विराटनगर । मोरङ मिक्लाजुङका सुभाष राई (नयन) उमेरले ३५ वर्ष पुगे । घरको जेठो छोरो राईको जिम्मेवारी परिवार पाल्नुपर्ने हो । तर शरीरमा पलाएको ट्युमरका कारण उनी आफैं अशक्त छन् ।मिक्लाजुङ गाउँपालिका–५ का राईको परिवारमा तीन जना छन् ।
बुवा बोल्न सक्दैनन् । सुभाष र उनका भाइ केवल दुवै रोगी छन् । दाजु–भाइको समस्या उस्तै छ । शरीरमा मासुका डल्ला बढेर झोल्लिएका छन् । विपन्न परिवारका सुभाषको घाँटी, काँध र हातमा ट्युमर पलाएको छ । उनका भाइ ३० वर्षीय केवलको शरीरमा पनि ट्युमर छ । केबलको टाउको र हातमा ट्युमर बढिरहेको छ ।
यो समस्याबाट भाइ केबलको तुलनामा दाइ सुभाष बढी पीडित छन् । ट्युमरका कारण सुभाषलाई हिँडडुल गर्नै मुस्किल पर्छ । केही वर्षअघिसम्म घाँस-दाउरा गर्ने उनी यही रोगका कारण थलिएका छन् । ढाडमा अस्वाभाविक रुपमा बढेको ट्युमर पाकेर र्झन थालेको छ ।केवल र सुभाष सानै छँदा उनकी आमा सुकमायाको मृत्यु भयो ।
विकट क्षेत्रमा बुवासँगै बसेका उनीहरुले पढ्न पाएनन् । शारीरिक अवस्थाका कारण गुजारा गर्नै मुस्किल परेको छ । ‘परिवारका तीन जना सदस्य खाना खानका लागि तीन तिर जान्छन्,’ छिमेकी शंकर बजगाईले भने, ‘उपचार नपाएका कारण बिजोग छ ।’बजगाईका अनुसार रोगले थलिएको राईको घरमा चुल्हो बल्न छोडेको छ ।
३० वर्षीय केबल फूपुको घरमा खाना खान जान्छन् । बुवा ५४ वर्षीय पदमबहादुर एउटा छिमेकी र सुभाष अर्का छिमेकीकोमा गएर बिहान-बेलुकाको भोक टार्छन् । केबलको शरीरमा पनि अस्वाभाविक रुपमा मासुका डल्लाहरु छन् । ती बढीरहेको केबलले बताए । ‘पहिले त साना-साना थिए, उमेरसँगै बढिरहेको छ,’ केबलले भने, ‘हात चलाउँदा दुख्छ ।’ खर्च नहुँदा दाजु–भाइले नै उपचार गर्न नपाएको गुनासो उनी गर्छन् ।
उपचार गर्न काठमाडौं ल्याइयो
छिमेकी बजगाईले उनीहरु विपन्न परिवारका भएकाले आफूले उपचारको लागि पहल थालेको बताउँछन् । ‘उनीहरुको समस्या पहिलेदेखिकै हो तर पैसा नभएर उपचारका लागि आउन सकेनन्,’ बजगाईले भने, ‘अहिले सुभाषको उपचारको लागि पहल सुरु गरेको छु ।’ तर खर्च अभावमा समस्या भइरहेको उनले बताए ।
सुरुमा कोशी अस्पताल विराटनगरमा सुभाषको स्वास्थ्य जाँच गरिएको थियो । त्यतिबेला डाक्टरहरुले न्यूरोसम्बन्धी गम्भीर समस्या रहेको भन्दै काठमाडौंमा गएर उपचार गर्न सल्लाह दिएका थिए । सोही सल्लाहअनुसार अहिले सुभाषलाई काठमाडौं लगिएको छ ।
काठमाडौंको सुस्मा कोइराला मेमोरियल अस्पतालमा भर्ना गरेर उपचार सुरु गर्ने तयारी भएको बजगाईले बताउनुभयो । ‘हामीले सहयोग संकलन अभियान सुरु गरेपछि करिब दुई लाख रुपैयाँ जुटेको छ,’ बजगाईले भने, ‘उपचारपछि पनि सामान्य अवस्थामा र्फकन धेरै खर्च लाग्ने भनेर डाक्टरहरुले भनेका छन् ।’ अनलाइनखबरबाट