अहङकार होइन, असहमति मात्र थियो

  चन्द्रप्रकाश बानियाँ

म्याग्दी । स्वाभिमान नभएको मानिस विषविहीन सर्पजस्तै हो । ठीक्क मात्रामा स्वाभिमान नभएको मान्छेले जीवनमा अपेक्षित प्रगति गर्न सक्तैन । स्वाभिमानविहीन मान्छे दासमनोवृत्तिबाट ग्रस्त हुन्छ । दासमनोवृत्ति हुनेहरुमा विवेक नामको वस्तु हुँदैन । जसले स्वविवेकलाई भोटेताल्चा लगाएर थन्क्याएको हुन्छ ऊ अरुको ईशारामा नाच्न विवश हुन्छ । तत्पर रहन्छ । स्वाभिमान मान्छेलाई मान्छे भएर बाँच्न सघाउने चीज (गुण) हो । तर त्यही स्वाभिमानले सीमा नाघ्यो भने त्यो अहङ्कारमा रुपान्तरित हुनजान्छ । ‘म’ भन्ने भावना (ईगो) को अनियन्त्रित मात्राले मान्छेलाई पतनको दिशातर्फ धकेलिदिन्छ । रावण, कंस, दुर्योधन, हिटलर आदि त्यो प्रवृत्तिका राम्रा उदाहरणहरु हुन् ।

रामायणको खलनायक लङ्कापति रावणको कथा स्मरण गरौं । रावण विद्वान थियो । वुद्धिमान थियो । प्रतापी थियो । शौर्यशाली शुरवीर थियो । समृद्ध लङ्काको राजा थियो । एउटा महत्वाकांक्षी मान्छेले जीवनमा हासिल गर्ने कल्पना सपना सबै उसँग थियो । कुनै कुराको अभाव थिएन । साथै उसँग अहङ्कार पनि थियो । बलको अहङ्कार थियो । कूलको अहङ्कार थियो । धनको अहङकार थियो र त्यही अहंकारले उसलाई डुबाईदियो ।

अनाहकमा आफ्नी बहिनीको नाक कान काटिदिने राम लक्ष्मणको कुकृत्यप्रति असहमत हुनु, त्यसको प्रतिकार र प्रतिवाद गर्नु स्वाभाविक थियो । बुताले भ्याएसम्म उनीहरुलाई अपराध वापतको सजायँ गर्न खोज्नु पनि स्वाभाविकै थियो । अपराधीलाई अपराधअनुसारको दण्डभागी बनाउने कोसिस गर्नु न्यायसङ्गत हुन्थ्यो नै । आफ्नी बहिनीको काटिएका बुच्चे नाक कान टुलुटुलु हेरेर बस्न लङ्काको प्रतापी राजाको स्वाभिमानले दिँदैनथ्यो तर त्यसैलाई प्रतिष्ठाको विषय बनाउनु र बदलाको जङ्गली भावनाबाट बसिभूत भएर विवेक गुमाउनु युक्तिसँगत थिएन ।
बदला लिने भावनाबाट दुष्कर्मको तल्लो सीमासम्म ओर्लनुलाई राजसी स्वाभिमान मात्रै भन्न मिल्दैन । त्यो त बलसमृद्धिको अहङ्कार थियो । त्यो अहङ्कारले रावणको वंश विनाश मात्रै गरेन, लङ्काको समृद्धि पनि समाप्त बनायो । त्यसैले त भनियो होला ‘अति सर्वत्र वर्जयेत्’ । अति गर्नु, अतिसार नगर्नु । कहिलेकाहीँ स्वाभिमान र अहङकारमा विभेद गर्न निकै गाह्रो हुन्छ ।

त्यतिखेर मैले पनि त्यही अप्ठ्यारो समस्याको सामना गरिरहेको थिएँ । कथा वि.सं. २०५९ सालको जेठ महिनाको हो । सङ्कटकाल सुरुभएपछि मेरो घरडेराको टेलिफोनको लाइन म्याग्दी प्रशासनको दृष्टिमा आतङ्ककारीको हतियार ठहरेछ । मलाई भने त्यस कुराको औपचारिक जानकारी कसैले दिएको थिएन । हातमा हतियार र कलममा अधिकार हुनेहरुले लाइन काटिदिए । कालो नै भए पनि कानुनका अगाडि बाबुको दुहाईको कुनै अर्थ रहँदैन । मैले त्यत्तिकै लागि ‘जी हजुर’ गर्नु उपयुक्त ठानिन ।

सङ्कटकाल समाप्त हुने अन्तिम सातातिर एकदिन अकस्मात मेरो टेलिफोनको घण्टी फेरि बज्न थाल्यो । लाइन किन काटियो र किन जोडियो भन्ने कुराको खुलासा कसैले गरेन । जानकारी गराउनुपर्ने आवश्यकता ठानिएन होला । कसैले केही भने पनि नभने पनि कुरा बुझिएकै थियो । उपभोगको बानी परिसकेको सुविधाबाट बञ्चित हुनपर्दा असजिलो लाग्नु स्वाभाविकै हो । त्यस्तो बाधा अडकाउको अन्त हुनु खुसीकै विषय हो । कसैको कुनै व्यवहारबाट किञ्चित खुसी प्राप्त हुँदा मान्छेले कृतज्ञता जाहेर गर्छ । धन्यवाद चढाउँछ । मानिसको सामान्य प्रकृति हो त्यो । शिष्टाचार पनि हो ।

तर मैले चाहेर पनि र जानेर पनि त्यो उपकार वापत कसैलाई ‘धन्यवाद’ दिन सकिन । सभ्यता र शिष्टाचारको सामान्य व्यवहार अवलम्बन गर्न हिच्किचाउने हदसम्मको ‘कञ्जुस्याँई’ ममा किन र कसरी आयो कुन्नी ? कैयौ कुराहरु भित्री मनले नमान्दानमान्दै पनि लोकाचारको निमित्त बनावटी रुपमा मात्रै भएपनि पुरा गर्ने गरिन्छन् । गनैपर्ने हुन्छ । तर त्यस पटक सामान्य शिष्टाचारको एक शब्द ‘धन्यवाद’ उच्चारण गर्न मेरो वाणीले पटक्क उत्साह देखाएन । मर्माहत भएको मेरो स्वभिमानले सभ्य र शिष्ट देखिनुपर्ने आवश्यकता पटक्कै महसुस गरेन !

सामान्यतः नमस्ते गर्नु, माफी माग्नु र धन्यवाद दिनु गाह्रो लाग्दैन । नमस्ते नगर्नु पर्ने ठाउँमा पनि हात जोडिन्छन् । गल्ती नगरेकै बेलामा पनि माफी मागिन्छ । धन्यवाद फर्माउनु त झन हेलै लाग्ने नै भो । त्यतिबेला स्वाभिमानको भावना अहङ्कारमा रुपान्तरित हुन्छ कि भनेर मेरो विवेक सचेत र चिन्तित थियो सायद ? विवेकले बारम्बार घचघच्याई रहेको अनुभूति गरेको थिएँ । कतै केही बिस्र्यो कि ,केही छुट्यो कि जस्तो लागिरहन्थ्यो । केही बिर्से जस्तो, केही सम्झेजस्तो लागिरहन्थ्यो । बेलाबेला अव्यक्त कारणले झस्काइरहन्थ्यो । विवेकले हजारचोटि सचेत गराए पनि, हजारचोटि चाबुक हाने पनि मेरो मन भने टसको मस भएन ! बज्रडिठङ्गाजस्तो ढिठ र अडिग बनिरह्यो ।

टेलिफोन लाइन पुनः जोडिदिने अनुग्रह गरेकोमा धन्यवाद दिनु सामान्य शिष्टाचार सभ्यताको औपचारिकता थियो । जुन अपराध बापत मलाई सजायभागी बनाईएको थियो त्यसलाई मेरो अन्तर्मनले कहिल्यै स्वीकारेन । नगरिएको अपराधको दण्ड भिराउनेहरुले नै क्षमा माग्नु पथ्र्यो भन्ने एकोहोरो ठम्याई रह्यो मेरो । गल्ती गर्नेले गल्ती महसुस नगरेपछि मैले मात्रै धन्यवादको औपचारिकता निभाउनु पर्छ भन्ने के थियो र ? शिष्ट र सभ्य हुने नाममा एकतर्फी रुपमा धन्यवाद भनेर कृतज्ञता जनाउनु पनि एक किसिमले अपराधको स्वीकारोक्ति ठहर्ने कुरा हो जस्तो लाग्यो ।

माओवादको नाम सुन्दैमा भाग्नुपर्ने वा तर्सनुपर्ने कुरा थिएन । माओवादी नेता कार्यकर्ताहरुसँग मेरो व्यक्तिगत साईनो सम्बन्ध हुन सक्थ्यो । माओवादीहरु मेरो समाजका बासिन्दा नै थिए । छिमेकी र आफन्त थिए । समाजमा रहेपछि सबैसँग साइनो सम्बन्ध र व्यवहार हुनु स्वाभाविक थियो । त्यसैले माओवादीहरुसँग चिनाजानी नै छैन भनेर इन्कार गर्न सकिने कुरै थिएन । टकटकिनुपर्ने कारण पनि थिएन । र माओवाद रुचाउनु र माओवादी कार्यकर्तासमग व्यवहारिक साइनो सम्बन्ध राख्नु अपराध किमार्थ ठहर्दैनथ्यो ।

कुनै पनि मानिस जन्मले माओवादी हुँदैन । संसार र व्यवहार बुझेपछि न मान्छेले कुनै विचार दर्शनको अनुशरण अवलम्बन गर्ने हो । समाजमा बसेपछि समाजसँग हरेक मान्छेको सामाजिक सम्बन्ध गाँसिनु अनिवार्य छ । साइनो सम्बन्ध भन्ने कुरा जन्मदै गाँसिएर पनि आउन सक्छ । त्यसैले पुरानै साइनो सम्बन्धका कारणले कसैलाई पनि अपराधी सावित गर्न पाईदैन । जो कोही पनि विचार दर्शनका कारणले सामाजिक साइनो सम्बन्धको निमित्त अयोग्य हुन्छ भन्न मिल्दैन । विचारसँग साइनो सम्बन्धको लगनगाँठो गाँसिन्छ भन्नु मूर्खता मात्रै हो ।

कुनै मानिस यो वा त्यो वाद वा समुहमा आवद्ध छ भनेर नयाँ साइनो सम्बन्ध गास्न मिल्दैन भन्ने पनि होइन । अपराधी जन्म वा सम्बन्धले हुने होइन, मान्छेलाई अपराधी सावित गर्ने अपराधले हो । त्यस अर्थमा मेरा माइती. मावली वा दाजुभाईहरु माओवादी छन् भनेर राज्यले मलाई अपराधी ठह¥याउन किमार्थ मिल्दैनथ्यो । जहाँसम्म मेरो नीजी मान्यताको कुरा हो माओवादलाई अपराध मान्न मेरो विवेकले पटक्क दिँदैनथ्यो । कुण्ड कुण्ड पानी,……!

स्पष्ट कुरो के थियो भने म आफै माओवादी पार्टीमा संगठित थिइन । उसो त माओवादीले उठाएका कैयौं कुराहरु राम्रा थिए । समाजका लागि आवश्यक थिए । अनिवार्य थिए । गरीबले आर्थिक न्याय पाउनुपर्छ भन्नु कसरी अपराध हुन्थ्यो र ? समाजबाट जातभेद र छुवाछुत मेटिनुपर्छ भन्नु कसरी गलत हुन्थ्यो र ? पिछडिएका क्षेत्र र जातिहरुले स्वशासनको अधिकार पाउनुपर्छ भन्नु कसरी गलत थियो र ? समाजलाई आनेढ्याके व्याज लिएर सताउने सामन्तहरु भाटे कार्वाहीमा पर्ने कुरा कसरी नराम्रो भन्न मिल्थ्यो र ? समाजबाट सबैखालका विभेद, शोषण र अन्याय समाप्त पार्ने अभियानलाई अनावश्यक भन्न कसरी सकिन्थ्यो र ?

हो, माओवादीका कैयौं गतिविधि अपाच्य थिए । अति हिंसा, अर्थात मान्छेको ज्यानै लिने कुरासँग कहिल्यै सहमत हुन सकिदैनथ्यो । भइएन । हो कैयौं कार्यक्रमहरु अविवेकपूर्णं पनि हुन्थे । असामाजिक प्रकृतिका पनि थिए । कानुनविपरित पनि थिए तर समग्रमा माओावदीले उठाएका अधिकांश राम्रा कुरासँग सहमत हुनु अपराध हुदैनथ्यो । कमसेकम मेरो विवेकले त्यसरी बुझ्न मान्दैनथ्यो । राज्यको होमा हो मिलाएन सकिदैनथ्यो । आफ्नो त्यही मान्यता प्रशासनबाट लुकाउनुपर्छ भन्ने पनि लाग्दैनथ्यो । माओवादीलाई हेर्ने बुझ्ने मामलामा राज्यसँग मेरो असहमति थियो । सायद राज्यप्रशासनलाई रुचेन । बस्, कुरा त्यत्ति थियो । प्रशासनको आँखामा विझाउने काँडा सावित हुनुको कारण त्यही मात्र थियो । मालिका प्रेस साप्ताहिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार