डेडलाइन फागुन : लोसपाबाट असन्तुष्ट नेताहरू अलग हुँदै

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा विभाजन खतरा बढेको छ । फागुनको दोस्रो हप्ता लोसपाका असन्तुष्ट नेताहरूले औपचारिकरुपमा नयाँ पार्टीको घोषणा गर्ने तयारी गरेका हुन् ।

असन्तुष्ट नेताहरूले यसअघि नै तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) निर्वाचन आयोगमा दर्ता गराइसकेका छन् । रवीशंकर कुमार कर्णको अध्यक्षतामा गठन भएको तमलोपालाई नै सांगठनिक रूपमा घोषणा गर्ने तयारी भइरहेको छ । लोसपाबाट असन्तुष्ट भएर तमलोपा पुनर्गठनको तयारीमा रहेका एक नेताले भन्नुभयो, ‘मौसमको खराबी र विहेवारीको समय भएकाले तमलोपा घोषणा गर्नमा ढिलाइ भइरहेको छ ।

आजदेखि मौसम सुधार भएको छ, सम्भवतः फागुनको दोस्रो हप्ता नयाँ पार्टी घोषणा हुन्छ ।’लोसपाबाट असन्तुष्ट भएर तमलोपा गठन गर्न पार्टीका कार्यकारिणी सदस्य वृषेशचन्द्र लाल र अर्का नेता डा.विजय सिंह खुलेर रहेका छन् । अन्य नेताहरूले गोप्य रूपमा नेता लाल र सिंहलाई सघाई रहेका छन् । ती नेताले भन्नुभयो, ‘यो लोसपा विभाजन होइन ।

विभाजन गर्नका लागि सङ्ख्या पुर्‍याउनेदेखिका अन्य कानुन लफडामा हामी जान चाहन्नौँ । हामी नेताहरू त्यहाँबाट अलग भएर नयाँ पार्टीको घोषणा गर्छौँ ।’ केही सांसदहरू पनि त्यहाँबाट आउने तयारी अवस्थामा रहेको तर अहिले नै पार्टी छाड्दा पद जाने भएका हुनाले चुनावसम्म त्यही बस्ने र त्यसपछि यता तमलोपामा आउने तयारी भएको पनि उहाँले दाबी गर्नुभयो ।

लोसपामा एकल अध्यक्ष प्रणाली भए पनि अध्यक्ष मण्डलीय प्रणालीमा चलिरहेको आरोप असन्तुष्टहरूको आरोप छ । लोसपाका कार्यकारिणी सदस्य वृषेशचन्द्र लालले भन्नुभयो, ‘पार्टीमा एकजना अध्यक्ष भए पनि अध्यक्ष मण्डलीय प्रणालीमा चलिरहेको छ । कुनै पनि निर्णय सामूहिक भइरहेको छैन, दुई चारजना नेतालाई जे मन लाग्छ त्यही गरिरहनु भएको छ, त्यसमा हाम्रो असन्तुष्टि रहेको छ ।’

पार्टी लोकतान्त्रिक विधि र प्रक्रियाबाट चल्नु पर्नेमा केही नेताको मनपरी चलेको आरोप उहाँको छ । उहाँले भन्नुभयो, ‘जनता समाजवादी पार्टी प्रचण्डको लाइनमा चलिरहेको छ भने लोसपा केपी शर्मा ओलीको लाइनमा चलिरहेको छ । मधेसमा वामपन्थी शक्ति निर्माणमा ती दलका नेताहरू लाग्नु भएको छ ।’ मधेसमा एउटा लोकतान्त्रिक शक्तिको आवश्यकता रहेको र त्यसका लागि आफूलगायत नेताहरूले गृहकार्य गरिरहेको उहाँले बताउनुभयो ।

क्षेत्रीय पार्टी मजबुत नभएसम्म संघीयता मजबुत नहुने बताउँदै उनले मधेसमा रहेका दलहरू शीर्ष नेताहरूको शक्तिको स्रोत केन्द्र मात्र बन्दै गइरहेको उहाँको ठम्याई छ । ‘पार्टी संस्थागत हुन सकेको छैन । त्यहाँ सुप्रिमोहरु तानाशाही भएको कारण अर्को विकल्पमा जान लागेका हौँ,’ उहाँले भन्नुभयो । नयाँ पार्टी कहिले घोषणा हुन्छ रु भन्ने जिज्ञासामा उहाँले चाँडै नै घोषणा प्रतिक्रिया दिनुभयो।

तर लोसपाका कार्यकारिणी सदस्य एवम् मधेस प्रदेशका लोसपा अध्यक्ष जितेन्द्र सोनलले भने लोसपामा कुनै विवाद नरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘बहुदलीय व्यवस्थामा पार्टीको गठन, विभाजन, एकीकरण, पार्टी प्रवेश, पार्टी परित्याग, पार्टी मजबुत हुने, कमजोर हुने आदि विषय निरन्तर चलिरहन्छ यो सामान्य कुरा हो ।’

लोसपा नेपाल मधेस प्रदेश, सम्पूर्ण तराई–मधेस लगायत मुलुककै पहिचान एवम् लोकतान्त्रिक धारको मूल राजनीति दल निर्माणको अभियानमा लागेको बताउँदै उनले केही दिनदेखि सञ्चार माध्यममा आइरहेको पार्टी विभाजनको कुरामा कुनै सत्यता नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘लोसपा फुट्ने जस्ता कुरा नितान्त निराधार हुन् ।’ लोसपालाई थप ऊर्जा दिन मधेस प्रदेश लगायत विभिन्न जिल्ला तथा स्थानीय स्तरमा अन्य पार्टीका नेता कार्यकर्ता, प्रभावशाली नेतृत्व एवं व्यक्तित्वहरू आफूहरूको पार्टीमा प्रवेश गर्ने तयारी भइरहेको बताउँदै उहाँले उपयुक्त समयमा ती व्यक्तिहरूलाई पार्टीमा स्वागत गरिने दाबी गर्नुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार