‘लिङ्गो जुधाउने’ प्रतियोगितामा गैरीगाउँ विजयी (फोटो फिचर)

  धनिलाल गर्बुजा

दग्नाम ।  म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाम  स्थित भुमेथानमा लिंगो जुधाई प्रतियोगितामा गैरी गाउँ बिजय भएको छ । मंगलवार दग्नामका गैरीगाउँ र कान्छी गाउँ बिचमा भएको लिङ्गो जुधाईमा गैरी गाउँ बिजयी भएको हो ।

प्रकृति पुजाको रुपमा चिनिने भुमे देवतालाई खुसी बनाउन स्थानीयको उत्साहजनक उपस्थितीमा भूमे पुजाको अवसरमा यस गाउँमा सयौँ बर्ष पुरानो इतिहास बोकेको ‘लिङ्गो जुधाउने’ अनौठो प्रतिस्पर्धा गरिन्छ । प्रकृति पुजाको रुपमा चिनिने भुमे पूजामा भूमे देवतालाई खुसी बनाउन दुई गाउँ विचको लिङ्गो जुधाउने प्रतियोगीता सम्पन्न भएको एकता क्लवका अध्यक्ष मनोज तिलिजाले बताउनुभयो । ‘‘यो संस्कृति पुर्खादेखि नै चल्दै आएको छ, हरेक बर्ष भूमे पुजामा यहाँ दुई गाउँका लिङ्गो जुधाउने प्रतियोगिता हुन्छ,’’ उहाँले भन्नुभयो ।

दुई गाउँबाट छुट्टाछुट्टै रुपमा ध्वजा पतकाले सिंगारिएका अग्ला बाँसको लिङ्गो बोकेर गाउँको शिरमा रहेको मुल्का डाँडामा पुगेका स्थानीयले एकैसाथ लिङ्गो ठडाएर प्रतिस्पर्धा गराएका थिए । पुर्ख्यौली नाच, साईलो भाका र पञ्चेवाजा सहितको उत्सवका विच मंगलवार विहान भुमे देवताको पुजा गरेपछी दिउँसो भुमे देवतालाई खुसी बनाउनका लागि स्थानीयले लिङ्गो जुधाएका हुन् ।

प्रतियोगितामा अग्ला–अग्ला सिंगारिएका लिङ्गाहरुलाई प्रतिस्पर्धामा उतार्ने गरिन्छ । दग्नामको भूमे पुजालाई लिङ्गो जुधाइले साँस्कृतिक उत्सव बनाउने गरेको वडा अध्यक्ष पबिन गर्बुजाले बताउनुभयो । ‘‘भुमे पुजालाई हामीले मौलिकता र परम्परालाई जोगाउने गरि मनाउँदै आएका छौँ, यसमा लिङ्गो जुधाई सबैको लागि रुचि र चासोको बिषय बन्ने गरेको छ, दुई गाउँबिचको प्रतिस्पर्धा देवतालाई खुसी बनाउने र आपसी सदभाव बढाउन सहयोगी बन्ने गरेको छ’’ उहाँले भन्नुभयो ।

स्थानीयले लिङ्गो जुधाईलाई करिब ३०० सय बर्ष पुरानो संस्कृति मान्ने गरेका छन् । भूमे पुजामा लिङ्गो जुधाई हेर्न देश तथा विदेशमा छरिएर रहेका दग्नामबासीहरु गृहगाउँ फर्कने गर्छन भने छिमेकी गाउँबाट समेत उल्लेख्य मात्रामा सर्वसाधारण मेला भर्न पुग्ने गर्छन ।भुमे पुजाको अवसरमा स्थानियले एकै दिन सामे भुमे, सिद्ध भुमे, देवि देउराली, भारा र खोला मण्डली लगायत पाँच देवताको पुजाआजा गर्ने गर्दछन् । खासगरी खेतीबालि राम्रो होस, बाढि, पहिरो, भुक्षय जस्ता प्राकृतिक प्रकोपको सृजना नहोस भन्ने कामना सहित भूमे देवताको पुजा गरिन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार