सिइओ क्लब ग्लोबल र कतार एयरवेजबीच व्यावसायिक सम्झौता

काठमाडौँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यावसायिक सम्बन्ध स्थापित गराउँदै आएको सिइओ क्लब ग्लोबल र विश्वका १४० भन्दाबढी गन्तव्यस्थलमा उडान भर्दै आएको कतार एयरवेजबीच व्यावसायिक सम्झौता भएको छ ।

सिइओ क्लब अफ ग्लोबलले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा नेपालको व्यावसायिक क्षेत्रको विकास र विस्तारका लागि कतार एयरवेजसँग व्यावसायिक सम्झौता गरिएको हो ।

सम्झौतापत्रका सिइओ क्लब ग्लोबल नेपाल शाखाका अध्यक्ष शम्भु पोखरेल र कतार एयरवेज नेपालका सेल्स म्यानेजर सरिक बोगटीले हस्ताक्षर गर्नुभयो । दुई संस्थाबीच सम्झौता भएसँगै अब सिइओ क्लबका सदस्यले कतार एयरवेजको जहाजमार्फत विदेश जाँदाआउँदा हवाई टिकटमा १० प्रतिशत सहुलियत पाउने भएका छन् ।

अमेरिकाको न्युयोर्क सहरमा मुख्य कार्यालय रहेको सिइओ क्लब ग्लोबलले हालसम्म १०० भन्दाबढी देशमा आफ्नो शाखा विस्तार गरिसकेको नेपाल शाखाका अध्यक्ष पोखरेलले बताउनुभयो । निजी क्षेत्रका नेतृत्वदायी व्यक्ति तथा संस्था, कूटनीतिक नियोगका प्रमुख, सरकारी क्षेत्रका उच्च ओहोदाका व्यक्ति सदस्य रहने उक्त क्लबमा हाल विश्वभर १० हजारभन्दा बढी सदस्य रहेका छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार