शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच ५१ बुँदे प्रतिवेदन कार्यान्वयन गर्ने सहमति

काठमाडौँ । शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलको संयोजकत्वमा गठित कार्यदलले पेस गरेको प्रतिवेदन कार्यान्वयनमा लैजाने सहमति भएको छ ।

सोमबार मन्त्रालय र महासंघबीच ५१ बुँदे प्रतिवेदन कार्यान्वयन गर्ने सहमति भएको हो । विभिन्न समयमा मन्त्रालय र महासंघबीच भएका सहमति तथा समझदारी र महासंघले २०७८ वैशाख २० गते बुझाएको ३४ बुँदे मागका सम्बन्धनमा अध्ययन गर्न २०७८ कातिक २८ गते पौडेलको संयोजकत्वमा कार्यदल गठन भएको थियो ।

सो कार्यदलले मागको विषय, वर्तमान अवस्था र गर्नुपर्ने कामहरुको कार्यसूचीसहित ५१ बुँदे प्रतिवेदन तयार पारेर मन्त्रालयमा पेस गरेको थियो । सहमतिपछि शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रलाई सुधार्ने सबैको साझा संकल्प रहेको बताउनुभयो । उहाँले राजनीतिका कारण अब शिक्षा नविग्रने स्पष्ट पार्नुभयो । उहाँले प्रतिवेदनलाई कानुनसम्मत ढंगले लागु गर्ने कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाउनुभयो ।

त्यस्तै, महासंघका अध्यक्ष कमलादेवी तुलाधरले प्रतिवेदन कार्यान्वयनलाई सरकारले समयमा नै कार्यान्वयन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रतिवेदन कार्यान्वयन भएपछि मात्रै शिक्षक र कर्मचारीले राहत महसुस गर्ने धारणा राख्नुभयो । सहमतिपत्रमा मन्त्रालयका तर्फबाट शिक्षामन्त्री देवेन्द्र पौडेल, सचिव यादवप्रसाद कोइराला र सहसचिव दीपक शर्माले हस्ताक्षर गरेका छन् भने महासंघका तर्फबाट अध्यक्ष कमलादेवी तुलाधर, सहअध्यक्ष पूर्णप्रसाद दवाडी, उपाध्यक्ष टीकादेवी राई र उपाध्यक्ष तिलक कुँवरको हस्ताक्षर गर्नुभएको छ । nagarikkhabarबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार