बेनीमा गण्डकी प्रदेश स्तरीय परम्परागत तारा खेल प्रतियोगिता

  म्याग्दी न्युज संवाददाता

बेनी ।म्याग्दीको बेनीमा तेस्रो गण्डकी प्रदेश स्तरीय परम्परागत ताराखेल प्रतियोगिता–२०८१ शुक्रबारदेखि सुरु भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशको आयोजना र जिल्ला खेलकुद विकास समिति म्याग्दीको समन्वयमा सुरु भएको प्रतियोगिता शनिबार सकिने प्रतियोगिताका संयोजक गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य योगेन्द्र शेरचनले जानकारी दिनुभयो ।

उहाँका अनुसार गण्डकी प्रदेश भित्रका छ जिल्लाका सात टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशसभा सदस्य विमला गौचनले गर्नुभएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै गौचनले थकाली जातिको परम्परासँग जोडिएको यस प्रतियोगिता थकालीहरुले खेल्ने नियम अनुसार नै खेलाइदै आएको बताउनुभयो ।

आधुनिक अन्तर्राष्ट्रिय नियमभन्दा पनि थकाली जातिले खेल्दा पहिलादेखि जुन नियम प्रयोग गर्दै आएका हुन् त्यही नियम र परम्परा अनुसार नै खेल हुने भएकाले नै परम्परागत तारा खेल भनेर नामाकरण गरिएको उहाको तर्क थियो । आधुनिक विश्व खेलमा आर्चरी नामले परिचित भए पनि गण्डकी प्रदेशले आफ्नो मौलिक पहिचान र नामबाटै खेल आयोजना गरेको भन्दै परम्परा जोगाउन परिषद्ले ठुलो भूमिका खेलेको बताउनुभयो ।

नेपाल आर्चरी संघका सचिव, कास्की आर्चरी संघका अध्यक्ष तथा गण्डी प्रदेश स्तरीय परम्परागत ताराखेल प्रतियोगिता–२०८१ का खेल संयोजक शेरचनका अनुसार प्रतियोगितामा पहिलो हुनेले नगद ७५ हजार, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले ३० हजार रुपियाँ नगदसहित मेडल तथा ट्राफि प्राप्त गर्नेछन् । त्यस्तै वेष्ट प्लेयरले पाँच हजार र विशिष्ट धनुन्धरले तीन हजार रुपियाँ नगद प्राप्त गर्नेछन् ।

प्रतियोगितामा मनाङ, मुस्ताङ, पर्वत, कास्की, बागलुङका एकएक टिम र म्याग्दीका दुई टिम गरी कुल ७ टिमको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश खत्रीले जानकारी दिनुभयो ।प्रतियोगिताको उद्घाटन पूर्व पञ्चेवाजा सहित खेलाडी तथा शुभचिन्तकहरुको समूहले बेनी बजारको परिक्रमा पछि थकाली सेवा समाजको भवनमा पुगेर औपचारीक उद्घाटन भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार