मालिका गाउँपालिकाका ८२५ जना किशोरीलाई ‘एचपिभि’ खोप दिइने

  म्याग्दी न्युज संवाददाता

दरबाङ । म्याग्दीको मालिका गाउँपालिका भित्रका आठ सय २५ जना लक्षित किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप ‘एच.पि.भि’ लगाइने भएको छ । मालिका गाउँपालिका दरबाङमा आइतबार आयोजित एचपिभि खोप अभियान पालिका खोप समन्वय समितिका पदाधिकारी र पत्रकारहरुविच अभिमुखिकरण एवं अन्तरक्रिया  गाेष्ठी कार्यक्रममा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सन्तु कुमारी कार्कीले गाउँपालिका भित्र रहेका १६ वटा विद्यालय र विद्यालय बाहिर रहेका आठ सय २५ जना लक्षित किशोरीहरुलाई उक्त खोप लगाइने जानकारी गराउनुभएको हो । कक्षा ६ देखि १० सम्म अध्ययनरत ८१९ र विद्यालय बाहिर रहेका ६ जना १० देखि १४ वर्ष उमेरका किशोरीहरुले उक्त खोप लगाउने छन् । खोप सम्बन्धीत विद्यालयको खोप केन्द्र र सातै वडाका सात स्वास्थ्य संस्थामा लगाइने भएको छ ।  स्वास्थ्य शाखा प्रमुख कार्कीका अनुसार , यस खोप नियमित खोप संगै कक्षा ६ मा अध्ययनरत किशोरीहरुलाई र विद्यालय बाहिर रहेका दश वर्ष पूरा भएका किशोरीहरुलाई दिइनेछ ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी घर्ती मगर पुनले एचपिभि खोप अभियान २०८१ लाई सफल बनाउन गाउँपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले क्यान्सर रोगकै कारण वर्षेनी कयौैं महिलाहरुले ज्यान गुमाउनु परेको बताउँनुभयो । खोप अभियानले पाठेघर मुखको क्यान्सर रोकथाम र मृत्युदरमा कमी ल्याउन मदत पुग्नेमा विश्वास व्यक्त गर्दै खोप अभियानलाई सबै विद्यालयमा प्रभावकारी बनाउन र यस अभियानलाई सफल बनाउन आग्रह गर्नुभयो ।

स्वास्थ्य कार्यालय म्याग्दीका जनस्वास्थ्य अधिकृत राजेन्द्र सापकोटाले खोप लगाउने स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण गराइएको जानकारी दिनुभयो । उहाँका अनुसार , मालिका सहित सबै पालिकामा आगामी १३ गतेभित्र अभिमुखिकरण र अन्तरक्रिया कार्यक्रम सम्पन्न हुनेछन् । पालिका भित्रका स्वास्थ्यकर्मीहरुलाई खोप लगाउने सम्बन्धी अभिमुखिकरण गराइएको थियो । उहाँका अनुसार जिल्लाभर चार हजार सात सय बढी किशोरीहरुलाई एचपिभि खोप लगाइनेछ । स्वास्थ्य कार्यालय म्याग्दीका जनस्वास्थ्य अधिकृत सापकोटा र होमबहादुर फगामीले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिका कार्यपालिका सदस्यद्धय दलबहादुर खड्काथोकी र प्रतिक्षा बिक , दरबाङ आधारभुत अस्पतालका डा. धिरेन्द्र भण्डारी लगायतले पाठेघर क्यान्सर विरुद्धको खोप अभियानलाई प्रभावकारी सञ्चालनका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

देशभरी माघ २२ गतेदेखि फागुन ६ गतेसम्म एचपिभि खोप अभियान सञ्चालन हुँदैछ । सोही अनुसार मालिका गाउँपालिका भित्र पनि समय तालिका निर्धारण गरिएको छ । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सन्तु कुमारी कार्कीका अनुसार

माघ २२ गते

सिद्ध आधारभुत ,जेम ,गोरक्षा आधारभुत विद्यालय, ओखरबोट मावि ,भीम मावि , भगवती आधारभुत विद्यालय ,किसानी मावि

२३ गते

निस्कोट मावि , बिलबाङ आवि, अमरज्योती मावि ,गौबम बस्त मावि ,मालिका आधारभुत विद्यालय र बिम स्वास्थ्य चौकी

२४ गते

सिद्धार्थ मावि , निस्कोट स्वास्थ्य चौकी , राष्ट्रिय मावि ,डाँडागाउँ सामुदायिक स्वास्थ्य इकाई  , देविस्थान स्वास्थ्य चौकी र जनप्रिय माविमा

२५ गते

ओखरबोट स्वास्थ्य चौकी ,  रुम स्वास्थ्य चौकी र केवी एकेडेमी आवासीय मावी

२६ गते

दरबाङ आधारभुत विद्यालयमा खोप अभियान सञ्चालन हुनेछन् ।कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकाल , शिक्षा अधिकृत अशोक रिजाल , योजना अधिकृत सोम बहादुर के‍सी लगायतको सहभागिता रहेको थियो ।

नेपालमा वर्षेनि २१६९ जना महिला पाठेघर मुखको क्यान्सरबाट पीडित हुने र सोही क्यान्सर कारण वर्षेनि १३१३ जनाले ज्यान गुमाइरहेको विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार