काठमाडौं । पूर्वी नवलपरासीस्थित सामुदायिक वनमा नवजात शिशु मृत फेला परेका छन्। मध्यविन्दु नगरपालिकाको वनमा बुधबार बिहान पौने १२ बजे शिशुको शव फेला परेको हो।
वडा नम्बर ५ को हरियाली सामुदायिक वन र ७ को विजय सामुदायिक वनको साधमा शव फेला परेको हो। प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहनबहादुर खाँणका अनुसार शिशु बालक हुन्।
प्रहरीले शिशुलाई कपडाले बेरी जेब्रा झोलाभित्र राखिएको अवस्थामा फेला पारेको हो।हामीलाई शिशु फेला परेको भनेर खबर आएपछि टोली खटिएको थियो,’ डिएसपी खाँणले भने, ‘शिशु महिना पुगेर जन्मिएको हो। मृत्यु पनि ताजा नै छ।’
उनका अनुसार शिशुको कतै चोट पटक पनि देखिएको छैन। यो शिशु कसैले जन्माएर फालेको हुनसक्ने आशंका गरिएको छ।प्रारम्भिक अनुसन्धान पछि शव परीक्षणको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा, नवलपरासी लगिएको छ।
अहिलेसम्म कोही पनि पक्राउ नपरेको प्रहरीले जनाएको छ। हामी अनुसन्धान गरिरहेका छौं। अहिले कोही पनि पक्राउ परिसकेका छैनन्,’ उनले भने। सेतोपाटीबाट साभार