स्वास्थ्य क्षेत्रका बिचौलिया धमाधम पक्राउ

मोरङ । उपचारका लागि आफ्ना सेटिङका अस्पताल र क्लिनिकमा बिरामी तान्ने बिचौलियालाई पछिल्लो समय प्रहरीले नियन्त्रणमा लिन थालेको छ । यसै क्रममा प्रहरीले नोबेल मेडिकल कलेजबाहिर ७, कोसी अस्पताल क्षेत्रबाट ३ र न्युरो अस्पताल क्षेत्रबाट दुई जना बिचौलियालाई पक्राउ गरेको हो ।

विराट नर्सिङ अगाडिको औषधि पसलबाट सुनसरी इनरुवाका विनोद मेहता, विराटनगरका रोहित शाह, बिवेक शाह, सुनिल ठाकुर र सप्तरीका सारांशकुमार चौधरीलाई पक्राउ गरेको छ । यसअघि प्रद्युम्न राय र आनन्दकुमार साहलाई पक्राउ गरेको थियो ।

त्यस्ता बिचौलियालाई अस्पताल र क्लिनिकमा बिरामी पुर्‍याएबापत उक्त अस्पताल, औषधि पसल र क्लिनिकले बिरामीले गरेको उपचार खर्चको आधारमा कमिशन दिन्छन् । त्यस्तो काममा संलग्न १२ जनालाई प्रहरीले एक साता अवधिमा नियन्त्रणमा लिएको हो । उनीहरू औषधी पसलका कामदार अनि निजी अस्पताल र क्लिनिकले परिचालन गरेका बिचौलिया हुन् ।

बिचौलियाले बिरामी र अभिभावकलाई झुक्याएर निजी अस्पताल र क्लिनिक पुर्‍याएर आफनो सम्पर्कका औषधि पसलमा औषधि किन्न लगाएर कमिसन लिने गरेको मोरङ प्रहरीका प्रवक्ता दीपक श्रेष्ठले बताए । उनका अनुसार उनीहरूलाई अभद्र व्यवहारमा कारवाही गरिएको छ ।

एक जना बिरामीको २० हजार रुपैयाँसम्म बिल हुँदा बिचौलियाले निजी अस्पताल र क्लिनिकबाट तीनदेखि ५ हजार रुपैयाँसम्म कमिसन लिने गरेको अनुसन्धानका क्रममा खुलेको छ । त्यसैगरी बिचौलियाको सम्पर्कका रहेका निजी अस्पतालको भेन्टिलेटर र आईसीयूमा बिरामी भर्ना गराएबापत अस्पतालले २० हजार रुपैयाँसम्म कमिसन दिने गरेको पाइएको छ । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार