आगलागीबाट म्याग्दीमा एक जनाको मृत्यु

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५,पाउद्धारका ६७ बर्षिय कालु परियारको आगलागीबाट ज्यान गएको छ। शिखको हिलादेमा नरबहादुर विकको घरमा खाना खाएर भान्सा कोठामा सुतिरहेको अवस्थामा अचानक आगलागीबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो ।

आगलागीबाट भान्साकोठा समेत पूर्णरुपमा जलेर नष्ट भएको छ भने घटनास्थलमा सूचना अधिकारी समेत रहनुभएका रायमाझीको कमाण्डमा पुगेर घटनाको अनुसन्धान गरी शब पोष्टमार्टमका लागि बेनी अस्पतालमा ल्याइएको छ । कालु सुतेको नरबहादुर बिकको ढुङ्गा, माटोले बनेको र निगालोको चोयाले बुनेको चित्राले छाएको र बारेको घर आगोले जलेर नष्ट भएको छ । राती १ बजे लागेको आगो बिहान ३ बजे नियन्त्रणमा आएको थियो ।

मृतक परियार आँखा कम देख्ने र काम कम सुन्ने गनुहुन्थ्यो । पाउद्धार घर भएका अबिवाहित परियार केही दिनदेखि आगोलागी भएको घरमा आश्रय लिएर बस्नुभएको थियो । घरधनीका परिवार केही परको घरमा बस्दै आएका छन् । आगो लागेको घर एकान्तमा छ । मृतकले नरबहादुरकहाँ आएर आरनको काममा सहयोग गर्ने र खाना मागेर खाने गर्नुहुन्थ्यो । आरनबाट आगो सल्केको हो की विद्युत सर्ट भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार