मन्त्री जुग्जालीद्धारा महभिरको पहिरो निरिक्षण

  म्याग्दी न्युज संवाददाता

महभिर । म्याग्दीको मालिका गाउँपालिका–४,महभिरको पुरै वस्ती पहिरोको जोखिममा परेको छ । वस्ती माथिको पाखोबाट खसेको पहिरोले दुई वटा घर भत्किनुुका साथै खानेपानी र सडक आयोजनामा क्षति पुगेको छ । वडा सदस्य गर्वे गुरुङले काले कामी,  रबीलाल घर्ति र कमारी घर्तीकाे घर भत्किएको र १३ घर जोखिममा परेको जानकारी दिनुभयो । “पहाडको फेदीबाट शुरु भएको दुई वटा पहिरो फेदीमा रहेको रितुङखोला सम्म पुगेको छ,” उहाँले भन्नुभयो “टंकी, मुहान र पाइपलाइनमा क्षति पुगेकाले २५ घरधुरीले प्रयोग गर्ने खानेपानी आयोजना अवरुद्ध भएको छ ।”

फुलवारी–महभिर–च्युरीबोट सडक अवरुद्ध भएको छ । पहिरोले गाउँको बिचमा ठुला ठुला खोल्सी बनाएको छ । खोल्सा छेउछाउको जमिन चिरा चिरा भएको छ । दुई सय रोपनी भन्दा बढी खेतीयोग्य जमिनमा पनि पहिरोले क्षति गरेको छ । गत बुुधबार राती आएको पहिरोले तुुलबहादुरको गोठमा रहेका एक वटा राँगो र एक वटा गोरु मरेका थिए । “हामी त्यो दिन घरमा नभएकाले पहिरोबाट बचियो,” रबिलालले भन्नुभयो “११ जनाको परिवार आफन्तकोमा आश्रय लिएर बसेका छौ ।”

काले कामीले पहिरोले पुरिएको बाहेक अर्को ठाउँमा रहेको घडेरीमा पनि पहिरोको जोखिम भएकाले कहाँ बस्ने भन्ने चिन्ताले सताएको बताउनुभयो । पूर्णदेवी घर्ति, सहबहादुर घर्ति, सहबहादुर सुनार, लालबहादुर कामी, तिलक कामी, गोेरे कामी, पोविसरा सुनार, बिरबहादुर कामी, मुक्तिराम सुनार, कुलप्रसाद घर्ति, भिमप्रसाद सुनार, रहमन घर्तिको घर जोखिममा रहेका वडा सदस्य गुरुङले बताउनुभयो ।

सो ठाउँमा गत हिउँदमा पनि सुख्खा पहिरो खसेर एक वटा घरमा क्षति गरेको थियो । पहिरो प्रभावित क्षेत्रको बिहिबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले निरिक्षण गर्नुभएको थियो ।“पहिरोबाट घरवास गुुमाएकाहरुलाई जिल्ला प्रशासन कार्यालय मार्फत राहतको व्यवस्था हुन्छ,” उहाँले भन्नुभयो “घर पुननिर्माणका लागि तिनै तहका सरकारको साझेदारीमा पाँच लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराउने व्यवस्था भएकाले सोही अनुसार सहयोग गर्छौ ।”

तत्कालीन रुपमा खानेपानी आपुर्ति र सडक मर्मत तथा पहिरोबाट थप क्षति हुन नदिने र दिर्घकालिन रुपमा पहिरो नियन्त्रण तथा वस्ती संरक्षण अथवा स्थानान्तरणको योजना कार्यान्वयन गरिने उहाँले बताउनुभयो ।यसैगरी मन्त्री जुुग्जालीले गत सोमबार ढिस्कोले पुरिएर ज्यान गुुमाएका मालिका गाउँपालिका–२ बेलीका तिर्थबहादुर विश्वकर्माका परिवारसँग भेटघाट गर्नुभएको छ । भेटघाटका क्रममा मन्त्री जुग्जालीले घटनाप्रति दुख व्यक्त गर्दै प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालय मार्फत पहिरोमा ज्यान गुमाएकालाई दुई लाख रुपैयाँ उपलब्ध गराउने जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार