वडा सदस्य गुरुङको निधन

  म्याग्दी न्यूज संवाददाता

बेनी । म्याग्दीको मालिका गाउँपालिका–४,का वडा सदस्य गर्भे गुरुङ(ओमबहादुर)को निधन भएको छ। महभीर निवासी ५५ वर्षीय गुरुङको शुक्रबार राति उपचारका क्रममा दरबाङ आधारभूत अस्पतालमा निधन भएको हो। घरमै शुक्रबार राति स्वास्थ्यमा अचानक समस्या देखिएपछि उहाँलाई उपचारका लागि मालिका गाउँपालिका–६,स्थित दरबाङ आधारभूत अस्पताल पुर्‍याइएको थियो। अस्पतालका सूचना अधिकारी यमन नेपालीका अनुसार राति करिब ११ः२० बजे अस्पताल ल्याइएका गुरुङको उपचारका क्रममा उच्च रक्तचापका कारण राति करिब ११ः३० बजे निधन भएको हो। ‘राति अबेर अस्पताल ल्याइएका गुरुङको उपचारका क्रममा उहाँको असामयिक निधन भयो,’ सूचना अधिकारी नेपालीले भन्नुभयो। गुरुङका आफन्त भतिजा याम गुरुङका अनुसार उहाँ लामो समयदेखि रक्तचापको औषधि सेवन गर्दै आउनुभएको थियो।

वडा अध्यक्ष भेजेन्द्रमान पुनका अनुसार गुरुङ शुक्रबार वडा कार्यालयमा नियमित कामकाजका लागि आउनुभएको थियो। ‘केही समयअघि लडेर उहाँको देब्रे हात भाँचिएको थियो र शल्यक्रियामार्फत स्टिल राखिएको थियो। पछि स्टिल निकाल्न पोखराको अस्पताल जाँदा उच्च रक्तचापका कारण तत्काल शल्यक्रिया गर्न नमिल्ने भन्दै चिकित्सकले फर्काएको जानकारी उहाँले दिनुभएको थियो । आज यस्तो दुःखद खबर सुन्नुपर्‍यो। उहाँको निधनले वडा र समग्र समाजलाई अपूरणीय क्षति पुगेको छ,’ वडा अध्यक्ष पुनले दुःख व्यक्त गर्दै भन्नुभयो। गुरुङ नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यमा निवार्चित हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार