काठमाडौँ । सुनको गहना सफा गर्ने बहानामा ठगेको आरोपमा प्रहरीले उदयपुरबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका ४५ वर्षीय अरुण शाह र बिहार सुपौल बस्ने ३० वर्षीय हरिराम शाह छन् । सुन टल्काउने ‘पिताम्बर व्यापारी हौं’ भनेर ललाई–फकाई गहना सफा गर्ने बहानामा एसिड प्रयोग गरेर सुन खियाएर उनीहरुले ठग्ने गरेको उदयपुरका एसपी सुवासचन्द्र बोहराले बताउनुभयो ।
आरोपीहरुले उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहामा बस्ने कमला राईलाई फकाएर सुनको सिक्री टल्काइदिने नाममा केमिकल प्रयोग गरेर सुन खियाएका थिए । केमिकल प्रयोग गरेर सफा गरेको सुन ‘तत्काल हेर्न हुँदैन, सुक्न दिनुपर्छ’ भनेको र पछि हेर्दा सुनको सिक्रिको तौल घटेपछि कमलाले प्रहरीलाई उजुर गरेकी थिइन् ।
प्रहरीले आरोपीहरुको साथबाट पिताम्बर, सुन सफा गर्ने सामग्रीहरु, एसिड, मट्टितेल र सुनका टुक्रा बरामद गरेको छ । उनीहरु केही दिनअघि मात्र नेपाल आएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । ठगी मुद्दामा अदालतबाट १० दिनको म्याद लिएर उनीहरुमाथि अनुसन्धान भइरहेको एसपी बोहराले बताउनुभयो । रातोपाटीबाट