
काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसद्बाट अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने विषयमा आफ्नो पार्टी अडिग रहेको बताउनुभएको छ ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तक विमोचन समारोहमा बोल्दै उहाँले एमसीसीबारे कम्युनिस्ट दलहरुले बोली फेरेको भन्दै कांग्रेसले आफ्नो बोली नफेर्ने बताउनुभयो । एमसीसी पास गर्ने वर्षौँअघिको निर्णयमा कांग्रेस अडिग रहेको उहाँको भनाइ थियो ।
‘एमसीसीबारे कसले के बोल्यो, त्यसमा हाम्रो ध्यान छैन । कांग्रेस आफ्नो दायित्वबाट च्युत हुन मिल्दैन, हुँदैन । कांग्रेसले क्षणिक लाभका लागि बोली फेर्न जान्दैन,’ उहाँले भन्नुभयो । यसक्रममा उहाँले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति व्यङ्ग्य पनि गर्नुभएको छ ।
‘हामी बालुवाटारमा हुँदा एउटा बोली, अनि बालकोट र खुमलटार पुगेपछि अर्को बोली बोल्दैनौँ, बोल्न जान्दैनौँ,’ उहाँले भन्नुभयो । यस्तै, उहाँले कांग्रेस प्रतिपक्षमा हुँदा एउटा र सरकारमा हुँदा अर्को कुरा गर्ने पार्टी नभएको बताउनुभयो ।‘कांग्रेस एमसीसी पास गर्ने कुरामा अडिग छ,’ उहाँले भन्नुभयो,‘सत्तामा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को कुरा गर्दैन ।’ nagarikkhabar