपर्छ । सबै सधैं एकै ठाउँमा उयिभनुपर्छ भन्ने हुदैन । सबै आ–आफ्नै चौकिल्लाभित्र रहँदा कसैलाई कसैको कुहिनो लाग्ने डर पनि रहँदैन, खुट्टा लाग्ने सम्भावना पनि टर्छ भन्ने लाग्यो र म्याग्दी सञ्चारमा लेख्न छोडिएको थियो । मालिका प्रेस साप्ताहिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार