कोरानाका कारण थुनुवाको मृत्युपछि कारागारमा उच्च सतर्कता

चितवन । कारागार कार्यालयमा कोरोना भाइरसको सङ्क्रमणका कारण एक थुनुवाको मृत्युपछि उच्च सतर्कता अपनाइएको छ। कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार यही असार १४ गते नवलपुरबाट ल्याइएका थुनुवाको कारोनाका कारण मृत्यु भएपछि उच्च सतर्कता अपनाइएको हो।

कारागार कार्यालयभित्र रहेको क्वारेन्टिनमा अहिले रहेका २२ जनालाई नियमित स्वास्थ्य परीक्षणदेखि खानपानमा समेत ध्यान दिन लागिएको हो। उहाँले भन्नुभयो, ‘अहिले समस्या छैन, समस्या आउँछ कि भनेर सावधानी अपनाएका छौं।’

थुनुवालाई पहिले टेलिफोन सेवा उपलब्ध गराइएको भए पनि अहिले त्यो सुविधासमेत कटौती गरिएको उहाँले बताउनुभयो । कारागारमा कैदीबन्दीको सङ्ख्या बढी भएकाले पनि सावधानी अपनाउनु परेको उनले जानकारी दिनुभयो। कारागारमा अहिले ६७४ कैदीबन्दी छन्।

कारागारमा रहेका कैदीबन्दीमा विभिन्न प्रकारको रोग रहेकाले एकजनामा कोरोना सङ्क्रमण देखिए फैलन सक्ने भएकाले क्वारेन्टिनमा रहेकालाई छुट्टै भान्छाको व्यवस्था गरिएको छ । नियमित अस्पताल लैजानुपर्ने बिरामीलाई पनि क्वारेन्टिनमा राखिएको उहाँले बताउनुभयो। कारागारमा २५ महिलाको क्षमता रहेकामा ५१ र २५५ पुरुषको क्षमता भएकामा ६२३ रहेका छन् । उनीहरुसँग तीन आश्रित बालबालिका छन्। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार