वीरगन्ज नाका हुँदै ६ महिनामा २६ अर्बको तेल निकासी

काठमाडौँ । वीरगन्ज नाकाबाट भटमास, पाम र सूर्यमुखीको प्रशोधित तेल निकासी बढेको छ । वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा गत आवको यसै अवधिको तुलनामा यी तीनै प्रकारका तेलको निकासी बढेको हो ।

चालु आवको ६ महिनामै यो नाका हुँदै २६ अर्ब रुपैयाँ बढी मूल्यको यी तेल निकासी भइसकेको छ । कच्चा तेल ल्याउने र नेपालबाट प्रशोधन गरेर बाहिरिने गरेको छ । यी तीनै तेलको उच्च निकासीको कारण चालु आवको पुस मसान्तसम्ममा यो नाका हुँदै सर्वाधिक निकासी हुने वस्तुहरुको सूचीमा भटमास र पाम तेल क्रमश पहिलो र दोस्रो नम्बरमा तथा सूर्यमुखीको तेल चौथो नम्बरमा रहेका छन् ।

चालु आवको पुस मसान्तसम्ममा यो नाकाबाट २२ अर्ब १० करोड ४३ लाख ३७ हजार रुपैयाँ बराबरको ९ करोड २० लाख किलो भटमासको तेल निकासी भएको छ । तुलनात्मक रुपमा हेर्दा गत आवको यसै अवधिमा ११ अर्ब ५५ करोड रुपैयाँ बराबरको ७ करोड ८३ लाख किलो भटमासको तेल निकासी भएको थियो । यसको निकासी ११ प्रतिशतले बढेको हो ।

त्यसैगरी, चालु आवको पुस मसान्तसम्ममा यो नाका हुँदै २ अर्ब १६ करोड १० लाख रुपैयाँ बराबरको १० करोड ४७ लाख किलो पाम तेल निकासी भएको छ । गत आवको यस अवधिमा यो तेलको निकासी शून्य रहेको थियो । चालु आवको पुस मसान्तसम्ममा यो नाका हुँदै १ अर्ब ७८ करोड २३ लाख रुपैयाँ बराबरको ८९ लाख ४० हजार किलो सूर्यमुखीको प्रशोधित तेल निकासी भएको थियो । गत आवको यसै अवधिमा २१ करोड ७७ लाख रुपैयाँ बराबरको १५ लाख ५३ हजार किलो निकासी भएको थियो ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार नेपाली उद्योगीहरुले विभिन्न मुलुकबाट भटमास, पाम र सूर्यमुखीको कच्चा तेल आयात गरी त्यसलाई प्रशोधन गर्ने गरेका छन् । आयातकर्ताले निकासी प्रयोजनका लागि भनेर बैंक ग्यारेन्टीमा आयात गर्ने गरेकाले यसको आयात गर्दा खासै शुल्क नलाग्ने उहाँले बताउनुभयो । भारत बाहेक थोरै परिमाणमा जर्मनी लगायतका युरोपेली मुलुकमा भटमासको तेल निकासी भएपनि त्यो न्युन परिमाणमा हुने गरेको छ । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार