म्याग्दीकाे जलजला क्षेत्रकाे जंगलमा भेटियाे दुर्लभ रेडपाण्डा

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–२,स्थित जलजला क्षेत्रको धन्सेमाने जंगलमा दुर्लभ रेडपाण्डा ( हाब्रे) देखिएको छ । मरेनीका स्थानीय युवा सुवास थापाले दृश्य लिनुभएको छ । केही दिन अघि जंगलमा च्याउ तिप्न गएकाे समयमा करिब २५ मिटर टाढा रुखमा रेडपाण्डालाई प्रत्यक्ष देखेको थापाले म्याग्दी न्युजलाई बताउनुभयो । आफुहरुलाई देखेपछी रेडपाण्डा पनि भागेको उहाँको भनाइ छ । उहाँका अनुसार ,तीन वर्ष पहिले पनि सोही जंगलमा उस्तै रेडपाण्डा देखिएको थियो ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको करिब २ मिनेट १२ सेकेण्डको भिडियोमा लजालु स्वभावको रेडपाण्डाले पैदल यात्रीलाई देखेर रमाइरहेको देख्न सकिन्छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले रेडपाण्डाकोसंरक्षणमा पालिकास्तरबाटै सचेतनामूलक अभियान सञ्चालन गरिने बताउनुभयो । ‘म्याग्दीको जलजला क्षेत्रको जङ्गलमा रहेका रेडपाण्डाको संरक्षण गर्न स्थानीय समुदायलाई सक्रिय बनाउँछौं,’ उहाँले भन्नुभयो ,‘दुर्लभ जनारको संरक्षण गर्न सकेमा अध्ययन तथा अनुसन्धानका लागि गन्तव्य बनाउने मौका पनि हो ।’

विश्व वन्यजन्तु कोषको सहयोगमा हरियो वन कार्यक्रम र रेडपाण्डा नेटवर्कले गरेको अध्ययनका क्रममा समुदाय स्तरमा गरिएको अभियान प्रभावकारी भए पनि नियमित कार्यक्रम नहुँदा समस्या भएको थियो। करिब ७ वर्ष विश्व वन्यजन्तु कोषको सहयोग तथा हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले खोजी अभियान सञ्चालन गरेको थियो।

लुलाङको मरेनी सामुदायिक वन, ढोरपाटन सिकार आरक्षको जलजला, गुर्जा र मुदीको जङ्गलमा हलुका रातो, सेतो र कालो रङको रेडपाण्डाको वासस्थान फेला पारे अनुसन्धानकर्ता बन्द्री पाण्डेले प्रत्यक्ष फेला पार्नुभएको थिएन । तत्कालिन समयमा रेडपाण्डाको महत्वको बारेमा वडा नम्बर १ गूर्जा र लुलाङका विद्यार्थी, समुदायलाई समेत सचेतनामूलक कार्यक्रम गरी जानकारी गराइएको थियो।

रातको समयमा रूखको टोड्कामा बास लिने र दिउँसोको लागि रूखका हाँगा बसी आराम गर्ने, भोक लागेको बेला निगालोको टुसा लगायत झारपात खान भुईँमा झर्ने गरेको रेडपाण्डाको महत्वको बारेमा जानकारी पाएपछि चोरी निकासी कम भएपनि देखिन छाडेका थिए। रेडपाण्डाका लागि आवश्यक आहारा निगालो तथा पालिङ्गो र टोट्का परेका रुख गूर्जा र लुलाङको जंगलमा पर्याप्त छ । समुन्द्री सतहबाट दुई हजारदेखि चार हजार ८०० मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ ।
म्याग्दीको धवलागिरी गाउँपालिका–२,लुलाङ स्थित जलजला क्षेत्रको जङ्गलमा देखिएको रेडपाण्डा हाब्रे)को तस्बिर ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार