म्याग्दी । प्रसङग २०७० साल आषाढ महिनाको हो । मेरो ठूला दाजु बिरामी हुनुहुन्थ्यो । सधै सामाजिक गतिविधिमा सक्रिय रहन रुचाउने दाजु ओछ्यान पर्नु भएको थियो । बसाई पनि धुम्वाराहीको कुनामा थियो । घर अगाडि टेनिसकोर्ट थियो । विहान बेलुका प्रशिक्षार्थीहरु देखिन्थे । अघिपछि त्यो क्रिडास्थल पनि सून्य सून्य रहन्थ्यो । घरको छतबाट स्पष्ट देखिने गरी एकघरउता मूलबाटो थियो । तर उति चल्तीको थिएन । सवारी साधनहरु आक्कलझुक्कल मात्र देखिन्थे । घाँटीको रोग खुलेर आवाज निस्कन गाह्रो हुन थालेको थियो । स्वर बसेको थियो । “अब कति बोलुँला र” भन्ने लागेर हो कि आफ्ना मनका कुराहरु व्यक्त गर्न दाजु लालयित रहुनुहुुन्थ्यो । त्यसैले दिनहुँ म दाजुको घरमा पुग्ने गरेको थिएँ ।
क्यान्सरले ग्रस्त बनाइसकेको थियो ।
साँचो कुरा गर्ने हो भने दाजुले पूर्ण सचेतनाका साथ मृत्युको प्रतीक्षा गरिरहनु भएको थियो । मृत्यु निश्चित भएपछि मान्छेमा कि त निश्चिन्तता हुन्छ कि भने व्यग्रता । दाजु भने शान्त नै रहनु हुन्थ्यो । आफ्नो अभिभावक, मार्गदर्शक, गुरु, बाबुपछिको पूजनीय जेठो दाजुलाई मृत्युको प्रतीक्षामा रहेको देख्दा मन द्रवित हुन्थ्यो । मन भरिएर आउँथ्यो । तैपनि दाजुसँग सामान्य व्यवहार गर्नुपथ्र्यों । अर्थात केही नभएजस्तो नाटक गर्नुपथ्र्यो । अभिनय नजानेको मान्छे मलाई कुनबेला पोखिन्छु जस्तो डर लागिरहन्थ्यो ।
एकदिन मेरा ठूलो दाजुले हामी दुईभाइबीच धर्म, देवता, देवधाम र पूजाअर्चनाको सम्बन्धमा भएको संक्षिप्त चर्चाको पुरानो प्रसंङ्ग सम्झनु भो । केबल धर्माचरणको विषयमा मात्र होइन राजनीतिक र व्यावहारिक चिन्तनमा समेत हामी दुईभाइबीच विमति रहन्थ्यो । राजनीतिक विमतिले त कहिलेकाहीँ पारीवारिक सम्बन्धमा तिक्तता उत्पन्न गराउने हो कि जस्तो अप्ठेरो परिस्थिति पनि निर्माण हुन्थ्यो । तर हामी बेलैमा सम्हालिन्थ्यौं, सच्चिन्थ्यौं । व्यवहारमा हामी वास्तवमै आदर्श दाजुभाइ थियौं भन्नु बढ्ता हुँदैन । पाँचजना दिदीभाइहरुमध्ये उहाँ जेठो, म कान्छोे । हाम्राबीचमा उमेरको पनि १२ वर्षको अन्तर थियो । झण्डै पुृस्तान्तर भन्न मिल्ने उमेरको घटीबढीले पनि जीवन र जगतलाई हेर्ने बुझ्ने विषयमा मतान्तर हुनु स्वाभाविक थियो ।
राजनीतिक दर्शन र मान्यताका दृष्टिले विलकुल भिन्न दुई कित्तामा उभिएका भए पनि हरेक विषयमा हामीबीच हार्दिक छलफल, बहस हुन्थ्यो । दार्शनिक दृष्टिले निकटता हुन नसके पनि हरेक विषयमा विचार, विमर्श र सल्लाह सुझावको आदानप्रदान कहिल्यै रोकिएन । खासगरेर २०३६ साल र पञ्चायतको पतनपछि मैले दिएको सल्लाह नमानेको पछुतो दाजुमा मरणपर्यन्त थियो नै । २०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा लाग्न र २०४६ पछि राजनीतिक दल खासगरेर, काँग्रेसमा लाग्न सल्लाह दिएको थिएँ । २०१५ सालको चुनावमा मेरो दाजु काँग्रेसको कार्यकर्ता हुनुहुन्थ्यो । पछि पञ्चायतमा लाग्नु भयो । पञ्चायतमा यसरी डुब्नु भयो कि पञ्चायतको अवसानपछि पनि बहुदलीय व्यवस्थालाई मनैदेखि आत्मसात गर्न सक्नुभएन ।
उमेरले पाको भए पनि हरेक कुरामा सल्लाह माग्ने गर्नृुहुन्थ्यो । कैयौं कुरामा भाइले फरक विचार राख्छ भन्ने जान्दा जान्दै पनि सल्लाह लिनु हुन्थ्यो । मैले यस्तो गर्न आँ्टे अथवा यस्तो सोच बनाएको छु कस्तो होला भनेर सोध्नु हुन्थ्यो । पञ्चायतकालमै पनि कैयौं पटक दाजुको र मेरो कित्ता फरक हुन्थ्यो र पनि एकअर्काबिच सरसल्लाह, छलफल, सहमति विमति भैरह्न्थ्यो । त्यसैले ती दुई पटक मैले विशेष जोड गरेको थिएँ । मनाउन सकिन । मेरो सल्लाह मानेको भए आफ्नो सामाजिक हैसियत फरक हुने थियो भन्ने आत्मस्वीकृति दाजुमा रहेछ तर कहिल्यै खुलेर भन्नु भएको थिएन । जीवनको अन्तिम अवस्थातिर भने त्यो कुरा निकाल्नु भयो र नमानेकोमा पछुतो व्यक्त गर्नुभयो ।
राजनीतिक कित्ता र धारणामा मात्र होइन, धार्मिक आस्था र विश्वासका सम्बन्धमा पनि हामीबीच बिल्कुल विपरित सोच निरन्तर रहिरह्यो । तर त्यो दिन पुरानो प्रसंङ्ग किन सम्झनु भयो कुन्नी ? देवता, धर्म, पूजा र अध्यात्मको सम्बन्धमा मेरो आलोचनात्मक चिन्तनसँग उहाँ कहिल्यै सहमत हुनु हुनुहुदैनथ्यो र पनि जीवनको सन्ध्याकालमा त्यो प्रसंङ्ग सम्झनुको अर्थ कहीँ न कहीँ मेरो मान्यता दाजुको मनमा गढेको रहेछ कि जस्तो अनुभूति मैले गरेको थिएँ ।
पञ्चायतकालको अन्ततिरको कुरा हो– पञ्चायतविरोधी आन्दोलनले गति लिन थालकोेले पञ्चायतका हिमायतीहरुलाई अत्याउन थालिसकेको अवस्था थियो । जिल्ला जिल्लामा प्रतिकार समितिहरु गठन गरिएका थिए, पञ्चहरुका ¥याली, गोष्ठी, भेला र सम्मेलनहरु बाक्लै आयोजित हुन थालेका थिए । स्वभावतः मेरा दाजु पञ्चायतको टेकोपुँडो लगाउने काममा व्यस्त हुनुहुन्थ्यो । निर्दल प्रचार समितिको जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । आफ्नो व्यस्त कार्यक्रमबाट फुर्सद लिएर दाजु घरमा आएको जानकारी मिलेपछि एकदिन एकाविहानै दाजुलाई ओछ्यानमै भेट्छु भनेर माथिको घरमा पुगेको त दाजु आफै कतैतिर लाग्ने तयारीमा हुनुहुँदो रहेछ ! तर त्यो दिनको तयारी पञ्चायत संरक्षणको अभियानमा होइन कि पक्षैको मन्दिरमा बाबर (रोट) चढाउन जाने रहेछ ।
दाजुसँग गफिने योजना बनाएको म हिस्स्स परेँ । आफू देवधाममा जान साइत गरिसकेको हुनाले औपचिरिकताबस मलाई पनि पक्षै जाने प्रस्ताव गर्नुहुँदा मैले दिएको जवाफ दाजुको मनमा गढेको रहेछ र जीवनको अन्तकालसम्म पनि सम्झनु भएको रहेछ । जतिबेला त्यो पुरानो प्रसंङ्ग स्मरण गर्नु भयो त्यतिबेलासम्म दाजुको शारीरिक अवस्था नाजुक भैसकेको थियो । आस्था, विचार, चिन्तन र व्यवहार बदल्ने स्थिति अब थिएन । त्यसपछि उहाँको भौतिक देह दुईहप्ता पनि तगेन ।
२०३६ सालको अन्ततिरको त्यो दिन भएको कुरा के थियो भने पक्षैका लागि साइत गरिसकेका मेरा दाजुले ठट्टाकै शैलीमा भन्नुभएको थियो–“ तँलाई देवता र धर्मकर्ममा विश्वास छैन, विश्वासै नभए पनि मठ मन्दिर जाँदैमा जातै जाने होइन क्यारे ! मलाई त फुर्सद मिलेसम्म देवधामहरुमा जान रुचि लाग्छ । आज पनि पुलस्त्यआश्रम जान हिँडेँ म त । विदाको दिन छ क्या रे, जाने भए जाउँ हिँड् ।” तिनताका मैले बााबियाचौरमा माष्टरी गर्दैथिएँ ।
मन्दिर सन्दिर धाउने वाहियात चेष्टामा मेरो रुचि छैन भन्ने कुरा दाजुलाई राम्रोसँग जानकारी थियो । जाँदैन भन्ने जान्दाजान्दै पनि दाजुले औपचारिकता पूरा गर्नु भो । मैले पनि ठट्टैमा जवाफ फर्काएँथे–“मठ मन्दिर धाउने, पूजा अर्चना, भाकल मनितो गर्ने त पापकर्म गर्नेहरुले हो । जस्ले पाप गरेको हुन्छ ऊ सदासर्वदा आफूबाट भएको पापको दण्डबाट भयभित हुन्छ, त्रसित हुन्छ र माफी पाइन्छ कि भनेर देवताको शरणमा पर्छ । जस्ले पाप गर्दैन उसलाई नत दण्डको डर नत भगवानको भय नत प्रायश्चित्तको चिन्ता ? पहिलो कुरा त देवताको अस्तित्वमा नै मेरो फरक मान्यता छ । होइन, साँँच्चै देवताको अस्तित्व कहीँ कतै छ भने पनि डराउनु तर्सनुपर्ने कुनै कारण मसंँग छैन ।
मैले जानी जानी बुझपचाएर पापकर्म पटक्र्कै गर्दिन । अनजानमा भएको पाप रहेछ भने पनि सर्वज्ञाता इश्वरलाई जानकारी नहुने कुरै भएन । भगवान अवश्य दयालु हुन्छन्, विवेकी हुन्छन् होला । अनजानमा गरेको पापको दण्ड दिदैनन् होला । फेरि परमेश्वर सर्वज्ञ र सर्वव्यापी छन् भन्ने मान्यता छ । भगवानलाई भेट्न मन्दिर र देवधामसम्म धाउनै पर्दैन । इश्वरले नेदेखेको, नजानेको र नटेकेको कुन ठाउँ हुन्छ र ? पवित्र चिन्तन र निष्पाप मनहरुका लागि भगवान सर्वत्र उपलब्ध छन् ।”
“तँ नास्तिक सधंै यस्तै कुरा गर्छस् । नगए नगैराख, म त हिँडे पुलस्त्याश्रमतिर” भन्दै दाजु पक्षैतिर लाग्नु भो म मेरो घरबासतिर फर्केथेँ ।
मेरो ठूला दाजुको अध्यात्मप्रति अगाध आस्था थियो । देवता र धर्ममा गहिरो विश्वास थियो । संगसंगै उहाँमा धर्मसंस्कृति संरक्षणप्रतिको सचेतना पनि थियो । गाजनेको जगन्नाथ मन्दिर र पक्षैको शिवमन्दिरको खरफुसको छानो रहेको कच्ची मन्दिरसंरचनालाई स्लेटको छाना राखेर पुननिर्माण गराउने कार्यको पहल उहाँले नै गर्नुभएको थियो ।
जगन्नाथ मन्दिरबाट चोरिएका मूर्तिहरुलाई तत्कालीन राजा वीरेन्द्रबाट “हुकुमप्रवाङ्गी” गराएर पुनस्थापित गराउने कार्यको श्रेय पनि लालबहादुर बानियाँलाई नै जान्छ । अञ्चलाधीश कार्यालयले जगन्नाथबाट चोरिएर बाग्लुङ् अदालतमा रहेका मूर्तिहरु जगन्नाथमा पुनस्थापनागर्ने गरी मेरा दाजुलाई बुझाउनु भनेर सिडिओ कार्यालय म्याग्दीलाई निर्देश गरेछ । तत्कालीन जिल्ला प्रशासनले मेरा दाजृुको जिम्मा लगाएका मूर्तिहरु एक रात दाजुकै घरमा बास बसेका थिए ।
मेरा बाबाले नित्यविहान गीता पाठ गर्नुहुन्थ्यो, शालीग्राम पुज्नु हुन्थ्यो । एक हिसाबले मेरो घर पनि मन्दिर जस्तै थियो । त्यसैले मेरा जेठा दाजुमा रहेको धार्मिक आस्था र विश्वास जन्मजात नै हो भन्दा फरक पर्दैन । घरको वातावरणको प्रभाव थियो । दिनहँु शंखघण्ट बज्ने, बेमलामौका पूजापाठको भव्य आयोजना हुने र घरआँगन वेदध्वनीहरु गुञ्जने वातावरणमा हुर्केको ममा फरक सोचको विकास हुनु आफैमा आश्चर्यको विषय हो । मलाई पढ्नमा असाध्य रुचि थियो । खासगरेर मेरो जीवनमा किताबभन्दा घनिष्ट साथी अर्को कोही हुनै सकेन ।
ममा अध्ययनप्रतिको रुचि जगाउने पहिलो कारकतत्व धार्मिकग्रन्थहरु नै हुन्, । पढ्ने लत बसाल्नमा धार्मिकग्रन्थहरुको हात छ । निकै सानो उमेरमै मैले रामायण, महाभारत, शुकसागर जस्ता धार्मिकग्रन्थहरु पढ्ने अवसर पाएको थिएँ । कल्याणद्वारा प्रकाशित “महाभारत”, सरस्वती दयानन्दकृत “सत्यार्थ प्रकाश”, शुक्रराज शास्त्रीको “नेपालको भूगोल इतिहास” र पुरानो तथा नयाँ दुबै “टेस्टामेन्ट बाइबलहरु” जस्ता धार्मिक ग्रन्थहरुले अध्यात्मप्रतिको चिन्तन र बुझाइलाई यथार्थपरक बनाउनमा सहयोग पु¥याएका हुन् ।
बालकालमै पलाएको अध्यात्मजिज्ञासाले आजभन्दा ४०÷ ४५ वर्ष अगाडि नै वनारसबाट हिन्दी भाषाटिका सहितका वेदहरु मगाएर पढ्ने अभिरुचि ममा जागेको हो । ती पुस्तकहरु अहिले पनि भिरमुनीस्थित मेरो घरको कुनै कुनामा धमिराले भोजन बनाउँदै होलान् । आफूलाई धार्मिक भनाउन रुचाउनेहरु त धेरै देखिन्छन् तर ती पुस्तकहरु पढ्ने जाँगर भएको मान्छे एउटा पनि त्यो ठाउँमा आजसम्म जन्मेको छैन । रामायणबाट सुरु भएको अध्यात्मजिज्ञासाले ऋगवेदसम्म पुगेपछि एउटा उचाई प्राप्त गर्दोरहेछ । मान्छेको देृष्टिकोणमै आकास जमिनको अन्तर ल्याइदिँदो रहेछ । देवता, ईश्वर, परमात्मा, परमेश्वर आदिको बारेमा दाजुसँग मेरा मतभिन्नता सिर्जनागर्ने मूख्य कुरा वास्तवमा धर्मग्रन्गथहरुकै आलोचनात्मक अध्ययन, मनन र चिन्तन थियो भन्दा फरक पर्दैन ।
जीवनभर मेरो मान्यता र तर्कसँग सहमत पटक्कै नहुने दाजुले जीवनको अन्तकालमा दुई भाईबीच भएको छोटो धार्मिक वार्तालाप सम्झनु भयो । सम्झेको मात्र होइन, आफू गलत भएको स्वीकार्नु भएको थियो । मलाई त्यतिखेर मात्र होइन, आज पनि अचम्म लाग्छ । लक्ष्मीप्रसाद देवकोटाजस्ता विद्वानले मृत्युशैयामा पुग्दा “आखिर श्रीकृष्ण रहेछ एक” भन्ने कविता नै लेखेका थिए । जीन्दगीभर धर्म संस्कृतिको पक्षपोषण गर्ने, धार्मिकस्थलहरुको निर्माण संरक्षण गर्ने, मन्दिरहरुमा देवमूर्तिहरु चढाउने, घरमा विहानबेलुका पूजा गर्ने, समय निकालेर मन्दिर दर्शन गर्न गैहाल्ने मेरा दाजुले जीवनको अन्तिम क्षणतिर भने मैले लिएको नास्तिकताको बाटो ठिक रहेछ भन्ने भाव व्यक्त गर्नु भएको थियो ।
उसो त मेरा दाजु मेरो अभिभावक मात्र होइन, मेरो गुरु पनि हुनुहुन्थ्यो । जीवनको अन्तकालतिर मेरो पिठमा धाप मारेर मेरो मान्यताको समर्थन गरेको मात्र होइन, अडिग रहन अभिप्रेरित गर्नु भएको थियो । मैले आदरणिय दाजुको अवज्ञा कसरी गर्नु सक्छु र ? त्यसैले म उस्तै छु । जीवनपर्यन्त यस्तै रहने छु । मालिका प्रेस साप्ताहिकबाट