साउन महिनाको पहिलो सोमबार गलेश्वरमा साढे तीन लाख बढी भेटी सङ्कलन

  म्याग्दी न्युज संवाददाता

गलेश्वर । यस वर्षको साउन महिना पहिलो सोमबार प्रसिद्ध
गलेश्वरधाममा तीन लाख ७२ हजार रुपैयाँभन्दा धेरै भेटी सङ्कलन भएकाे छ । दर्शन तथा पूजाअर्चनाका लागि बिहान पाँच बजेदेखि नै पुगेका भक्तजनहरुले चढाएको भेटि मङ्गलबार बिहान गणना गर्दा तीन लाख ७२ हजार तीन सय ७२ रपैयाँ सङ्कलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

भक्तजनले दानपेटिका तथा अन्यत्र चढाएको भेटी गलेश्वर शिवालय क्षेत्र विकास कोषले मङ्गलबार बिहान गणना गरेको थियो । मन्दिर क्षेत्रभित्र चडाएको रकम बिहान गणना गरेर बेनीस्थित गरिमा विकास बैंकमा जम्मा गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।

मन्दिरमा हुने ठूला पर्वहरु पछि भेटी गणना गरेर सार्वजनिक गर्ने गरिएको छ । साउन महिनामा यस वर्ष चार सोमबार परेको र सबै सोमबारमा हुने भक्तजनको भिड पछि मङ्गलबार रकम गणना गरेर सार्वजनिक गर्ने कोषका कार्यालय सचिव रामबहादुर बानियाँको भनाइ छ।

मन्दिरमा राखिएका दानपेटिकाहरुमा भक्तजनले चढाएको रकम कोषका पदाधिकारी तथा अन्य सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरुको रोहबरमा गणना गरिएको उहाँले बताउनुभयो।२०८० को साउन महिनामा नौ लाख २७ हजार २३ रुपैयाँ सङ्कलन भएको थियो भने २०७९ को साउन महिनाभरि १७ लाख ६९ हजार छ सय ८८ रुपियाँ भेटी वापत सङ्कलन भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार