काठमाडौँ । लकडाउनका कारण ०७६ चैतदेखि रोकिएको काठमाडौंदेखि मुम्बई, बेंग्लोर र बनारस उडान २० महिनापछि सुचारु हुने भएको छ । भारतले गत साता दुवै देशका वायुसेवाले सातामा ५६ वटा उडान गर्न सक्ने प्रस्ताव पठाएको थियो ।
उक्त प्रस्तावमा छलफल गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतलाई ०७६ चैत अघिकै अवस्थामा भइरहेका उडान सुचारु गर्न प्रस्ताव पठाउने निर्णय गरेको हो । ‘आइतबार पर्यटनमन्त्री प्रेमबहादुर आलेले भारतलाई दिल्लीबाहेक मुम्बई, बेंग्लोर र बनारस उडान सुचारु गराउने प्रस्ताव गर्न भएको छ,’ मन्त्रालयका एक अधिकारीले भन्नुभयो ।
अब दुवै देशका अनुमति प्राप्त निजी वायुसेवाले पनि नेपाल भारत उडान गर्न पाउने भएका छन् । यो निर्णय अघि भारतले एयर बबल अवधारणमा दुई देशका ध्वाजाबहाक बाहेक अन्य वायुसेवालाई उडानमा रोक लगाएको थियो । अब नेपाल वायुसेवा निगमले भारतको दिल्लीमा दैनिक गर्दै आएको उडानलाई यात्रुको मागका आधारमा वृद्धि गर्न पाउने बाटो खुलेको छ । त्यस्तै, काठमाडौंबाट बनारस उडान गर्दै आएको बुद्ध एयरले पनि उडान गर्न पाउने भएको छ ।
त्यस्तै, भारतीय वायुसेवा इन्डिगो, स्पाइसजेट लगायत नेपाल उडान अनुमति पाएका भारतीय वायुसेवाले पनि काठमाडौं उडान गर्न पाउने भएका छन् । कात्तिक २६ गते पर्यटनमन्त्री आलेले दिल्लीस्थित भारतीय समकक्षी ज्योतिरादित्य सिंधियालाई भेटी यात्रुको माग अनुसार उडान संख्या बढाउन प्रस्ताव गर्नुभएको थियो । ekantipurबाट