अन्नपूर्ण गाउँपालिकाद्वारा छोराछोरीका लागि पोसिलो खाजा बनाउन अभिभावकलाई तालिम

  म्याग्दी न्युज संवाददाता

बेनी । प्याकेटमा बन्द गरिएका तयारी खाजाका कारण बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर देखिन थालेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पोसिलो खाजा बनाउन अभिभावकलाई तालिम दिएको छ । गाउँपालिकाले दिवाखाजामा पत्रुखानालाई रोक्न जैविक (अर्गानिक) र स्थानीयस्तरमा उत्पादन हुने पोषणयुक्त खाजा अनिवार्य गर्न अभिभावकलाई पोसिलो खाजा बनाउन तालिम दिएको हो । चाउचाउ र बिस्कुटजस्ता पत्रुखाना दिवा खाजाका रुपमा प्रयोग गर्ने पूर्णरुपमा रोक लगाउँदै पोषणयुक्त खाजालाई मात्रै विद्यालयमा प्रयोग गर्नेगरी गाउँपालिकाले पहिलो चरणमा चार वडामा शिक्षक र अभिभावकको उपस्थितिमा तालिम दिइरहेको हो ।

गाउँपालिकाले वडा नं १ दोवा, वडा नं २ भुरुङ तातोपानी, वडा नं ३ दाना र वडा नं ६ घारमा तालिम सञ्चालन गरेको गाउँपालिका उपप्रमुख दिवा तिलिजा पुनले जानकारी दिनुभयो । “पोषणयुक्त खाजा बनाउन सिकाइएको छ, अब अर्गानिक बाहेकको खाजालाई प्रयोग गर्न नदिने गरी अभिभावकलाई नै तालिममा सहभागी गराइएको हो”, उपाध्यक्ष पुनले भन्नुभयो । तालिमको सहजकर्ता बालकुमारी पुन र भगवती खड्काले बालबालिकाबाट पोषणयुक्त खानाको महत्वका बारेमा अभिभावकलाई जानकारी दिँदै गाउँघरमा पाइने पोसिलो खानेकुरा र रैथाने वस्तुको तयारी गर्ने प्रयोगात्मक अभ्यास गरिएको थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले विद्यालयमा पूर्णरुपमा पत्रुखाना निषेध गर्नेगरी सबै वडामा तालिमसहित नियमित अनुगमन गरिने बताउनुभयो।बालविकासदेखि कक्षा ५ सम्मका हरेक विद्यार्थीका लागि दैनिक २० दिवाखाजाका लागि सरकारले उपलब्ध गराउने भए पनि गाउँपालिकाको कार्यपालिकाबाट ६ कक्षाका विद्यार्थीलाई खाजाका लागि बजेट विनियोजन गरेको छ । तालिममार्फत अभिभावकलाई पोसिलो रैथाने वस्तु उत्पादन गर्न सघाउने गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार