काठमाडौं । खेलकुद क्षेत्रमा लैंगिक विभेदको विषय विश्वभर पेचिलो बनिरहेका बेला नेपालमा पनि त्यसको प्रभाव पर्न थालेको छ। नेपाली खेलकुदमा महिला र पुरुषका प्रतियोगिता बराबर हुन थालेका छन् । तर, त्यो नगण्य मात्र छ। अधिकांश खेलमा पुरुषकै वर्चस्व छ।
निजी क्षेत्र मात्र होइन, सरकारी निकायले दिने पारिश्रमिकमा महिला र पुरुषबीच विभेद हुने गरेको छ। यसबाहेक पुरस्कार राशिदेखि अन्य सेवासुविधासम्म पनि असमान देखिन्छ। यसलाई राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्ने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताले नै छर्लङ पार्छ । पुरुषतर्फ विजेतालाई नगद पुरस्कार २० लाख रुपैयाँ छ। महिलातर्फ भने ५ लाख मात्रै छ। पुरुषतर्फ उपविजेताले १० लाख पाउँदा महिलातर्फ ३ लाख रुपैयाँ छ।
परिषद्की कार्यकारी बोर्ड सदस्य नन्दा बस्याल सेवासुविधाको असमानताबारे अहिलेसम्म उजुरी नआएको बताउँछिन्। ‘महिला र पुरुष खेलाडीबीचको सेवासुविधामा असमानता छन्। यस विषयमा अहिलेसम्म कसैले पनि आवाज उठाएका छैनन्’, कार्यकारी बोर्ड सदस्य बस्याल भन्छिन्, ‘यस विषयमा टिम प्रशिक्षक र व्यवस्थापकले पनि आवाज उठाउनुपर्छ।’
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ खेलकुदमा महिलाको बढ्दो सहभागिता र सफलताले विभेद कम भएको बताउँछन्। ‘खेलकुदमा महिला र पुरुष खेलाडीबीचको विभेद पहिले धेरै हुन्थ्यो। पछिल्लो समय महिलाको सहभागिता र सफलताले विभेदको अनुपात कम भएको छ’, अध्यक्ष श्रेष्ठ भन्छन्, ‘महिला र पुरुषले पाउने पदक समान हुन्छ। पदकमा भेदभाव हुँदैन। तर, सेवासुविधा र पुरस्कार राशिमा भेदभाव गरिँदै आएको छ।’ समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ । नागरिकखबरबाट