यात्रुसँग बढी भाडा लिने काउन्टरका कर्मचारी पक्राउ

काठमाडौं । यात्रुसँग तीन गुण बढी भाडा लिने टिकट काउन्टरका कर्मचारी पक्राउ परेका छन् ।वैदेशिक रोजगारीबाट फर्किएर घर जान लागेकासँग तीन गुणा बढी भाडा लिएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिनेलाई शुक्रबार पक्राउ गरेको जानकारी दिनुभयो ।
प्रहरीका अनुसार उनीहरू टिकट काउन्टरका कर्मचारीहरू हुन् । कोटेश्वरबाट धनुषा मिथिलाका ४३ वर्षीय कृष्ण देवकोटा, झापा गौरदहका ४२ वर्षीय खड्गबहादुर भण्डारी र गौशालाबाट दोलखा सिंगटीका ३४ वर्षीय राम सुरेललाई महाशाखाले पक्राउ गरेको हो ।

एसएसपी भट्टराईका अनुसार उनीहरूलाई महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले पक्राउ गरेको हो । अहिले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ। त्यसक्रममा वैदेशिक रोजगारीबाट फर्किएका तथा अत्यावश्यक परी घर फर्किने यात्रुहरूसँग तोकेकोभन्दा तीन गुणा बढी भाडा लिएको पाएको सूचना पाएपछि प्रहरीले उनीहरूलाई गौशाला र कोटेश्वरबाट पक्राउ गरेको हो ।

उनीहरूले काठमाडौंदेखि झापा र मोरङ्ग जाने यात्रुहरूसँग जनही तीन हजार देखी चार हजार पाँच सयसम्म भाडा लिएका थिए । ट्राफिक प्रहरी महाशाखले निषेधाज्ञा जारी भएदेखि समस्यामा पर्नेहरूलाई घर पुर्‍याउने क्रममा ठगिन सक्ने भन्दै विशेष टोली गठन गरेको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार