काठमाडौं। प्रधानमन्त्री कप टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको मंगलबार भएको विभागीय डर्बीमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गरेको छ । प्रतियोगितामा पुलिसको यो लगातार दोस्रो जित हो । २ खेलबाट ४ अंकसहित पुलिस समूह ए मा शीर्ष स्थानमा छ ।
आर्मीको भने यो पहिलो हार हो । आर्मीले दिएको १३८ रनको लक्ष्य पुलिसले १८ ओभर खेल्दै ६ विकेट गुमाएर पूरा गरेको हो । ओपनर कुशल भुर्तेलले सर्वाधिक ३५ रन योगदान गर्दा दिलिप नाथ र रासिद खानले लोअर अर्डरमा राम्रो ब्याटिङ गर्दै पुलिसलाई जित दिलाए । भुर्तेलले २२ बल खेल्दै ५ चौका र १ छक्का मद्दतमा सर्वाधिक ३५ रन बनाए ।
रासिद खानले १९ बल खेल्दै ४ चौका र १ छक्का मद्दतमा २८ रन जोडे । यस्तै अनिल शाहले ११ बल खेल्दै १ चौका र २ छक्का मद्दतमा २२ रन योगदान गरे । दिलिप नाथले २५ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा अविजित २५ रन जोडे । विजयी चौका प्रहार गरेका योगेन्द्र सिंह कार्कीले अविजित ९ रन बनाए । बलिङमा आर्मीका शाहब आलमले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए ।
अघिल्लो दिन कर्णाली विरुद्ध ४ विकेट लिएर म्यान अफ म्यच बनेका जितेन्द्र मुखिया पुलिस विरुद्ध २ विकेट लिँदा केही महँगा बने ।उनले ४ ओभरमा २७ रन खर्चिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले एक बल अगाडि नै अलआउट हुँदै १३७ रन बनाएको थियो ।आर्मीका लागि कप्तान विनोद भण्डारी र सोमपाल कामी बाहेक अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन् ।
विनोदले ३६ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ४४ रन बनाए भने लगातार ओपनिङ गरेका सोमपालले ३५ बल खेल्दै ६ चौका मद्दतमा ४२ रन जोडे । हरि चौहान, कुशल मल्ल र सुशन भारीले समान १२ रन बनाए ।आर्मीलाई मध्ययम स्कोरमा रोक्न आर्मीकै पूर्व खेलाडी करण केसीले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए । गुल्शन झा र योगेन्द्र सिंह कार्कीले २–२ तथा आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए । अनलाइनखबरबाट