गुरुङले जिते मोना मिनी म्याराथुन प्रतियोगिताको उपाधि

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको सदरमुकाम बेनीमा आयोजित मोना लभ्लीहिल मिनी म्याराथुन प्रतियोगिताको उपाधि गोरखाका नवराज गुरूङले जित्नुभएको छ । मोनाको अगुवाईमा निर्मित बेनी–लभ्लीहिल पदमार्गको प्रचार–प्रसारका लागि शुक्रबार विहान आयोजित मिनी म्याराथुन प्रतियोगितामा शत्रुभञ्जन गुल्मका गुरुङले १८ मिनेट ४६ सेकेण्डमा पार गर्नुभयो।

सदरमुकामस्थित खुल्लामञ्चबाट सुरू भएको म्याराथुन हाँडेभिरको लभ्लीहिल पदमार्ग हुदै लभ्लीहिलमा पुगेर बाङ्गेरा–लभ्लीहिल सडकखण्ड हुदै खुल्लामञ्चमा पुगेर टुंगिएको थियो । प्रतियोगितामा १९ मिनेट ४९ सेकेण्डमा सोही दुरी पार गरी धवलागिरी गाउँपालिका वडा नं ६ का विराज परियार दोस्रो र १९ मिनेट ८९ सेकेण्डमा दुरी पार गर्दै बागलुङका बादल कार्की तृतिय हुनुभएको थियो ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिले पाँचौ महाधिवेशनको अवसरमा पदमार्गमार्फत बेनी र लभ्लीहिलको पर्यटन प्रर्वधनका लागि प्रतियोगिताको आयोजना गरेको अध्यक्ष अम्मर छन्त्यालले बताउनुभयो। प्रतियोगितामा ४० जनाको सहभागिता रहेको थियो ।

बेनी नगरपालिका–२,ज्यामरुककोटस्थित खबरामा रहेको लभ्लीहिल भ्रमण गर्न सदरमुकाम बेनीबजारदेखि पर्यटकीय क्षेत्र लभ्लीहिलसम्म पुर्याउन प्रतियोगिताले सघाउने अपेक्षा मोनाको छ । प्रतियोगिताका प्रथम, द्धितिय, तृतियलाई क्रमश नगद २० हजार,१५ हजार,१० हजार मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार