विश्व औलो दिवस : म्याग्दीमा जोखिम कायमै (भिडिओ)

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दी आयातित औलो (मलेरिया)रोगको जोखिममा रहेको छ । रोगको जोखिम कायमै रहेपनि स्वास्थ्य कार्यालय म्याग्दीमा रगतको नमूनालाई परीक्षण गर्ने प्रयोगशाला र ल्याब टेक्निसियन नहुदाँ समस्या भएको छ । औलोको पहिचान गर्न समुदायस्तरमै पुगेर रगतको नमूना संकलन तथा परीक्षण गर्नुपर्ने भएपनि जनशक्ती र पूर्वाधारको अभावका कारण अभियान प्रभावित बनेको छ ।

विश्व औलो दिवसको अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीले आयोजना गरेको पत्रकार तथा सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा म्याग्दीको ६ वटै स्थानीय तहमा कुल २ लाख ६ हजार ७०४ जनसंख्यामा बार्षिक १४ सय जनाको नमुना परीक्षणका लागि ल्याब टेक्निसियन र परीक्षणका लागि प्रयोगशालाको आवश्यकता रहेको कार्यालय प्रमुख भुवन ठकुराठीले बताउनुभयो।

भिडिओ हेर्नुहोस्…

म्याग्दीमा आयातित औलोको बिरामीको जोखिम रहेकाले सम्भावित क्षेत्रमा नमुना संकलनमा समेत जनशक्तीको अभावले प्रयोगशालाबाट प्रमाणित औलो रोगीको पहिचानमा समस्या भएको बताउनुभयो। म्याग्दीमा बेनी अस्पताल, प्राथमिक उपचार केन्द्र दरबाङ बाहेक अन्नपूर्ण गाउँपालिकामा २,रघुगंगा गाउँपालिकामा २,मालिका गाउँपालिकामा १ र धवलागिरी गाउँपालिकामा १ प्रयोगशाला रहेको छ भने मंगला गाउँपालिकामा छैन ।

दक्षिण एशियामा औलोको उच्च जोखिममा रहेको भारतबाट धार्मिक तथा रोजगारीका लागि म्याग्दीमा बर्षेनी ठूलो संख्यामा भित्रिने गरेकाले जोखिममा रहेको स्वास्थ्य कार्यालयका गणेश सुबेदीले बताउनुभयाे । गण्डकी प्रदेशमा आर्थिक बर्ष २०७७/०७८ मा १२ जना, ०७८/७९ मा १३ जना र ०७९/०८० मा २६ जना अन्य देशबाट आएका बिरामीको पहिचान भएको थियो ।यो रोग संक्रमित पोथी एनोफिलिज नामक लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ। यो रोगको जोखिममा मुख्यतया गर्भवती महिला तथा पाच वर्ष मुनीका बालबालिका रहने गरेका छन् । टाउको दुख्नु, बान्ता र ज्वरो आउनु यसका प्रमुख लक्षण हुन्। समयमै उपचार नगरेमा मलेरियाकै कारण ज्यानसमेत जान सक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार