
परासी । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सुस्ताबासीलाई प्रक्रिया पुर्याएर नागरिकता र जग्गाधनी प्रमाणपत्र वितरण गरिने बताउनुभएको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५ स्थित सुस्तामा सडक सञ्जालको उद्घाटन कार्यक्रममा उनले नेपाली भूमि संरक्षणमा सुस्ताबासीको योगदान अमूल्य रहेकाले यहाँका नागरिकलाई नागरिकता र जग्गाधनी प्रमाणपत्रबाट वञ्चित नगरिने बताउनुभयो ।
भारतले पटक–पटक अतिक्रमण गर्दै आएको नारायणी पारि सुस्ताका अधिकांश नागरिक नागरिकता र जग्गाधनी प्रमाणपत्रबाट वञ्चित छन् । सुस्ताको विकासमा सरकारको ध्यान पुगेको छ भन्दै मन्त्री झाँक्रीले ऐतिहासिक भूमि सूस्तामा विकासका पूर्वाधार बढाउँदै लगिने बताउनुभयो ।
सहरी विकास तथा निर्माण विभागको नमुना एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत सुस्तामा निर्माण गरिएको पक्की सडक सञ्जालको उद्घाटन गरिएको विभागका महानिर्देशक पदमकुमार मैनालीले जानकारी दिनुभयो । सुस्तामा मन्त्रालयबाट ३५१ वटा सुरक्षित नागरिक आवास निर्माण गर्ने लक्ष्य रहेको पनि उहाँले बताउनुभयो । नागरिक खबरबाट