काठमाडौं । वौद्ध धर्मको प्राचिन पुरातात्विक बहुमूल्य ग्रन्ध हो भन्दै प्रलोभनमा पारी नगद ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-३० मैतीदेवी सप्तरी राजविराज नगरपालिका-३ घर भएका ४७ वर्षीय प्रशान्त प्रताप सिंह र काठमाडौं महानगरपालिका-८ मृगस्थली दाङ शान्तिनगर गाउँपालिका-४ घर भएका ६५ वर्षीय छन्त्याल भन्ने पूर्ण बहादुर मगर रहेका छन् ।
बिहीबार काठमाडौं महानगरपालिका-२२ न्यूरोडबाट उनीहरुलाई महानगरीय अपराध महाशाखा मिनभवनले पक्राउ गरेको जनाएको छ ।
उनीहरुले दुईजना पीडितलाई ४ करोड पर्ने पुरातात्त्विक महत्त्वको धार्मिक पुस्तक खरिद गर्न लागेकोमा पैसा नपुगेकोले पुस्तक विश्वासका लागि बन्धकी स्वरुप राखी केही रकम दिनुहोस भनी विश्वासमा पारी पीडितसँग नगद १५ लाख ५ हजार रुपैयाँ ठगी गरेको प्रहरीको दाबी छ ।
उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ । अनलाइनखबरबाट