४० लाख डोज मोर्डना खोप आज आइपुग्ने

काठमाडौँ । मंगलबारसम्ममा अमेरिकाबाट थप ४० लाख डोज खोप नेपाल आउने भएको छ। तीमध्ये सोमबार राति १६ लाख ६० हजार डोज र बाँकी २३ लाख ४० हजार डोज खोप मंगलबार बिहान नेपाल आइपुग्ने स्वास्थ्य सेवा आपूर्ति महाशाखाले जनाएको छ।

महाशाखाका प्रमुख सुरेन्द्र चौरासियका अनुसार विश्व बैंकको सहयोगमा नेपाल सरकारले खरिद गरेकोमध्येको खोप मंगलबार आउन लागेको हो। यसअघि नै नेपालमा ३६ लाख डोज मोर्डनाको खोप नेपाल आइपुगिसकेको छ। त्यसमध्ये केही दातृराष्ट्रको सहयोगमा आएको थियो।

खोप आइपुगेलगत्तै १२ वर्षमाथि र १८ वर्षमुनिका बालबालिकालाई खोप अभियान सुरु गर्ने तयारी गरेको परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख सागर दाहालले बताउनुभयो। ‘खोप अभियानको योजना बन्दैछ, छिटो नै अभियान सुरु गछौं,’ उहाँले भन्नुभयो। पहिलो डोज लगाइसकेकाका लागि दोस्रो डोजको रूपमा र पहिलो डोज लगाउन छुटेका बालबालिकाको लागि यो खोप प्रयोग हुनेछ। खोपको लागि आवश्यक सिरिन्ज भने नेपाल सरकारले आफैं व्यवस्थापन गरेको महाशाखाले जनाएको छ।

संक्रमण दर ४९.८ प्रतिशत

गत २४ घण्टामा नेपालमा कोरोना संक्रममण दर ४९.८ प्रतिशत रहेको छ। परिक्षण भएका कुल २१ हजार २ सय १ नमुनामध्येमा १० हजार ३ सय १९ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमितमध्येका करिब ५० प्रतिशत काठमाडौं उपत्यकाका छन्। त्यसपछि चितवनमा पनि संक्रमण दर उच्च देखिएको छ। अघिल्लो दिनको तुलनामा सोमबार १२ प्रतिशत बिन्दुले वृद्धि भएको हो।

थपसहित नेपालमा ८२ हजार ५ सय ५० जना सक्रिय संक्रमित पुगेका छन्। हाल ८० हजार ७ सय ८९ जना होम आइसोलेसन, १७ सय ७१ संस्थागत आइसोलेसन, २ सय ३८ आइसियु र ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। गत २४ घण्टामा नेपालमा कोभिड संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ। थपसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ५९ पुगेको छ। गत २४ घण्टामा काठमाडौंमा ३ हजार ८ सय ३४ जना, ललितपुरमा ४ सय ८३ र भक्तपुरमा ३ सय ५५ जना गरी ४ हजार ६ सय ७२ जना नयाँ संक्रमित संख्या पुगेको छ। चितवनमा गत २४ घण्टामा नयाँ संक्रमित संख्या ७ सय ९० जना छन्। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार