काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीका कारण गठबन्धन नटुट्ने बताउनुभएको छ । ११औँ विश्व रेडियो दिवसका अवसरमा सामुदायिक रेडियो प्रसारक संघ (अकारोब)लगायत प्रसारण संस्थाले आइतबार आयोजना गरेको अन्तरक्रियामा उहाँले सो स्पष्ट पार्नुभएको हो ।
‘गठबन्धन परिस्थिति विशेष उद्देश्यसाथ निर्माण भएको हो । कुनै पनि समस्याको छलफल गरेर समाधान गरिने छ,’उहाँले भन्नुभयो,’त्यसैले गठबन्धन टुट्दैन ।’ सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री कार्कीले यो विशुद्ध आर्थिक परियोजना भएकाले यसमार्फत् मुलुकको आर्थिक विकास हुने र परियोजना स्वीकार्न नसके जलस्रोतको धनी हुँदा पनि नेपाल अन्धकारमा रहनुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले थप्नुभयो,’यो परियोजना बन्द कोठाबाट आएको होइन । डा.बाबुराम भट्टराई सरकारको पालादेखि यस परियोजनामा सक्रिय योगदान रहँदै आएको छ । एमसीसीबारे संसद्मा छलफल गरेर निष्कर्षमा पुग्नुपर्छ ।’ उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, सुशासन, मानवअधिकार, विधिको शासन र सामाजिक रुपान्तरणका लागि रेडियोको योगदान रहेको चर्चा गर्दै स्थानीय एफएम रेडियोले निर्वाह गर्दै आएको भूमिकालाई उच्च प्रशंसा गर्नुपर्ने बताउनुभयो ।
मन्त्री कार्कीले गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय प्रशारण नियमावली (११औँ संशोधन) स्वीकृत गरेको जानकारी दिँदै नियमावली संशोधन भएकाले अब लामो समयदेखि थन्किएको इजाजत, नवीकरण, रोयल्टीलगायत प्रक्रिया सहज हुने बताउनुभयो ।nagarikkhabar